अझै हेलचक्य्राइँ
कर्णाली प्रदेशका १० वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरिएको हो । यसको मुख्य उद्देश्य भिडभाड हुन नदिने हो । भिडमा कोरोना संक्रमणको जोखिम बढी हुन्छ । त्यसैले भौतिक दूरी कायम राख्न जरुरी हुन्छ । यसैका लागि निषेधाज्ञा गरिएको हो । अत्यावश्यक वस्तुकाबाहेक सबै बजार बन्द गरिएको छ । यातायात बन्द छन् । भिड हुने कुनै पनि कार्य गर्न पाइदैन । नियमतः हुनुपर्ने यही हो तर कर्णाली प्रदेशमा भने निषेधाज्ञाको चरम अवज्ञा भइरहेको छ । कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाको पालना भने भएको छैन । जसका कारण कोरोना संक्रमणको जोखिम पनि बढेको छ ।
सामान्य अवस्थाजस्तै मानिसहरू सवारी साधनमा यात्रा गरिरहेका छन् । कर्णाली भित्रिने र बाहिरिनेको आउजाउ निर्बाध रूपमा चलिरहेको हो । स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने भने पनि कार्यान्वयन नभएको हो । बसपार्क क्षेत्र र राजमार्गहरूमा अहिले पनि सवारी साधनको संख्या र यात्रुको चाप उस्तै छ । अलपत्र परेकालाई गन्तव्यसम्म पु¥याउने निहुँमा यातायात व्यवसायीहरूले दिनहुँजसो अन्तरजिल्ला सवारी साधन सञ्चालन गरिरहेका हुन् । यद्यपि उनीहरू यो कुरा स्वीकार्न तयार छैनन् । स्वास्थ्य सुरक्षा मापदण्डको बेवास्ता गर्दै ठूलो संख्यामा कर्णाली भित्रिने क्रम जारी छ । सवारी साधन र यात्रुहरूको भिड देख्दा कोरोना महामारी र निषेधाज्ञाको कुनै गुञ्जायस देखिँदैन । निषेधाज्ञाको यसरी अवज्ञा भइरहँदा प्रशासन कार्यालय भने मौन छ । सम्बन्धित स्थानीय प्रशासनहरू निषेधाज्ञाको पालना गराउन चुकेका छन् ।
संक्रमण दर तीव्र बनिरहेका बेला बजार क्षेत्रको लापरवाही र सीमा क्षेत्रको अव्यवस्थित आवागमन रोकिएको छैन । विना सावधानी प्रदेश भित्रिएकाहरू निस्फिक्री गाउँ पसेका छन् । संक्रमण भयावह भएका सहरहरूबाट फर्किएकाहरू असुक्षित तरिकाले गाउँ गइरहँदा पनि उनीहरूको निगरानी हुन सकेको छैन । गत वर्ष प्रदेश सरकार र स्थानीय तहहरूले यसरी भित्रिनेलाई दुई साता क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरेर मात्र गाउँ पठाउने गरेका थिए । तर, यस पटक कुनै पनि निकायले क्वारेन्टाइनमा राख्ने तथा सीमा नाकाहरूमा निगरानी गर्ने गरेका छैनन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वैशाख १४ गतेदेखि ३१ गतेसम्म सुर्खेत हुँदै कर्णालीका अन्य जिल्लामा झण्डै २० हजार मानिसहरू भित्रिएका छन् । जसमा भारतबाट मात्रै कर्णाली प्रवेश गर्नेको संख्या चार हजार ७३ जना छ । नेपालकै अन्य प्रदेश तथा जिल्लाहरूबाट १५ हजार बढीले कर्णाली प्रवेश गरेका छन् । यो प्रहरीले मुख्य सीमा नाका तथा चेकपोष्टहरूमा राखेको तथ्याङ्क मात्र हो । त्यसैले निषेधाज्ञाको घोषणाले मात्रै कोरोना नियन्त्रण हुने होइन । यसको संक्रमण रोकिने होइन । त्यसका लागि निषेधाज्ञाको प्रभावकारी पालना गर्नु र गराउनु अनिवार्य छ ।
प्रकाशित मितिः २ जेष्ठ २०७८, आईतवार ०५:००
साझा बिसौनी ।