पैसा बेच्ने व्यवसाय
-गोविन्द केसी- |
वि.सं. २०७३ लाई सुर्खेत लगानी वर्षको रूपमा मनाउने क्रममा यसका लागि केही चुनौती र अवसरका बारेमा छलफल र विचार विमर्श हुनु जरुरी छ । लगानी वर्ष २०७३ मनाउनका लागि धेरै चुनौती र अवसरहरू विद्यमान छन् । भौगोलिक विकटता, विद्युत, सञ्चार, कच्चापदार्थ, दक्ष जनशक्तिका साथै सबै मन्ध ठूलो चुनौती भनेको सुर्खेतका फस्टाउँदै गएको पैसा बेच्ने व्यवसाय हो । भौगोलिक चुनौतीका साथै भौगोलिक विविधताले सुर्खेत जिल्लालाई आकर्षक स्थानका रूपमा पनि चिनाउँछ । त्यसमाथि प्रदेश नं. ६ को सम्मानित राजधानी विकास गर्ने योजना बनाएकोले कागजी रूपमा २०७३ लाई लगानी वर्षका रूपमा मनाउन कुनै समस्या देखिन्न तर, सुर्खेत मात्र होइन नेपालभरी नै मुख्य समस्याको रूपमा देखिएको पैसा बेच्ने समस्याले २०७३ लाई लगानी वर्षको रूपमा सफल पार्न थप चुनौती थपेको छ ।
आखिर के हो यो पैसा बेच्ने व्यवसाय ? यहाँ पैसा ब्याजमा दिने व्यवसायलाई पैसा बेच्ने व्यवसायको रूपमा व्याख्या गर्दैछु । बैङ्कमा पैसा राख्नु भनेको आफ्नो पैसा घटाउनु हो १२ प्रतिशत महङ्गीदर भएको नेपाल जस्तो देशमा चार प्रतिशत बैंक ब्याजदरमा बैंकमा पैसा राख्नु आफ्नो पैसा खर्च गर्नु जस्तै हो । यसरी बैंकमा पूरै राख्दा प्रत्येक वर्ष हाम्रो पैसा आठ प्रतिशतले घट्दै जान्छ । यहाँ मनन् गर्नुपर्ने कुरा के छ भने विकसित देशहरूका बैंकहरूले जम्मा गरेको रकममा कुनै ब्याज दिदैनन् । आवश्यकता अनुसार पैसा राखेको वापत उल्टै शुल्क पनि लगाउँछन् । विकसित देशका बैंक र वित्तीय संस्थाहरूले लगानी र व्यक्तिगत खर्चका लागि क्रेडिट इतिहासका अनुसार सस्तो ब्याजमा सजिलै ऋण उपलब्ध गराउँछन् । हाम्रा बैंक र वित्तीय संस्थाहरू किन त्यही प्रकारको वातावरण बनाउन सकिराखेका छैनन् । यो एक गम्भीर प्रश्न हो ।
पहिले पैसा बेच्ने व्यवसायको बारेमा कुरा गरौं । यहाँ पैसा बेच्ने व्यवसाय भनेको सयकडा तिनमा ब्याजमा पैसा दिने प्रचलनलाई भन्न खोजिएको हो । सुर्खेत र नेपालका अरु जिल्लाको अर्थतन्त्र पनि सयकडा तिनको ब्याजमा अल्झिएको छ । सुर्खेतमा यो एक दशकमा आकाशिएको जग्गाको मूल्य मोटर गाडी किन्ने आधुनिक जीवनशैली बिताउने बढ्दो रेमिट्न्यासले यो व्यवसाय फस्टाउँदैछ । यो व्यवसायले कति सक्यो र कसैकसैलाई मालामाल पनि गराइसक्यो ।
यो व्यवसायको सञ्जाल कतिसम्म फैलिएको छ भनेर हेर्न वीरेन्द्रनगरका छेउछाउका बस्तीहरूमा गएर हेरे पुग्छ । हिजोसम्म तरकारी खेती कुखुरापालन दुग्ध उत्पादनमा लागेको यहाँका गृहिणीहरू यी उत्पादनशील व्यवसाय हाम्रो भविष्य कता जाँदैछ । भन्ने प्रष्ट लालपूर्जा बैंकमा राखेर बैंकबाट ऋण निकाली राखेका छन् । वार्षिक ११ देखि १७ प्रतिशतमा निकालेको ऋण गाउँघरमै सयकडा तिनदेखि सयकडा दशसम्म मासिक ब्याजमा जग्गा व्यवसायीहरूलाई दिइराखेका छन् । घरमै बसीबसी विना लगानी विना टेन्सन १५ देखि २० प्रतिशत फाइदा भएपछि किन काम गर्ने ? यसैका कारण हाम्रो समाजको व्यवहार परिवर्तन हुँदैछ । हामी जानी नजानी भूमरीमा फस्दैछौं ।
उद्योग वाणिज्य संघ सुर्खेतका एक जिम्मेवार पदाधिकारीका अनुसार सयकडा तिन अनौपचारिक अर्थतन्त्रमा यस जिल्लामा मात्र ३० करोड भन्दा बढी लगानी भएको छ । यो सञ्जाल यति ठूलो र जटिल छ कि यो व्यवसाय हामीले अनुमान गरेको भन्दा धेरै ठूलो पनि हुन सक्छ । यो सञ्जाल पिरामिड जस्तै छ । तल्लो तहमा गाउँघरका गृहणीहरू बीचमा गाउँ घरबाट रकम सङ्कलन गर्ने मध्यस्तहरू र टुप्पोमा ठूला व्यापारी ठेकेदार र मुख्य गरी जग्गा व्यवसायी यो पिरामिडको कुनै पनि एक तहमा भूकम्प गयो भने यो पिरामिड ध्वस्त हुने छ । र यसले धेरैका घरवार, व्यवसाय र जीवनलाई तहस नहस पार्नेछ ।
