सुर्खेतका सात जना उसु खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट

आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौं राष्टिय खेलकुद प्रतियोगिताका लागि सुर्खेतबाट सात जना उसु खेलाडी छनौट भएका छन् । वीरेन्द्रनगरमा भएको मध्यपश्चिमाञ्चल स्तरीय क्षेत्रीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुर्खेतका सात खेलाडी राष्टिय प्रतियोगिताका लागि छनौट भएको सुर्खेतका उसु सहायक प्रशिक्षक रमेशकुमार तुलाधरले जानकारी दिए ।

उसुको क्षेत्रीय छनौट प्रतियोगितामा पुरुष सान्सौंतर्फ ६० केजी तौल समूहमा प्रथम हुँदै सुर्खेतका राजेन्द्र शाही राष्टिय प्रतियोगिताका लागि छनौट भए । त्यसैगरी ७० केजी तौल समूहमा कर्णबहादुर चौधरी, ७५ केजी तौल समूहमा रामबहादुर शाही, सान्तौतर्फकै महिला ४८ केजी तौल समूहमा माया चलाउने, ६० केजी तौल समूहमा गोमा आफ्रे छनौट भएका छन् । यस्तै पुरुष नान छ्वान अलराउण्डमा दिपक हमाल र पुरुष ताव सु कुन्सुमा दिनेश बस्नेतले राष्टिय प्रतियोगितामा स्थान सुरक्षित गरेका छन् । उनीहरु सबै सुर्खेतका खेलाडी हुन् ।

       प्रतियोगितामा पुरुष सान्सौतर्फ ४८ केजीमा बाँकेका टिकाराज रोकाया, ५३ केजीमा बर्दियाका अरुण बस्नेत, ५६ केजीमा डोल्पाका बसन्त शाही, ६५ केजीमा बर्दियाका रुपेश थपलिया र ८० केजीमा दैलेखका दिपेन्द्र श्रेष्ठले प्रथम हुँदै राष्टिय प्रतियोगिताका लागि छनौट हुन सफल भए ।

महिला सान्सौतर्फ ५२ केजीमा बर्दियाकी चाँदकुमारी चौधरी, ५६ केजीमा डोल्पाकी कमला बोहोरा र ६५ केजीमा डोल्पाकी तारा शाही छनौट भए । त्यसैगरी थावलुको पुरुष छाङ छ्वानमा बर्दियाका रोहित नेपाली, महिला छाङ छ्वानमा दैलेखकी अनिषा बुढा क्षेत्री, महिला नान छ्वान अलराउण्डमा दैलेखका जानकी शाही, पुरुष थायची ट्वान अलराउण्डमा दैलेखका सुजन रावत र महिला चियन सु अलराउण्डमा बर्दियाकी प्रशंसा पाण्डे प्रथम भए । उनीहरु पनि पूर्वाञ्चलमा हुने सातौं राष्टिय खेलकुद प्रतियोगितामा छनौट हुन सफल भए ।

प्रकाशित मितिः   १६ मंसिर २०७३, बिहीबार १८:४७