कोभिड महामारी र हाम्रो दायित्व

नरबहादुर सलामी

कोभिड–१९ महामारीको पहिलो लहरले विश्वलाई आक्रान्त पारेको वर्षदिन नपुग्दै दोस्रो लहर सुरु हुँदा फेरि पनि विश्व समुदाय संकटमा परेको छ । विश्वमा हालसम्म करिब ३३ लाख व्यक्तिले कोभिडका कारण ज्यान गुमाइसकेका छन् । नेपालमा ज्यान गुमाउनेको संख्या चार हजार हाराहारीमा छ भने हाम्रो कर्णाली प्रदेशमा एक सय बढी पुगिसकेका छन् ।

अवस्था भयावह

सीमित स्वास्थ्यकर्मीले धानेको शिक्षण अस्पताल, ट्रमा सेन्टरका निर्देशक भन्छन्, ‘रातभरी थामियो अब गाह्रो भयो ।’ ‘बाँकेको स्थिति झनै भयावह, दिनहुँ बढ्दै संक्रमण र मृत्युदर, अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्छः नर्भिक अस्पताल, अक्सिजन सिलिण्डर कतिबेला भरिएर आउने हो ? अक्सिजन माग्दै सीसीएमसीदेखि मन्त्रालयसम्म हारगुहार, भेन्टिलेटर खाली नहुँदा अस्पताल पुगेर पनि बच्न सकेनन् संक्रमित, अक्सिजन खोज्दै मध्यरातमा सिडिओ कार्यालय हारगुहार, उपचार नपाउँदा तेस्रो दिनमै संक्रमितको मृत्यु तेब्बर, बचाउन सकिने बिरामीलाई पनि भर्ना लिन नसक्दा मन अमिलो हुन्छ, अक्सिजन कोटा तोकिएपछि अस्पतालले बिरामी लिन छाडे, देशभर ‘रेड अलर्ट’ घोषणा गर्न चिकित्सक संघको माग’ दैनिकजसो सञ्चारमाध्यममा आइरहेका यस्ता समाचार शीर्षकबाट नै हाम्रो अहिलेको अवस्था प्रष्ट हुन्छ । सीमित स्रोत साधनका बावजुद आफ्नो तथा परिवारको पर्वाह नगरी बिरामीहरूको उपचारमा खट्ने स्वास्थ्यकर्मीहरूको काम त सह्रानीय छ नै, वास्तवमा अदृश्य भगवानभन्दा आफ्नो ज्यान जोखिममा राखेर बिरामीको उपचारमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीहरू नै वास्तविक भगवान हुन् उनीहरूलाई सम्मान गरिनुपर्छ ।

डा. गोविन्द केसीले हाम्रो स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको खाँचो छ भनेर पटक–पटक असशन बस्दा यहाँका राजनेता, प्रशासक, मेडिकल सञ्चालक, व्यापारीहरूले उनको मागलाई एकदमै हल्का रूपमा लिएर वेवास्ता गरे, जसको परिणाम आज देशले भोग्दैछ । देशको कुरा छोडेर अहिले हाम्रै कर्णाली प्रदेश जहाँ करिब १७ लाख जनसंख्याको केही प्रतिशत मात्र बिरामी हुँदा पनि यहाँको अवस्था हृदयविदारक छ भने भोलि संक्रमित हुनेको संख्या हजारबाट लाखतिर गयो भने त्यसको परिणाम सोच्न पनि सकिँदैन । पहुँचवाला, ठूलाठालु भनिएकाहरूले त भनसुन गरेर भए पनि उपचार पाउलान्, देशकै सुविधा सम्पन्न अस्पतालमा उपचार होला, तर केही कोही नहुने सर्वसाधारण नागरिकहरूले अस्पतालहरूमा बेड पाउन सक्ने अवस्था छैन । जोखिम व्यहोरेर घरमै बस्नुपर्छ, कि अस्पताल परिसरमा पुगेर पेटी, वरण्डा वा प्यासेजमा सुत्न तयार हुनुपर्छ । यहि परिदृश्य नै अहिलेको हाम्रो धु्रवसत्य हो ।

