‘भ्रष्टाचारविरुद्ध एकता आवश्यक’

साझा बिसौनी संवाददाता
सुर्खेत, १ चैत ।
भ्रष्टाचार अन्त्य गर्नको सबै एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सोमवार युवा अभियानले आयोजना गरेको भ्रष्टाचार निरुत्साहित गर्नको निम्ति सम्बन्धित सरोकारवाला र युवाको एकीकृत भूमिका विषय कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । 
कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धानका प्रवक्ता जंगबहादुर डाँगीले भ्रष्टाचार अन्त्य गर्न पहिला प्रत्येक व्यक्तिको सोच परिर्वतन जरुरी रहेको बताए । पहिलेको तुलनामा भ्रष्टाचार न्यूनीकरण भए पनि कार्यालय बाहिर भ्रष्टाचार मौलाएको हुँदा पहिला व्यक्ति नै परिर्वतन हुन जरुरी रहेको उनको भनाइ थियो । उनले भने, ‘भ्रष्टाचार अन्त्यका लागि कुनै एउटा निकायको पहलले मात्र हुँदैन, हरेक नागरिक सचेत हुनुपर्दछ । त्यसैले भ्रष्टाचार गरेको थाहा पाएमा अख्तियारमा खबर गरौं ।’ 
त्यस्तै जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत टंकप्रकाश लामिछानेले भ्रष्टाचारलाई बढावा दिने काम राजनीतिक पार्टीहरूले गरिरहेको बताए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका निलकण्ठ रेग्मी, युवा अभियान बाँकेका निरज न्यौपाने, युवा अभियान सुर्खेतका अमरबहादुर चन्द, प्रकाश पौडेल लगायत शिक्षक, विद्यार्थी तथा युवाहरूको सहभागिता रहेको थियो ।  
प्रकाशित मितिः   २ चैत्र २०७२, मंगलवार ०६:०६