कुनै पनि अर्थतन्त्रको वृद्धिको मुख्य आधार उत्पादन हुनुपर्छ । उत्पादन कुनै पनि कुराको हुन सक्छ । वस्तुको या सेवाको तर यहाँ उत्पादन नभएर पनि पैसा बढी राखेको छ । यो भन्दा डरलाग्दो अर्थतन्त्रको आधार अर्काे हुन सक्दैन ।
यो पैसा बेच्ने व्यवसाय फस्टाउँदै जाँदा उद्योग, विकास निर्माण र अन्य ठेक्का पट्टाका कामलाई पनि प्रत्यक्ष हिसाब असर गरिराखेको छ । व्यवसायीहरू आफ्नो व्यवसाय भन्दा यो पैसा बेच्ने व्यवसायमा बढी निर्भर भएका छन् । हात्तीको खाने दाँत र देखाउने दाँत फरक हुन्छन् । यस्तै भइराखेको छ । सुर्खेतको व्यवसाय र व्यवसायीहरू उदाहरणका लागि ठेक्का पट्टा व्यवसायलाई लिन सकिन्छ । ठेक्का पट्टामा टेन्डर प्राप्त गरेको ५ प्रतिशत धरौटी राख्नुपर्ने प्रावधान छ । ठेक्का प्राप्त गरेपछि पेश्की स्वरूप २० प्रतिशत रकम प्राप्त गर्न सकिन्छ । मोल घटाघट गरेर पारेको टेण्डरमा काम गर्न भन्दा त्यो २० प्रतिशत पेश्कीलाई केही फाइदा हुने देखिन्छ । राजनीतिक दाउपेच र कर्मचारीलाई मिलाउन सकियो भने बाँकी ८० प्रतिशत रकम पनि काम गरेको जस्तो गरेर कामै नगरी पनि फुत्काउन सकिन्छ । नेपालका विकास निर्माणका कामहरू समयमै सम्पन्न नहुनुमा यो पनि एउटा प्रमुख कारण हो ।
साना व्यवसायी पहुँच नभएका व्यक्तिहरू घरायसी र व्यवसायिक अर्पझट पर्दा यिनै व्यवसायीहरूसँग सयकडा तिनदेखि पाँचसम्ममा रकम लिन बाध्य छन् । यो व्यवसाय फस्टाउनमा बैंक र वित्तीय संस्था पनि जानी नजानी उत्तिकै दोषी छन् । बैंकहरूबीच बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धा बैंकहरू मर्ज हुँदा बढ्दै गएको तरलता र लक्ष्य पूरा र्नुपर्ने चुनौती । साना र आवश्यक कर्जा दिन भन्दा ठूलो कर्जा दिइ आफ्नो कर्जा रकमको लक्ष्य प्राप्ती गर्न लालायित छन् । यदि कुनै व्यापारीले कुनै बैंकबाट ४० देखि ५० लाख रूपैयाँ कर्जा लियो भने अरु बैंकहरू पनि उसै व्यापारीको पछि लाग्छन् र आफ्नो बैंकबाट थप कर्जा सहुलियत दरमा लिन आग्रह गर्छन् । अनि व्यापारीहरू पनि के गरुन बैंकबाट कर्जा लिन्छन् र सयकडा तिनको दरमा ब्याजमा लगाउँछन् । सिटिजन बैंक सुर्खेतका म्यानेजर विश्व भारतीमाथि उल्लेखित बैंकको कार्यहरूमा पूर्ण सत्यता नभएको तर केही सत्यता भएको नकार्न नसकिने भन्नु हुन्छ । सिटिजन बैंकले ठूला व्यापारीलाई मात्र नभइ साना व्यापारी सेवाग्राहीलाई पनि उत्तिकै महत्व दिएको बताउँनुहुन्छ । साना व्यापारीहरूलाई फास्ट ट्र्याक मार्फत् कर्जा प्रदान गरेको साथै सिटिजन बैंकले सुन धितो राखेर पनि सानो कर्जा प्रदान गरिराखेको छ । जसले गर्दा सेवाग्राहीलाई सयकडा तिनमा पैसा उठाउनु पर्ने बाध्यता घट्दै गएको छ । यो मौलाउँदै गएको अनौपचारिक अर्थतन्त्रले हाम्रो अर्थतन्त्र तारेभिरको उरालो भएको छ । न राज्यलाई कर नै यसले गर्दा नागरिकहरू पनि सजिलै पैसा कमाउने व्यवसाय मा फसिराखेका छन् । यो कुनै बेला यो सञ्जालको एक पाटो मात्र धरासायी भयो भने यसले समाजमा, अर्थतन्त्रमा ठूलो दुर्घटना निम्ताउन सक्छ । यो फस्टाउँदै गएको पैसा बेच्ने व्यवसायलाई समयमा नै नियन्त्रण निरुत्साहित गर्नु जरुरी छ । यसका लागि प्रशासनले यो पैसा बेच्ने सञ्जाललाई तोड्ने कदम चलाउनु प¥यो । बैंक र अरु वित्तीय संस्थाहरूले सही सेवाग्राहीको पहिचान गरी सानो ठूलो ऋणमा कुनै भेदभाव नगरी सजिलै पैसा कमाउने यो संस्कृतिलाई छोड्दै जानुपर्ने जरुरी देखिन्छ ।
(लेखक मप विश्वविद्यालय व्यवस्थापन सङ्कायका उप–प्राध्यापक हुन् ।)
साझा बिसौनी संवाददाता ।