असंवेदनशील नेतृत्वः

देश कोरोना महामारीले आक्रान्त छ तर हाम्रा राजनेता भनिएकाहरू सत्ताको लुछाचुडीमा रमाउँदैछन् । राम्रो भाषण गर्दैमा, उखान टुक्का सुनाउँदैमा देश चल्दैन भन्ने त यो तीन वर्षमा प्रमाणित भएको छ । धरहरा बन्यो नराम्रो होइन, तर अहिलेको हाम्रो प्राथमिक आवश्यकता त्यो धरहरा, भ्यू टावरहरू थियो कि थिएन, त्यो बजेटले कति अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर, अक्सिजन सिलिण्डरको व्यवस्था गर्न पुग्ने थियो होला, जसले कति सर्वसाधारणको ज्यान बचाउन सकिन्थ्यो होला, यसबारेमा सोच्ने नेतृत्व हामीले कहिल्यै पाएनौं र केही वर्ष पाउने परिदृश्य पनि देखिंदैन ।

सर्वसुलभ रूपमा सरकारी छात्रवृत्तिमा दक्ष स्वास्थ्यकर्मीहरू तयार गरेको भए अहिलेको महामारीमा कति काम लाग्दो हो । देशले धान्न नसक्ने भए अहिलेकै दरबन्दी संरचनालाई मिलाएर अन्य क्षेत्रका अति आवश्यक दरबन्दी बाहेक अन्य कटौटी गरेर स्वास्थ्य क्षेत्रमा दरबन्दी थपिनुपथ्र्यो । जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउँदै लानुपथ्र्यो, दक्ष जनशक्तिको व्यवस्थापन गर्दै जानुपथ्र्यो । कर्णाली प्रदेश राजधानीमा रहेको प्रदेश अस्पताललाई त अक्सिजन व्यवस्था गर्न हम्मे–हम्मे परेको छ भने भोलि मुगु, डोल्पा, हुम्ला जस्ता हिमाली जिल्लामा यही समस्या आइलाग्यो भने त्यहाँ कसरी व्यवस्था गर्न सकिएला ? त्यसबारेमा सोच्ने नेतृत्व खै ? हाम्रो नेतृत्व त आफ्नो कुर्ची कसरी बचाउने, आफ्ना आफन्तलाई कसरी जागिर दिने, नातावाद, कृपावाद, चाकरीवादमा रमाउने भयो, नागरिकको स्वास्थ्यमा ख्याल गर्ने भएन । यस्तो महामारीको बेला नागरिकको ज्यान भन्दा आफ्नो कुर्ची बचाउने खेलमा लाग्ने नेतृत्वको विषयमा इतिहासले त मूल्याङ्कन गर्ला नै हामी नागरिकले पनि यो कुरा नोटिस गरेर राख्न जरुरी छ ।

नागरिक भूमिका नै कमजोर

देशलाई अहिलेको अवस्थामा पु¥याउनुमा हामी नागरिक पनि अछुतो भने छैनौं । हरेक निर्वाचनमा हामीले सही नेतृत्व चयन गर्न सकेनौं जसको परिणाम आज हामी आफैले भोग्दैछौं । अहिले त यो कोभिड महामारीको ट्रेलर मात्र हो यो भन्दा ठूला महामारी भोग्न हामी तयार हुनुपर्छ । कोभिड जस्ता महामारी आइलागेमा त्यससँग लड्न सक्ने दक्ष जनशक्ति, साधनस्रोत, प्रतिरक्षा तयारी व्यवस्थापनमा हामीले पटक्कै ध्यान दिन सकेका छैनौं वा वेवास्ता गर्छौं । जे पर्छ, त्यही टर्छको पटके योजना तथा कार्यक्रममा निर्भर हुँदा हाम्रा दुःखका दिन घट्नुको सट्टा बढ्दै जानेछ । हामीले त ठूला–ठूला घर, गाडी, सुविधा सम्पन्न जीवनशैली कसरी बनाउने भन्ने मात्र सोच्यौं, गरिब देश त्यसलाई पनि कसरी दोहन गर्ने बारे सोच्यौं तर स्वास्थ्य समस्या आउँदा, महामारीले अत्याउँदा हामीलाई जीवन दिने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको बारेमा सोच्ने फुर्सद कसैलाई भएन । आखिर हामीलाई त सुविधा सम्पन्न महल भन्दा जीवनको अन्तिम घडीमा चाहिने त एक थान अक्सिजन र भेन्टिलेटर भएको स्वास्थ्य संस्था नै रहेछ ।

