अक्सिजन सिलिण्डर बोक्ने मजदुर भन्छन् : मृत्युको खबर सुन्न नपरोस्

स्थायी रोजगारी छैन । मजदुरी नै उनको मूल पेशा हो । दैनिक मजदुरी नगरी परिवार पाल्न सकिदैन । तर कोरोना महामारीले त्यही मजदुरी पेसा पनि संकटमा पारिदियो । हुनेखानेहरू नै आपत्मा परेको बेला प्रेम विकजस्ता दैनिक श्रम गरेर साझबिहानको छाक टार्नेहरूलाई संकट नपर्ने कुरै भएन । चिन्ताले सताइरहन्थ्यो । अब के गर्ने ?

गाउँमा रोजगारीको कुनै अवसर नपाएपछि उनी दैलेखबाट परिवारसहित सुर्खेत झरेका थिए । सुर्खेत ओर्लंदा मनमा एउटै आशा थियो, केही न केही मजदुरी गरेर पेट पाल्न सकिहालिएला ।

दुई छोराछोरी र श्रीमतीसँग वीरेन्द्रनगरमा बसेर उनले दैनिक मजदुरी गरे । मजदुरी गरेर हुने आम्दानीले खर्चपर्च टार्थे, परिवार पाल्थे । मजदुर गर्न पनि सजिलो थिएन । गाडीमा सामान लोड–अनलोड गर्नुपथ्यो । यद्यपि यही काम गरेर भएपनि गर्जो टरेको थियो । आम्दानीको बाटो बसेको थियो ।

एकाएक कोरोनाको महामारी फैलियो । संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी ग¥यो । सबै बन्द । बन्दमा काम पाउन मुस्किल । काम नभए पनि सहरमा बसेर खानलाउनै समस्या । सबै परिवार गाउँ गएर पनि सम्भव थिएन । के गर्ने कसो गर्ने भइरहेकाबेला उनले रामु खड्कामार्फत अक्सिजन सिलिण्डर बोक्ने काम पाए । ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो ।

काम त मिल्यो तर सजिलो थिएन । जोखिमयुक्त थियो । कोरोनाले सबै जोखिममा भएका बेला झन संक्रमितको उपचार गर्नुपर्ने अक्सिजन बोक्नुपर्ने । अस्पताल धाइरहनुपर्ने । आफैलाई कोरोना लागे के गर्ने ? प्रेमको मनमा डरले बास गरिरहेकै थियो । तर काम नगरी पनि पुग्दैनथ्यो । उनी अक्सिजन सिलिण्डर बोक्ने कामका लागि तयार भए ।

आफूलाई मात्रै होइन आफूसँगै परिवारलाई पनि कोरोना संक्रमणको डर थियो । आफू त जसोतसो जोगिउँला परिवारलाई जोगाउनुप¥यो सोचेर उनले परिवारलाई दैलेख पठाए र आफूले अस्पतालमा गएर अक्सिजन सिलिण्डर लोड–अनलोड गर्न थाले । उनी भन्छन्, ‘एकातिर काम नपाएर परिवार कसरी पाल्ने भन्ने चिन्ता छँदैथियो । झन यस्तो बेलामा मान्छे बचाउनका लागि गरिने काम ठिकै लागेर जोखिम भए पनि गर्न थालेँ ।’

कोरोना महामारीका कारण अहिले धेरैजसो घरमा बसेका छन् । सबैतिर त्रास छ । अस्पतालमा काम गर्दै गर्दा कतिको मृत्यु भएको खबर सुन्छन् । बिरामी छट्पटिएको देख्छन् । आफ्नै आँखा अगाडिबाट शव व्यवस्थापनका लागि लगेको देख्छन् । आफन्तको चिच्चावट पनि उनले नजिकबाट नियालेका हुन्छन् । ‘दिनदिनै मान्छे मरेको अनि छटपटी देख्दा काम गर्न मन लाग्दैन्, खाना खान मन लाग्दैन । तर रोगले मर्ने डर र जोखिममै रहेर काम गर्नुपर्छ’ उनले भने, ‘अक्सिजनको गाडी आउन बित्तिकै बिरामीका आफन्तहरू आएर आफै गाडीबाट लिन खोज्नुहुन्छ । छिटो झारिदेउ भन्नुहुन्छ । समयमै झारिदिए पछि हामीलाई राहत हुन्छ अक्सिजन नपाएर छटपटाएका छन् भन्ने सुन्दा आफ्नो जोखिमको ख्याल हुँदैन । छिटो गरिदिन पाए कसैको ज्यान जोगिन्छ भन्ने लाग्छ । कसैको मृत्युको खबर सुन्न नपरे हुन्थो ।’

