कर्णाली सरकार र प्रदेश अस्पतालविरूद्ध उच्च अदालतमा रिट

कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण तथा उपचार व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै कर्णाली सरकारविरूद्ध उच्च अदालत सुर्खेतमा रिट परेको छ । अधिवक्ता गणेश वलीले आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा र प्रदेश अस्पताललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

यस्तै, अधिवक्ता शेरबहादुर खत्री र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकमा कार्यरत टीका विष्टले पनि उच्च अदालतमा अन्तरिम आदेशसहितको परमादेश जारी गरी पाउँ भन्दै रिट दायर गरेका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई अधिवक्ता खत्री र विष्टले संयुक्त रूपमा रिट दायर गरेका हुन् । नागरिकको उपचारमा सरकार असंवेदनशील बनेको उनीहरूद्वारा दायर रिटमा उल्लेख छ ।

प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापरवाही गरेकाले रिट दर्ता गराएको अधिवक्ता वलीले बताए । ‘कोभिड संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएसँगै कर्णालीमा संक्रमण र मृत्युदर उच्च देखिएको छ,’ उनले भने, यस्तो अवस्थामा पनि सरकारका निकाय गम्भीर बनेका छैनन् । नागरिकको उपचारमा लापरवाही छ ।’ कर्णाली प्रदेश अस्पतालले कोरोना संक्रमित सिकिस्त अवस्थाका बाहेक अरुलाई अस्पतालमा भर्ना लिन सम्भव नभएको बताउँदै आएको छ । सरकारी अस्पतालमै बिरामीलाई निषेध गरिएपछि आफूले त्यसविरूद्ध रिट दायर गरेको वली बताउँछन् ।

दायर रिटमा संविधानविपरीत नागरिकको स्वास्थ्यमा खेलवाड गरिएको उल्लेख छ । स्वास्थ्य सम्बन्धी हक नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३५ मा उल्लेख गरिएको छ । जसमा उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । उपधारा (२) मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ भनि उल्लेख छ ।

त्यसैगरी, जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ मा पनि संक्रामक रोगहरूको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ । यस्ता संक्रामक रोगहरूको सरकारले निःशुल्क उपचार गर्ने दायित्व भएता पनि कर्णाली सरकार पन्छिन खोजेको अधिवक्ता वलीको भनाइ छ । ‘यो प्रदेश सरकार र प्रदेश अस्पतालको लाचारीपन र गैरजिम्मेवारीपूर्ण कार्य हो,’ वलीले भने ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७८, सोमबार ०५:०१