बेवास्ता गरिएको संवेदनशील क्षेत्र

हामीले सुविधा सम्पन्न बनाउनुपर्ने स्वास्थ्य संस्थाहरू रहेछन् तर हामीले राज्यको सम्पत्ति दोहन गरेर, राजश्व छलेर, प्राकृतिक सम्पत्तिको दोहन गरेरै भएपनि आफू बस्ने घर महल बनायौं, विदेशी साधन स्रोतले आफ्नो घर दरबार बनायौं तर बिरामी पर्दा बाँच्ने आशासहित जानुपर्ने ठाउँ स्वास्थ्य संस्थाहरूलाई सुविधा सम्पन्न बनाउनु पर्ने बारेमा कहिल्यै सोचेनौं जसको परिणाम अहिले हामी कोरोना महामारीको समयमा भोगिरहेका छौं । यो त भविष्यको आँखिझ्याल मात्र हो किनकी अहिले संक्रमितको संख्या सयबाट हजारमा हुँदा त हाम्रा स्वास्थ्य संस्था तथा जनशक्तिले धान्न सकेको छैन भने भोलि यो संख्या लाखौंमा पुग्यो भने त्यसको अवस्था के होला ?

गत वर्ष कोभिडको पहिलो चरणको महामारीमा हाम्रो स्वास्थ्य संस्थाको अवस्था कस्तो छ ? हाम्रो धरातल के हो भन्ने कुरा प्रष्ट भइसकेको थियो तर हामीले फेरि पनि यो अवस्था आउन सक्छ भनेर पूर्व तयारी गर्न सकेनौं । प्रत्येक स्वास्थ्य संस्थामा न्यूनतम स्रोतसाधनको व्यवस्था गरिनुपथ्र्यो । तर हामीले स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउनुपर्नेमा मनोरेल, चुच्चेरेल, भ्यू टावर, पानीजहाज जस्ता तत्काल नभए पनि हुने कुराहरूमा ध्यान केन्द्रित ग¥यौं । हामीलाई बिराम लाग्दा हाम्रो जीवन बचाउने स्वास्थ्यकर्मीको दरबन्दी परिपूर्ति गर्ने, दरबन्दी थप्नुपर्नेमा ध्यान कसैको गएन ।

अन्त्यमा,

अहिलेको अवस्था एक अर्कालाई आरोप प्रत्यारोप गर्ने भन्दा पनि हामी सबै मिलेर यो राष्ट्रिय संकटको सामना गर्नुपर्छ । हामी नागरिकहरूले पनि सरकारले तोकेको स्वास्थ्य मापदण्डको अनुशासनपूर्वक पालना गरौं । सकेको सुरक्षित हुने आफै हो, स्वास्थ्य संस्थाहरू भरिभराउ भएका ज्वलन्त तस्विरहरू देख्दादेख्दै लापरवाही गर्नु आफ्नै कमजोरी हुनेछ । कोभिड महामारीले हामी नेपालीलाई गतिलो पाठ पढाएको छ, पद, प्रतिष्ठा, सम्पत्ति भन्ने कुरा त एक थान सिलिन्डरको अगाडि फिक्का रहेछ भन्ने कुराको ज्ञान दिएको छ, फेरि पनि हाम्रो बानी सुधार हुन्छ कि उस्तै हुने हुन्, हाम्रा स्वास्थ्य संस्थाहरूमा आवश्यक आईसीयू, सीसीयू, अक्सिजन सिलिण्डरको जोहो गर्नु नै अहिलेको हाम्रो पहिलो प्राथमिकता बन्नुपर्छ । यति हुँदा पनि हामीले चेत्न सकेनौं भने भविष्य यो भन्दा दरलाग्दो रूपमा प्रस्तुत हुनसक्छ, भोग्नका लागि तयार भएर बसौं ।

प्रकाशित मितिः   २ जेष्ठ २०७८, आईतवार ०५:००