मेरो पनि हत्या गरियोस्
कविता

पृथ्वीले आफ्नो गर्भमा तान्दै गर्दा
सिङ्गो आकाशले भविष्यका सुनौला सपनाहरू कुल्चिदै गर्दा
हरेक लातको प्रहारमा उसले आफ्नो
आमाको अनुहार याद गर्यो होला
डुब्दै गरेको पानी
बाबाको आँखाबाट तप्प झरेको समुन्द्रजस्तै लाग्यो होला
नुनिलो आँसुको समुन्द्रमा
डुब्दाडुब्दै थामिदै गरेको धड्कनलाई सुमसुम्याउँदै
उसले जीवनको अन्तिम स्वासमा सोच्दै थियो होला
आखिर मेरो हत्या किन गरिएछ ?
जीवनको अन्तिम चेतमा आफ्नो हत्याको कारण खोज्दै जाँदा
उसले याद ग¥यो होला दुई जातको प्रेम
जातभन्दा पनि दुई औकातबीचको प्रेम
मान्छे र अमान्छेबीचको प्रेम
अर्थात एक दलित अनि अर्को गैरदलितबीचको प्रेम
के प्रेम गर्नु पाप थियो र ?
के प्रेम गर्नु पाप थियो र ?
यदि प्रेम गर्नु पाप थिएन भने
नवराज विक हुनु अपराध थियो र ?
अत्याचारमा तिमीले त्याग्दै गरेको देह
धिमा गति लिएको तिम्रो प्राण
मेटिदै गरेको अस्तित्व अनि माटो बन्दै गरेको तिम्रो शरीरलाई
हेरिरहन बाहेक मैले केही गर्न सकिनँ
म आफै पनि बन्द पिँजडाको मैनाजस्तै
छटपटाइरहेको छु प्रश्रव बेदनामा
खुला आकाश छ हेर्नलाई मात्र
धरती छ तर इच्छाएको ठाउँमा म जान सक्दिनँ
पखेटा फिजाई उड्न सक्दिनँ
समाजले मलाई एक्लो बनाएको छ
अनि संस्कारले मलाई कैदी बनाएको छ ।
मलाई भेद्भाव मञ्जुर छैन
पलपलको हत्याभन्दा एकैपलको मृत्यु दिइयोस्
जातकै आधारमा मैले कहिलेसम्म
मृत्यु कुरुँ
मलाई मुक्ति दिइयोस् छुवाछुतबाट
तिम्रो इशारामा म कहिलेसम्म स्वास फेरुँ
बन्दी बनाई मेरा सपना निमोठ्नुभन्दा
मेरो प्राण खोसियोस्
श्रदाले झुक्न नमिल्ने अनि तिम्रोसामु उठाउन नमिल्ने
मेरो शिर काटियोस्
अनि मेरो पनि विभत्स हत्या गरियोस् ।
(रुकुम हत्याकाण्डको प्रतिरोधमा लेखिएको कविता । यसलाई हामीले बृहत नागरिक आन्दोलनको फेसबुक पेजबाट साभार गरेका हौँ ।)
प्रकाशित मितिः ८ जेष्ठ २०७८, शनिबार ०५:००
साझा बिसौनी ।