संक्रमित १३ जनाको मृत्यु

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) बाट संक्रमितको मृत्युदर बढेको छ । वैशाख महिनायता दैनिक ठूलो संख्यामा संक्रमितको ज्यान जाने गरेको हो । सोमवार थप १३ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ६२ पुगेको छ ।

यस्तै, प्रदेशमा संक्रमण दर पनि उच्च छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सोमवार एक हजार चार सय १५ जनाको परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जाजरकोटमा एक सय ४२, दैलेखमा ७८, रूकुम–पश्चिममा ६४, सल्यानमा ५७, कालीकोटमा २७, जुम्लामा २१, मुगुमा ११, डोल्पामा ६ र कर्णालीमै रहेका अन्य प्रदेशका १३ जनामा संक्रमण देखिएको हो । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या पाँच हजार चार सय ४९ रहेको छ । तीमध्ये ८२ जना आईसीयूमा र सात जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, सोमवार दुई सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, सोमवार देशभर नौ हजार दुई सय ४७ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन कोरोना संक्रमित दुई सय १४ जनाको मृत्यु भएको छ । पछिल्लो तीन दिन लगातार मृतकको संख्या घटे पनि सोमवार पुनः बढेको हो । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार दुई सय १५ पुगेको छ । सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार चार सय ८० छ । सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार पाँच सय १० जना होम आइसोलेसनमा छन् भने ६ हजार नौ सय ७० जना विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् । आईसीयूमा एक हजार दुई सय ५९ जना र भेन्टिलेटरमा चार सय जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७८, मंगलवार ०५:००