खाद्य पसल सातामा तीन दिन खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय सुर्खेतले हप्ताको तीन दिन मात्रै खाद्य पसलहरू खोल्न पाइने बताएको छ । दैनिक उपभोग्य खाद्यान्नका पसलहरू आउँदो जेठ १ गतेदेखि आइतवार, मंगलवार र बिहीवार मात्रै खुला गर्ने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अध्यक्षतामा मंगलवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बजारमा हुने भिडभाड व्यवस्थित गर्न यस्तो निर्णय गरिएको जनाएको छ । वैशाख १४ गतेयता निषेधाज्ञा जारी भएदेखि हरेक दिन बिहान तीन घण्टा खाद्य पसलहरू खुल्ने गरेका छन् । दैनिक रूपमा पसल खोल्दा भिडभाड भै संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले तरकारी, फलफूल तथा दुग्ध पदार्थका बाहेक अन्य खाद्य पसलहरू सातामा तीन दिन मात्रै खोल्ने निर्णय गरेको हो । यसका लागि थप समन्वय र सहजीकरण सुर्खेत उद्योग वाणिज्य संघले गर्ने प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   २९ बैशाख २०७८, बुधबार ०५:०१