सिकिस्त भएपछि मात्रै परीक्षण

कोरोनासँग मिल्दोजुल्दो लक्षण हुँदा पनि समयमै परीक्षण नगरी लापरवाही गर्दा अधिकांशमा जटिल समस्याहरू देखिने गरेका छन्।

    कोरोनासँग मिल्दोजुल्दो लक्षण हुँदा पनि समयमै परीक्षण नगरी लापरवाही गर्दा अधिकांशमा जटिल समस्याहरू देखिने गरेका छन्।

वीरेन्द्रनगर–१ की ३७ वर्षीया एक जना महिलाले रुघाखोकी र ज्वरो आएपछि मेडिकलमा गएर चेक गराइन् । टाइफाइड भएको रिपोर्ट आयो । उनले १० दिन टाइफाइडको उपचार गरिन् । स्वास्थ्यमा भने कुनै सुधार आएन । थप स्वास्थ्य समस्या देखिन थाल्यो । पहिले खोकी र ज्वरो मात्रै आउने उनलाई श्वास फेर्न पनि गाह्रो हुन थाल्यो । जब श्वास फेर्न समस्या भयो अनि मात्रै उनलाई प्रदेश अस्पताल लगियो । कोराना परीक्षण गर्दा पोजेटिभ देखियो । ती महिलालाई आईसियूमा राखेर उपचार गरियो । तर, अस्पताल ल्याएको नौ दिन पछि उनको मृत्यु भयो ।

वीरेन्द्रनगर–७ की ४५ वर्षीया महिलालाई एक हप्तादेखि रुघाखोकी र ज्वरो आइरहेको थियो । उनले पनि कोरोना परीक्षण गरिनन्, मेडिकलबाट औषधि लिएर खाइन । निको भएन । विस्तारै श्वासप्रश्वासमा समस्या देखिन थाल्यो । जटिल समस्या भएपछि पीसीआर परीक्षण गर्दा उनमा पनि कोरोना पुष्टि भयो । अहिले एक सातादेखि उनी प्रदेश अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको परिवारले बताएका छन् ।

गुर्भाकोट नगरपालिकाका–५३ वर्षीय पुरुष रुघाखोकी र ज्वरो आएपछि कोरोना परीक्षण नै नगरी मेडिकलकै औषधि खाएर घरमै बसे । नौ दिनसम्म निको नभएपछि उनी अहिले प्रदेश अस्पतालमा उपचार गराइरहेका छन् । श्वास फेर्न असजिलो हुँदै गएपछि उनीलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा अझै सुधार नभएको पारिवारिक स्रोतले जनाएको छ ।

यी केही प्रतिनिधि पात्र हुन् । रुघाखोकी र ज्वरोलाई सामान्य रूपमा लिएर स्वास्थ्य परीक्षणविनै मनलाग्दी औषधि सेवन गर्ने र थला परेपछि मात्रै कोरोना परीक्षण गर्नेहरूको संख्या अहिले ठूलो छ । समयमै चाँज गरेर उपचार नथाल्दा अधिकांश कोरोना संक्रमितहरू सिकिस्त अवस्थामा पुग्ने गरेका हुन् । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै संक्रमणको दर र जोखिम पनि उच्च छ । पछिल्ला दिनहरूमा कर्णालीमा कोरोनाकै कारण मृत्युदर पनि बढेको छ । वैशाखमा मात्र कोरोना संक्रमित ७० जनाभन्दा बढीको ज्यान गएको हो ।

