पन्छिए निजी अस्पताल
कर्णाली प्रदेशका सरकारी अस्पतालहरू कोरोना भाइरस (कोभिड–१९) का संक्रमितले भरिभराउ छन् । संक्रमण दिनहँु बढ्दै गएपछि अस्पतालहरूमा बेड नपाइने अवस्था छ । दोस्रो लहरको संक्रमण सुरू भएयता कर्णालीमा संक्रमण र मृत्युदर उच्च छ । सरकारी अस्पतालहरूले सिकिस्त बिरामीकै चाप थेग्न सकिरहेका छैनन् ।
अक्सिजनको अभाव भएकाले कोरोना संक्रमितको उपचारका लागि बेड छुट्याउन नसकिएको निजी अस्पतालहरूले बताएका छन्।
अक्सिजनको संकटले बिरामीको उपचारमा थप समस्या छ । संक्रमितको उपचार गराइरहेका जिल्ला अस्पताल तथा पालिकाहरूमा सञ्चालनमा रहेका अस्थायी कोभिड अस्पतालहरूले बेड अभाव देखाउँदै थप बिरामीहरू भर्ना गर्न कठिनाइ भएको बताइरहेका छन् । जसका कारण कोभिड संक्रमितले उपचार पाउनै मुस्किल छ । तर, यस्तो महामारीका बेला निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरू भने जिम्मेवारीबाट पन्छिएका छन् । निजी अस्पतालले बहाना बनाउँदै संक्रमितको उपचारका लागि कोभिड वार्ड सञ्चालन नगरेका हुन् ।
कर्णालीमा अहिलेसम्म केही सरकारी अस्पतालहरूमा मात्रै कोरोना संक्रमितको उपचार भइरहेको छ । संकटका समयमा निजी अस्पतालहरू कोरोना संक्रमितको उपचारका लागि तयार छैनन् । उनीहरूको भनाइ छ, ‘मेडिकल अक्सिजनको अभावले कोभिड संक्रमितको उपचार गर्न सकने अवस्था छैन ।’ यसै पनि कर्णालीमा निजी अस्पतालहरूको संख्या न्यून छ । केही दिन अघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले केही निजी अस्पतालहरूसँग कोभिडका बिरामीको उपचार गर्नेबारे छलफल गरेको थियो । उक्त छलफलमा उनीहरूले अक्सिजनको अभाव भएकाले त्यसको सुनिश्चित भए मात्रै उपचार गर्न सकिने बताएका थिए ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले संघीय सरकारले निजी अस्पतालहरूले केही बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउने भने पनि यहाँ त्यसो हुन नसकेको बताए । उनका अनुसार प्रदेशमा दुई जिल्ला रूकुम–पश्चिम र सुर्खेतमा ५० बेड क्षमताका दुई वटा मात्र निजी अस्पताल छन् । उक्त क्षमताका रुकुम–पश्चिममा रहेको राप्ती समाज अस्पताल र वीरेन्द्रनगरको कर्णाली केयर इन्टरनेशनल अस्पताल हुन् । सुर्खेतको देउती अस्पताल प्रालि, माया नर्सिङ होम र सुर्खेत हस्पिटल २५–२५ शैड्ढया मात्र छन् । यीमध्ये केहीमा मात्र आईसीयू सेवा छ । कर्णाली केयरले अक्सिजनको सुनिश्चितता भए सबै बेडहरू कोरोना बिरामीका लागि व्यवस्थापन गरेर उपचार थाल्ने बताएको थियो । निर्देशक खड्काले निजी अस्पतालहरूले कोभिडको बिरामीको उपचार गर्न अक्सिजनकै अभाव देखाएको जनाए । उनले रूकुम–पश्चिममा भने जिल्ला अस्पतालमा कोभिड संक्रमितको मात्रै र निजीमा अरू रोगका बिरामीको उपचार गर्ने सहमति भएको बताए । ‘हामीले छलफल गर्दा निजी अस्पतालहरूले उपचार गर्न सक्छौं । कोभिड संक्रमितको उपचार गर्न तयार छौं । अक्सिजनको नियमित ग्यारेण्टी हुनुपर्छ भन्नुभयो,’ उनले भने, ‘उपचार हुने निश्चित नभइ बिरामी भर्ना गर्नुस् मन्न सकिएन ।’ निजी अस्पतालहरूले कोरोनाका बिरामीको उपचार गर्दा अन्य नियमित सेवाहरू प्रभावित हुने समेत बताएका छन् । कर्णालीका धेरैजसो जिल्लामा पोलिक्लिनिक र मेडिकल मात्रै भएकाले पनि कोभिडको उपचार सम्भव नहुने उनीहरूको तर्क छ ।
सुर्खेतमा मात्रै अहिले दैनिक दुई सयदेखि तीन सय सिलिण्डर मेडिकल अक्सिजन आवश्यक पर्छ । अस्पतालमा जडान गरिएका दुई वटा अक्सिजन प्लान्ट र बाहिरबाट ल्याउँदा समेत यहाँ अक्सिजनको संकट छ । निजी अस्पतालहरू अहिले सुनसान छ । अधिकांशले ओपीडी सेवा समेत बन्द गरेका छन् ।
देउती अस्पताल प्रालिका प्रबन्ध निर्देशक डा. लोकेन्द्र थापाले आफूहरूसँग अक्सिजन र आईसीयू नभएकाले कोभिडका संक्रमितको उपचार गर्न नसकिएको बताए । कोभिडको लक्षण देखिएका बिरामीलाई सम्बन्धित निकायमा रिफर गर्ने गरिएको उनी बताउँछन् । ‘यहाँ आउने सबै खाले बिरामीलाई हेर्नुपर्छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पीसीआर गर्न पठाउँछौं । अक्सिजनको व्यवस्था नभएकाले उपचार गर्न सकिएको छैन । यो हाम्रो बाध्यता हो,’ उनले भने ।
यसैबीच, कर्णालीमा थप पाँच सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार एक हजार ८९ जनाको परीक्षण गर्दा पाँच सय ६९ जनामा संक्रमण देखिएको हो । तीमध्ये सुर्खेतका मात्र दुई सय ८६ जना हुन् । यस्तै, रूकुम–पश्चिममा ७८, जाजरकोटमा ६०, सल्यानमा ५६, कालीकोटमा ३७, दैलेखमा २०, जुम्लामा पाँच र कर्णालीमा रहेका अन्य प्रदेशका नौ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीवार थप १० जनाको मृत्यु भएसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय २९ पुगेको छ । बुधवार पनि १० जना संक्रमितको ज्यान गएको थियो ।
प्रकाशित मितिः ३१ बैशाख २०७८, शुक्रबार ०५:००
साझा बिसौनी ।