निषेधाज्ञाको अवज्ञा गर्नेलाई जरिवाना

कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको अवज्ञा गर्नेलाई जरिवाना तिराइएको छ । निषेधाज्ञा उल्लंघन गर्ने वीरेन्द्रनगरका पाँच जना व्यापारीलाई स्थानीय प्रशासनले पक्राउ गरेर जरिवाना तिराएको हो ।

निषेधाज्ञा उल्लंघन गर्दै पसल सञ्चालन गर्नेलाई पक्राउ गरी कारवाही गरिएको सुर्खेत प्रहरी प्रमुख (एसपी) राजेन्द्र भट्टले बताए । उनका अनुसार पक्राउ परेकाहरूलाई संक्रमण रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम प्रतिव्यक्ति तीन हजार एक सय रूपैयाँ जरिवाना तिराएर छोडिएको छ । ‘निषेधाज्ञाको उल्लंघन गरी पसल सञ्चालन गर्ने पाँच जनालाई पक्राउ गरेका थियौं । संक्रमण रोग ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा जरिवाना तिरेपछि छोडिएको छ,’ एसपी भट्टले भने ।

निषेधाज्ञा उल्लंघन गर्दै पसल सञ्चालन गर्ने वीरेन्द्रनगर–६ का जगत बिसी, जनक भट्टराई, लक्ष्मी थापा, रूपकला खड्का र रूपा सारुलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण दर तीव्र बनेपछि स्थानीय प्रशासनले वैशाख १४ देखि ३१ गतेसम्मका लागि सुर्खेतमा निषेधाज्ञा जारी गरेको छ ।

यसैबीच, प्रहरीले यात्रुसँग बढी भाडा असुल्ने चालक र सह–चालकलाई पनि पक्राउ गरेको छ । निषेधाज्ञाका बेला सवारी चलाएर यात्रुसँग बढी भाडा असुल्ने बा ४ ख ८३२ नम्बरको मिनी बसका चालक भिमसेन नेपाली र सह–चालक धनसिंह विकलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक कनक शाहीका अनुसार यात्रुहरूको गुनासोपछि सादा पोशाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मिनी बस तथा चालक र सह–चालकलाई छिन्चुमा पक्राउ गरेको थियो ।

प्रकाशित मितिः   २९ बैशाख २०७८, बुधबार ०५:०३