असंवेदनशील दल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत पाउन सकेनन् । उनी अल्पमतमा परे । पद गुमाए । अर्को सरकार नबन्दासम्म ओली नै कामचलाउ सरकारका प्रधानमन्त्री हुनेछन् । ओली सरकार ढलेसँगै अब नयाँ सरकार गठनको दौडधुप सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिसकेकी छन् । उक्त आह्वानसँगै विपक्षी दलहरूको दौडधुप सुरु भएको छ । प्रधानमन्त्री ओलीले सोमवार प्रतिनिधिसभाबाट ९३ सांसदको मात्र विश्वासको मत पाउँदा खुसी भएका विपक्षीहरू बहुमतको संयुक्त सरकार बनाउन लागिपरेका हुन् । खास गरेर नेपाली कांग्रेस आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रयासरत छ । कांग्रेसलाई माओवादी केन्द्रले पनि साथ दिने देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनका लागि छलफल समेत थालिसकेका छन् । उनले माओवादी केन्द्र र जसपाको उपेन्द्र–बाबुराम समूहका नेतासँग परामर्श गरिरहेका छन् ।

विपक्षी दलहरू नयाँ सरकार गठनको गृहकार्यमा लागे पनि उनीहरूका लागि सजिलो भने हुनेछैन । कांग्रेस र माओवादी मात्र मिलेर सरकार गठनका लागि बहुमत पुग्दैन । जसपा एकमत हुन सकेको छैन । एक पक्ष कांगे्रस नेतृत्वमा सरकार गठनको पक्षमा छ भने अर्को समूह विपक्षमा । जसका कारण बहुमत पु¥याउन सजिलो देखिँदैन । प्रधानमन्त्री ओलीको विपक्षमा रहेका नेकपाकै माधवकुमार नेपाल पक्षका सांसदहरूको भूमिकालाई पनि विशेष महŒवका साथ हेरिएको छ । पार्टी निर्णयविपरीत संसद्मा अनुपस्थित भएर ओलीको विपक्षमा उभिएका नेपाल पक्षीय सांसदहरूलाई कारवाही भइसकेको छैन । तर विश्वासको मतको पक्षमा नलागेका उनीहरूले विपक्षी गठबन्धनको सरकारलाई साथ दिनेछन् वा छैनन् भन्ने विषय पनि चर्चामा छ । अर्कोतर्फ नेपाल–खनाल समूहको राजीनामा अन्तिम समयमा रोकिनुलाई पनि विशेष अर्थका साथ हेरिएको छ । एमालेको सरकार ढालेर अन्य पार्टीको नेतृत्वमा सरकार बनाउन सहयोग गर्दा त्यसले आफ्नै कार्यकर्ता र जनतामा कस्तो सन्देश जान्छ भन्ने उक्त समूहले पक्कै ख्याल गरेको हुनुपर्छ ।

विकसित घटनाक्रमले विपक्षीहरू सबै मिल्दामात्र पनि बहुमत पुग्ने अवस्था छ । तर, जसपाको एउटा समूहले आफूहरू सरकार निर्माणको खेलमा नलाग्ने बताइसकेको छ । जसपाको उपेन्द्र–बाबुराम समूह नयाँ सरकार गठनका लागि समीकरण बनाउन लागिपरे पनि महन्थ ठाकुर समूहले भने नयाँ सरकार गठनमा आफूहरू नलाग्ने पक्षमा छ । राजनीति जे जसरी अघि बढे पनि त्यो नागरिक हितमा पक्कै छैन । मुलुक यतिबेला कोरोना महामारीले आक्रान्त बनेको छ । हरेक दिन नागरिकको मृत्यु भइरहेको छ । अस्पतालहरूमा मेडिकल अक्सिजनको चरम अभाव छ । बिरामीले बेड पाउन सकेका छैनन् । संक्रमण दिनप्रति दिन तीव्र भइरहेको छ । यस्तो संकटको समयमा राजनीतिक दलहरू भने सत्ता स्वार्थको खेलमा तल्लिन छन् । कोरोना संकट र यसले नागरिकमा पारेको असरप्रति उनीहरू कत्ति पनि संवेदनशील देखिएका छैनन् । यो नै विकृत राजनीतिको विडम्बना हो ।

प्रकाशित मितिः   २९ बैशाख २०७८, बुधबार ०५:००