काम सजिलो भने छैन । अक्सिजनको गाडी कहिले राति आइपुग्छ । निदाइरहेको बेला फोन आउँछ । ब्युँझिएर जानुपर्छ । कहिलेकाँही खाना खाँदैखाँदै फोन आउँछ । ‘मैले एकछिन ढिला गर्दा बिरामीले अक्सिजन नपाएर ज्यान जान सक्छ भनेर खाना छोडेर जान्छु ।’ भलै अक्सिजन बोक्ने काम होस् तर उनको काम अस्पतालको बेडमा छटपटाइरहेका बिरामीको ज्यानसँग जोडिएको छ । तिनै बिरामीको श्वास बोक्ने काम त गर्छन् प्रेम । जो आफ्नो ज्यानको जोखिमभन्दा बिरामीको ज्यान जोगाउन दिनरात खटिएका छन्, भोक–प्यास नभनी । तर अक्सिजन अभाव भयो भन्दा उनलाई निकै चिन्ता लाग्छ । चाहिए जति अक्सिजन आइदिए हुन्थ्यो लाग्छ । कसैको मृत्युको खबर सुन्न नपरे हुन्थ्यो लाग्छ । तर यो उनको हातमा छैन । उनका हातले गाडीमा आएको अक्सिजन अस्पतालसम्म पु¥याउन मात्रै सक्छन् ।

दैलेखकै भरत विक पनि प्रेमसँगै अक्सिजनका सिलिण्डर बोक्ने काम गर्छन् । उनले पनि परिवारसहित वीरेन्द्रनगरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । एक छोरी र श्रीमतीसहित डेरा गरेर बस्थे । कोरोना महामारीले उनको नियमित रोजगारी खोसियो । तर संकटको बेला अक्सिजन बोक्ने काम पाए । त्यो पनि बिरामीको ज्यान जोगाउन प्राणवायु ।

नेपालगञ्जबाट अक्सिजन लिएर गाडी कहिले बिहान आइपुग्छ, कहिले दिउँसो त कहिले राति आउँछ । निश्चित हुँदैन । गाडी अस्पताल पुग्ने बित्तिकै उनी पनि अस्पताल पुग्नुपर्छ । ‘यस्तो महामारीको समयमा घरमै सुरक्षित भएर बस्न त मन लाग्छ तर घरमा बस्न पनि गाह्रो छ । खान पुग्दैन । काम नगरी त सुख नै छैन ।’ उनले सबैतिर बन्द भएको बेलामा जोखिमको भए पनि काम पाउनु नै आफ्ना लागि खुसीको कुरा भएको सुनाए ।

प्रेम र भरतले गाडीबाट एउटा सिलिण्डर झारेको दश रूपैयाँ पाउँछन् । एक पटकमा ६० वटासम्म सिलिण्डर आउँछन् । उनीहरूको कमाई त्यही हो । तर यही पनि पाइएको छ भनेर उनीहरू मेहनत गरिरहेका छन् ।

जोखिमयुक्त भए पनि काम गरेर आउँदा आफूलाई खर्च जोहो भइहाल्छ । बिरामीले पनि अक्सिजन पाए भन्ने लाग्छ । कसैको ज्यान जोगाउन सकियो जस्तो लाग्छ । भरतले भने, ‘रोग लागे पनि लागोस्, भोकै बस्न सकिदैन् काम गर्नु नै पर्छ । यस्तो महामारीमा काम नगरी हामी गरिबलाई कसले हेर्छ र ? महिना पुुग्न बित्तिकै तलब आउने जागिर छैन ।’

काम गर्छन् । सोही अनुसार ज्याला पनि पाउँछन् । तर डरले भने मनमा बास गरिरहेको हुन्छ । त्यसमाथि डेरा गरीबस्ने भएकाले सजिलो छैन । छरछिमेक समेत डराउँछन् । ‘अस्पतालमा काम गरेर आएका हुन् । यिनीहरूले रोग सार्छन्’ जस्ता कुराहरू सुन्नुपर्दा निकै पीडा हुने गरेको भरत बताउँछन् । बाटोमा हिँड्दा समेत गाह्रो हुने उनले बताए ।

त्यसो त उनीहरू आफै पनि सचेत छन् । आफूलाई मात्रै होइन आफूलाई संक्रमण भइहालेमा अरुलाई नसरोस् भनेर कोठामा पुग्ने बित्तिकै ढोका थुनर बस्छन् । ‘हामीले सावधानी अपनाएर काम गरेकै हुन्छौँ । कोठामा आएर पनि यताउता कतै नगइ बस्छौँ’ उनले भने, ‘तर हामीलाई अस्पतालमा गएर काम गरेकै भरमा यति नराम्रो नसोचिदिए हुन्थ्यो जस्तो लाग्छ ।’

प्रकाशित मितिः   ८ जेष्ठ २०७८, शनिबार ०५:०२