लक्ष्य देखिने बित्तिकै समयमै परीक्षण गरेर उपचार नगर्दा स्वास्थ्य अवस्था जटिल हुने गरेको चिकित्सक तथा स्वास्थ्यकर्मी बताउँछन् । प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. के.एन. पौडेलले सिकिस्त भएपछि मात्र परीक्षण गर्ने र उपचारमा आउने बिरामीहरू धेरै रहेको बताए । उनी भन्छन्, ‘रुघाखोकी, ज्वरो आउन बित्तिकै मेडिकलमा गएर औषधि खाइहाल्ने बानी छ । राम्रोसँग रोगको पहिचान नभइ औषधि सेवन गर्दा त्यसले थप जटिलताहरू ल्याउँछ ।’ उनका अनुसार स्वास्थ्य अवस्था गम्भीर बनेपछि पीसीआर परीक्षण गर्ने र उपचारमा आउनेहरू धेरै छन् । ‘कोरोनासँग मिल्ने लक्षण देखिने बित्तिकै सुरूमै परीक्षण गरेर उपचार थाले जटिल समस्या आउनबाट जोगिन सकिन्छ,’ उनले भने, ‘शरीरमा अक्सिजनको मात्रा एक दमै कम भएपछि अस्पताल आउँदा निकै समस्या हुन्छ ।’ कोरोना परीक्षण नै नगरेर लामो समय मेडिकलबाट औषधि खाएकाहरूको स्वास्थ्य अवस्था जटिल बनेको पाइएको उनले बताए । सामान्य रुघाखोकी र ज्वरो आउनासाथ कोरोना परीक्षण गरिहाल्न उनले सुझाए । उनी भन्छन्, ‘समयमै परीक्षण गरेर चिकित्सकको सल्लाह अनुसार उपचार थाल्दा जोखिम कम हुन्छ ।’

स्वास्थ्य समस्याबारे हेलचक्य्राइँ बढेपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पहिले कोरोना परीक्षण गरेर मात्र अन्य उपचार गर्न अपिल गरेको छ । ज्वरो र रुघाखोकीका बिरामीहरूलाई विश्वसनीय प्रयोगशालामा परीक्षण नगरेर टाइफाइडको एन्टिबायोटिक प्रयोग गरिँदा कोरोनाका बिरामीको स्वास्थ्य थप जटिल हुने गरेको कार्यालयले जनाएको छ । रोगको पहिचान गरेर मात्र औषधिको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको हो । वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले कोरोना संक्रमणका आशंकितले परीक्षणविना औषधि सेवन गर्न नहुने बताए । ‘टाइफाइड छ भनेर जथाभावी औषधि सेवन गर्दा झन् समस्या बढेको पाइने गरेको छ,’ उनले भने ।

जनस्वास्थ्य कार्यालयले आइतवार, मंगलवार र बिहीवार दिउँसो तथा वीरेन्द्रनगर नगरपालिकाले सोमवार, बुधवार र शुक्रवार बिहान पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दै आएका छन् । स्वास्थ्य सेवा निर्देशनालयको प्रयोगशालामा शुक्रवार बिहान र प्रदेश अस्पतालमा आइतवारदेखि शुक्रवारसम्म बिहानको समयमा साथै सबै स्थानीय तहहरूमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


एकैदिन १२ जनाको मृत्यु

कर्णाली प्रदेशमा बुधवार कोरोना संक्रमित १२ जनाको मृत्यु भएको । प्रदेशमा कोरोनाका कारण एकैदिन मृत्यु भएको यो संख्या हालसम्मकै उच्च हो । मृत्यु हुनेमा १० जना प्रदेश अस्पतालमा उपचारत थिए । उनीहरूको स्वास्थ्यमा जटिल समस्या देखिएको थियो ।

प्रदेश अस्पतालको कोभिड विशेष अस्पतालमा एक सय जना बिरामी उपचाररत छन् । तीमध्ये १२ जना भेन्टिलेटरमा रहेको अस्पतालले जनाएको छ । ‘सिकिस्त अवस्थामा मात्र अस्पताल आउने बिरामीलाई बचाउन निकै गाह्रो भइरहेको चिकित्सकहरूले बताएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा हालसम्म कोरोना संक्रमित एक सय १६ जनाको मृत्यु भएको छ ।

यस्तै, बुधवार थप सात सय १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशभर हालसम्म कोरोना संक्रमण पुष्टि हुनेहरूको संख्या १४ हजार सात सय ३८ पुगेको छ भने सक्रिय संक्रमित चार हजार सात सय ६ जना छन् ।

प्रकाशित मितिः   ३० बैशाख २०७८, बिहीबार ०९:३६