अब त गम्भीर बन
कर्णाली प्रदेशमा पछिल्लो एक महिनामा कोरोना संक्रमणदर उच्च छ । लक्षणसहितका कोभिड संक्रमितको चाप बढेपछि अस्पतालहरूलाई उपचारमा कठिनाइ भएको छ । प्रदेशमा अहिले पाँच हजार बढी कोरोनाका सक्रिय संक्रमित छन् । संक्रमित बढेसँगै स्वास्थ्य पूर्वाधार र जनशक्तिको झनै अभाव देखिएको हो । कोरोना प्रतिकार्यका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्तिको अभाव कायमै छ । न पहिले नै आवश्यक तयारी गरियो न त अहिले तीव्र गतिमा व्यवस्थापन भएको छ । त्यसो त कर्णाली प्रदेश सरकारले संक्रमण नियन्त्रण र उपचार व्यवस्थापनका लागि वैशाख लागेयता मात्र दर्जनौं निर्णय गरेको छ । एक पछि अर्को धमाधम निर्णय गरेपनि त्यसको कार्यान्वयन भने निकै सुस्त छ । जसले गर्दा निर्णय कागजमा सीमित छन्, अस्पतालहरूमा समस्या जस्ताको त्यस्तै छन् ।
वैशाख १९ गते बसेको प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेश अस्पतालमा कोरोना संक्रमितको उपचारका गर्न तत्काल अक्सिजनसहितका एक सय बेड बनाउने निर्णय ग¥यो । पाँच वटा जिल्ला अस्पतालमा एक सय बेड र बाँकी अन्य अस्पतालमा ५० बेड तयार गर्ने निर्णय गरिएको थियो । तर, प्रदेश अस्पतालले ८०/९० जना बिरामी भर्ना नहुँदै अक्सिजन अभाव देखाएर थप बिरामी लिन नसकिने सूचना जारी ग¥यो । प्रदेश सरकार र अस्पताल प्रशासनको सर्वत्र आलोचना भएपछि अहिले जटिल अवस्था आए मात्रै प्रदेश अस्पतालमा उपचारका लागि आउन भनिएको छ । जिल्ला अस्पतालहरूले पनि थप बिरामी भर्ना लिन समस्या भएकाले जटिल अवस्था भए मात्रै खबर गरेर अस्पताल आउन भनिरहेका छन् । प्रदेश सरकारले बजेट र योजनासहित जिल्ला अस्पतालहरूलाई उपचार व्यवस्थापन मिलाउन भने पनि त्यसको कार्यान्वयन भएको छैन । बिरामीहरू उपचारबाट वञ्चित हुँदै आएका छन् । यस्तै दैलेख, जाजरकोट, रूकुम–पश्चिम, सल्यान र कालीकोटमा अक्सिजनसहितको एक सय बेड तयार गर्ने भनेको थियो । अहिले यी जिल्लाहरूले ५० जना संक्रमितको पनि उपचार गरिरहेका छैनन् । अक्सिजनसहितका बेडको क्षमता ५० भन्दा बढी बनाइएको छैन । संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि बेड अभाव हुन थालेको छ । जोखिम किन पनि बढी छ भने पछिल्लो समय गम्भीर प्रकृतिका बिरामी बढेका छन् । अक्सिजनसहित उपचार गर्नुपर्नेको संख्या थपिएको छ ।
कतिपय जिल्लामा स्वास्थ्य पूर्वाधार थप्ने भन्दा पनि भएकै उपकरण प्रयोगविहीन छन् । जनशक्ति अभावमा स्वास्थ्य उपकरण सञ्चालन गर्न नसकिएको अस्पतालहरूले जनाएका छन् । कतै पूर्वाधारको अभाव छ भने कतै आवश्यक जनशक्तिको अभाव छ । पर्याप्त मात्रामा स्वास्थ्यकर्मी नहुँदा पनि समस्या भएको छ । यो पूर्वतयारी नहुनुको परिणाम हो । विज्ञहरूले कोरोना जोखिम झन बढ्नसक्ने र आवश्यक तयारी थाल्नुपर्ने सुझाव दिइरहँदा पनि राज्यले बेवास्ता गरिरह्यो । बरु सत्तास्वार्थको खेलमा तल्लिन हुनपुग्यो । अहिले अवस्था जटिल भइसकेको छ । यद्यपि जतिसक्दो छिटो आवश्यक स्वास्थ्य संरचना, पूर्वाधार र जनशक्तिको व्यवस्थापन अपरिहार्य छ ।
प्रकाशित मितिः ४ जेष्ठ २०७८, मंगलवार ०५:००
साझा बिसौनी ।