रोजगारीका लागि विदेश जाने महिला बढे

देशमा आम्दानीको अवसर र उपयुक्त विकल्प नहुँदा रोजगारीका लागि विदेशीनुपर्ने बाध्यता नै बनेको छ । घरखर्चको जोहो गर्नकै लागि विदेश जानेहरूको संख्या बढ्दै गएको हो । पछिल्लो समयमा आएर सुर्खेतबाट महिलाहरू पनि वैदेशिक रोजगारका लागि जान थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि यसलाई पुष्टी गर्दछ । वैदेशिक रोजगारीमा जानका लागि प्रशासनमा राहदानी बनाउनेहरूको संख्या बढ्दै गएको छ । कार्यालयका अनुसार युवायुवतीहरू बढी विदेश गएका छन् । यस्तै महिलाहरू पनि रोजगारीका लागि विदेश गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजनीतिक अस्थिरता, उत्पादनमा कमी र आम्दानीको विकल्प नहुँदा रोजगारीकै लागि विदेश जानेहरूको संख्या बढेको प्रशासनको भनाइ छ ।

युवाहरूको वैदेशिक रोजगारप्रति मोह भए पनि महिलाहरू भने बाध्यताका कारण रोजागारीमा विदेश जाने गरेका छन् । आर्थिक अभावकै कारण विदेश जाने र त्यसका लागि प्रशासनमा राहदानी बनाउन आउनेको संख्या बढ्दो छ । प्रायः दिनहुँजसो मानिसहरू राहदानीका लागि प्रशासनमा धाउने गरेका छन् । यस्तै अधिकांश जिल्लाबासीले काठमाडौंबाट पनि राहदानी बनाउने भएकाले जिल्लाबाट विदेशीनेको संख्या उल्लेख्य रहेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार अघिल्लो वर्ष प्रशासनबाट दुई हजार चार सय ६७ जनाले राहदानी बनाएका छन् । यस्तै कार्यालयबाट सिफारिस बनाइ काठमाडौंमा राहदानी बनाउनेको संख्या तीन हजार चार सय ५७ रहेको छ । यसरी हेर्दा अघिल्लो वर्ष सुर्खेतबाट करिब ६ हजार जना रोजगारीका लागि विदेश गएका छन् । जिल्लाका लागि यो संख्या ठूलो भएको प्रशासनको भनाइ छ । यसमा महिलाहरूको संख्या पनि धेरै छ । अधिकांश महिलाहरू घरेलु कामका लागि खाडी मुलुकमा गएका छन् ।

त्यस्तै यो वर्ष पनि रोजगारीका लागि विदेश जानेक्रम रोकिएको छैन । यो वर्षको गत वैशाखदेखि यता एक हजार पाँच सय भन्दा बढी मानिस विदेश गएका छन् । विदेश जानकै लागि भन्दै सात सय ६४ जनाले प्रशासनबाट राहदानी बनाएर लगेका छन् । अर्कोतर्फ यही अवधिमा राजधानी काठमाडौंबाट जिल्लाका नौ सय ९४ जनाले राहदानी बनाएका छन् । आर्थिक अभावकै कारण दिनहँु विदेश जानेक्रम बढ्दो छ । सुरक्षित आप्रवासन सम्बन्धी सूचना तथा परामर्श केन्द्रमा सीप सिकेर मात्र विदेश जान आग्रह गर्ने गरिएको प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताए । तर कतिपय युवायुवतीहरू सीप नसिकेरै जाँदा विदेशमा दुःख पाउने गरेको उनको भनाइ छ । उनले भने, ‘राम्रो सीप नसिकेर विदेश जाँदा पुरुष भन्दा बढी महिलाहरू अलपत्र पर्छन्, उनीहरूले विभिन्न हिंसासमेत भोग्नु परेको छ ।’ सीप नसिकेर विदेश जाँदा महिलाहरू हिंसामा पर्ने गरेको र नेपाल फर्केपछि घरपरिवारबाटै अपहेलित हुनुपरेको पौडेलको भनाइ छ ।

सरकारले स्वरोजगार कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा युवाहरूले स्वदेशमै अवसर पाउन सकेका छैनन् । हातमा सीप र पौरख हुँदा पनि विदेशमा पसिना बगाउनुपर्ने बाध्यता रहेको भन्दै युवाहरूले स्वदेशमै अवसर सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् । गत वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारमा जान राहदानी लिनेको संख्या बढी हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुमान गरेको छ ।

कार्यालयका अनुसार राहदानी लिनेको संख्या दैनिक औषतमा २२ जना रहेको छ । पौडेलका अनुसार गत वर्षभन्दा यो वर्ष राहदानी बनाउनेको संख्यामा वृद्धि हुने बताए । उनका अनुसार यूरोपियन देश जाने भन्दा खाडी मुलुक जानेहरू नै धेरै राहदानी बनाउनका लागि आउने गरेका छन् । उनले भने ‘शिक्षित र अर्ध शिक्षित भन्ने हुन्छ, यहाँ शिक्षित भन्दा अर्ध शिक्षितहरू नै बढी विदेश जानको लागि राहदानी बनाउन आउने गर्छन् ।’

प्रकाशित मितिः   १७ मंसिर २०७३, शुक्रबार ००:१९