संक्रमणमुक्त दर बढ्दो
२६ दिनमा एक हजार दुई सय ७९ जनाले कोरोना जितेका छन् ।
कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणबाट मुक्त हुनेको संख्या बढेको छ । यही वैशाख २ गतेदेखि २८ गतेसम्म एक हजार दुई सय ७९ जनाले कोरोना जितेका छन् । वैशाख २ गते प्रदेशभर तीन जना संक्रमणमुक्त भएका थिए । त्यसयता दैनिक संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको हो । जति ठूलो संख्यामा संक्रमित भेटिन्छन्, त्यसको १०–१२ दिनपछि त्यति नै संख्यामा संक्रमणमुक्त हुने गरेका हुन् ।
वैशाख लागेयता संक्रमण र मृत्युदर अलि बढी देखिए पनि कोरोना जित्नेको संख्या उल्लेख्य रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । वैशाख २४ गते ५० र २५ गते दुई सय ४६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, २६ गते दुई सय १०, २७ गते एक सय ६८ र २८ गते दुई सय ८९ जना संक्रमणमुक्त भएका हुन् । ‘पछिल्लो समय संक्रमित पुष्टि हुने मात्र होइन कोरोना जित्नेहरूको संख्या पनि धेरै छ,’ निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नोदनारायण चौधरी भन्छन् । सुरूमा संक्रमितमात्रै थपिँदा संक्रमण दर उच्च देखिए पनि विस्तारै निको हुने दर पनि वृद्धि भएको उनले बताए ।
निर्देशनालयको तथ्याङ्कअनुसार वैशाख महिनाको तेस्रो सातादेखि कोरोना जित्नेहरूको संख्या बढेको हो । ‘संक्रमणको दर र मृत्यु हुनेहरूको संख्या मात्रै बाहिर आउँदा नागरिक त्रसित भएका हुन्,’ चौधरीले भने, ‘अहिले दैनिक संक्रमणमुक्त हुनेहरूको संख्या बढ्दो क्रममा छ ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, स्वास्थ्यकर्मीहरूको सल्लाह लिने, सरसफाइ र खानपानमा ध्यान दिने तथा आत्मविश्वास बढाए कोरोना जित्न सकिने उनले जनाए । कोरोना संक्रमण बढेसँगै अहिले कर्णालीका १० वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । वैशाख १४ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाका कारण संक्रमणको ‘चेन ब्रेक’ हुने र संक्रमण फैलिन रोकिने जनस्वास्थ्यका जानकारहरूले बताएका छन् । निषेधाज्ञाको पूर्ण पालना हुन सके संक्रमण दर घट्दै जाने उनीहरूको भनाइ छ ।
मृत्यु हुनेको संख्या एक सय नाघ्यो
कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । निर्देशनालयका अनुसार मंगलवार थप नौ जनाको मृत्यु भएकोे छ । योसहित कोरोना संक्रमणका कारण मृत्यु हुुनेको संख्या हालसम्म एक सय चार जना पुगेको हो ।
यस्तै कोरोना भाइरस संक्रमणबाट देशभर एकै दिनमा दुई सय २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कर्णालीमा मंगलवार पाँच सय ७३ जना संक्रमित थपिएका छन् । नौ सय ६३ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या चार हजार पाँच सय पुगेकोे छ । निर्देशनालयका अनुसार संक्रमितमध्ये एक सय एक जनाको आईसीयू र ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अधिकांश संक्रमित भने घरमै छन् । तीन सय ७७ जनाको कोभिड अस्पताल तथा आइसोलेसन सेन्टरमा र चार हजार एक सय ३२ जना होम–आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मितिः २९ बैशाख २०७८, बुधबार ०५:०४
साझा बिसौनी ।