संसदीय समितिको निर्देशन

कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले कोरोना नियन्त्रणमा गम्भीर भएर लाग्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । शनिवार बसेको समितिको बैठकले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकोले नियन्त्रण तथा संक्रमितहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन गरेको हो । समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालयलाई यसबारे लिखित निर्देशन गरेको छ ।

प्रदेश सरकार मातहतको अस्पतालले बिरामी भर्ना लिन नसक्ने सूचना जारी गरेकोमा ध्यानाकर्षण भएको भन्दै समितिका अध्यक्ष देवी ओलीले कोरोना नियन्त्रणमा गम्भीर हुन सरकारलाई निर्देशन गरिएको बताइन् । उनका अनुसार समितिले कोरोना नियन्त्रण तथा उपचारसँग सम्बन्धित अत्यावश्यकीय औषधि, मेडिकल सामग्री र अक्सिजन प्लान्टको तत्काल स्थापना गर्न निर्देशन गरेको छ । प्रदेश अस्पतालमा दैनिक एक हजार सिलिण्डर भर्न सकिने अक्सिजन प्लान्ट निर्माण गर्नुपर्ने समितिले सुझाएको छ ।

अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरूमा नियमित विद्युत आपूर्ति गर्न प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने, अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीको लागि मित्र राष्ट्र तथा अन्य मुलुकलगायत गैर–सरकारी संघ–संस्था, निजी क्षेत्रसँग समन्वय गरी अगाडि बढ्नुपर्ने लगायत सुझाव समितिले दिएको छ । समितिले कोरोना संक्रमित बिरामी र आफन्तहरूमा अत्यधिक डर, त्रासको वातावरण भइ मानसिक समस्यासमेत देखिन थालेकोले यसलाई न्यूनीकरण गर्न मनोविमर्श सेवा तत्काल सुरुवात गर्न पनि सरकारलाई निर्देशन गरेको छ । यस्तै, सामाजिक विकास समितिले प्रदेशभित्रका अस्पतालहरूमा अनुगमनको कार्यलाई तीव्रता दिने निर्णय गरेको छ । अत्यावश्यकीय औषधि र मेडिकल सामग्री व्यवस्थापनमा सघाउ पु¥याउन अपिल गर्ने समेत निर्णय भएको अध्यक्ष ओलीले जानकारी दिइन् ।

प्रकाशित मितिः   २ जेष्ठ २०७८, आईतवार ०५:०१