‘प्रदेश सरकारले समन्वय गर्दैन’

यस्तो महामारीका बेला प्रदेश अस्पतालले बिरामी भर्ना गर्न सकिदैन भनेर सूचना निकाल्नु गलत थियो । संक्रमितहरूलाई उपचार गर्न सकिदैन भन्नु गैरजिम्मेवारी हो । यो कुनै निजी अस्पताल होइन, सरकारी अस्पताल हो । जनताको अस्पतालमा सबैले उपचार गर्न पाउनुपर्छ । मैले के ध्यानाकर्षण गर्न चाहन्छु भने देशमा तीन वटा सरकार छन् । तीनै तहका आ–आफ्नै जिम्मेवारी छन् । प्रदेश अस्पताल कर्णाली प्रदेश सरकार मातहतमा छ । यो अस्पताल मेरो जिल्ला र अझै मेरो निर्वाचन क्षेत्रमा पर्छ । कोरोना महामारी सुरू भए पछि अस्पतालका लागि विभिन्न समयमा सरकारबाट एक अर्ब जतिको सामग्री गएको छ । हामीले आठ महिना अघि प्रदेशमा सरूवा रोग अस्पतालका लागि आठ करोड बजेट पठाएका छौं । तर, प्रदेश सरकाले अहिलेसम्म त्यसको कार्यान्वयनको सुरूवात गरेको छैन । आन्तरिक व्यवस्थापन नगर्ने अनि अरूलाई गरिदिएनन् भनेर औंला ठडाउने प्रवृत्ति राम्रो होइन ।
एक हप्ता अघि मात्र केही थान अक्सिजन सिलिण्डर, जेनेरेटर, पीपीई लगायका सामग्री गएको छ । यसबारेमा डाक्टर डम्बर खड्कालाई पनि सोध्न सक्नुहुन्छ । आज पनि मैले यहाँबाट करिब १५/१६ वटा अक्सिजन सिलिण्डर पठाएको छु । अहिले सबैतिर मेडिकल अक्सिजनको अभाव छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मेरो बलबुताले भ्याएसम्म प्रदेश अस्पताललाई सहयोग गरिरहेकै छौं । कर्णालीमा पाँच सय वटा अक्सिजन सिलिण्डर पठाउने भनेर निर्णय गराइएको छ । अबको एक साताभित्र त्यहाँ अक्सिजन पुग्नेछ ।
कर्णालीमा पाँच सय वटा अक्सिजन सिलिण्डर पठाउने भनेर निर्णय गराइएको छ । अबको एक साताभित्र त्यहाँ अक्सिजन पुग्नेछ ।
हामीले स्वास्थ्यकर्मीहरूको लागि बिमा र प्रोत्साहन भत्ताको व्यवस्थापन गरेका छौं । नागरिकको जीवन बचाउने पहिलो प्राथमिकता हो । संघीय सरकारले कार्यविधि, निर्देशिका बनाएर कुन तहको सरकारले के गर्ने भनेर भनेकै छ । प्रदेश सरकारले बजेट मात्र बाँड्ने भन्दा पनि त्यसको उचित व्यवस्थापनमा ध्यान दिनुपर्छ । म सुर्खेतकै हुँ । मेरो निर्वाचन क्षेत्र पनि त्यही हो । कर्णाली प्रदेश सरकारले अहिलेको स्वास्थ्य संकटमा पनि मसँग समन्वय गरेको छैन । बरु म आफैले चासो दिएर उहाँहरूसँग समन्वय गरिरहेको हुन्छु । मुख्यमन्त्रीसँग मेरो कुरा भएको छैन ।
अस्पतालका निर्देशकले बरु कहिलेकाहीँ सामग्री पठाइदिन भनेर कल गर्नुहुन्छ । एक–अर्को निकायबीच समन्वयको अभाव छ । मैले प्रमुख जिल्ला अधिकारी, सामाजिक विकास मन्त्रालयका सचिव र अस्पतालका निर्देशकसँग बेला–बेला सम्पर्क गरिरहेकै छु । अस्पतालले बिरामी भर्ना लिन नसक्ने अवस्था भए कम्तीमा एक पटक सर–सल्लाह गर्नुपथ्र्यो । बिरामीको उपचार व्यवस्थापनका लागि केही पहल अवश्यै हुने थियो । संघीय सरकारले पठाएको बजेट प्रदेशमा कार्यान्वयन होस् र समन्वय पनि गरून् भन्ने मेरो भनाइ हो । प्रदेश सरकार नजिकै छ । म नागरिकहरूलाई आफ्ना गुनासा भए प्रदेश सरकारसँग राख्नुस् र ती गुनासा सम्बोधन गर्न संघीय सरकार सक्दो सहयोग गर्छ भन्न चाहन्छु । यो संकटको घडीमा सबै जना सकारात्मक सोचसहित एकजुट भएर कोरोना प्रतिकार्यका लागि थप योजना बनाउँदै अघि बढौं । (कुराकानीमा आधारित)
प्रकाशित मितिः २ जेष्ठ २०७८, आईतवार ०५:००
साझा बिसौनी ।