बजार अनुगमन अपरिहार्य

कोरोना भाइरस (कोभिड–१९) को महामारीले गाँजेको छ । जताततै त्रास छ । उपचार नपाएर बिरामी छट्पटाइरहेका छन् । अस्पतालमा बेड पाइरहेका छैनन् । अक्सिजनको हाहाकार छ । जोखिमयुक्त क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइँदैन । अत्यावश्यक खाद्यवस्तुहरू खरिद गर्न निश्चित समय छुट्याइएको छ । यो विषम् परिस्थितिमा केही व्यवसायीहरू भने कालोबजारी गरिरहेका छन् । अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएको छ । व्यापारीले मनोमानी रूपमा मूल्य बढाएका छन् । यसले उपभोक्ता मारमा परेका छन् ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भनेर प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवधिमा खाद्य सामग्री आपूर्तिमा भने समस्या छैन । सहज आपूर्ति भइरहे पनि व्यापारीले भने आफूखुसी मूल्य निर्धारण गरेर बेच्ने गरेका छन्् । चामल, दाल, तेलजस्ता दैनिक भान्सामा नभइ नहुने खाद्य वस्तुमा मनपरी मूल्य असुल्ने गरिएको पाइएको छ । एक साताको अवधिमा वीरेन्द्रनगर बजारमा चामल प्रतिबोरामा एक सयदेखि दुई सयसम्म मूल्य बढाइएको छ । व्यापारीहरूले आपूर्ति सहज नभएको वहाना बनाउँदै खाद्यवस्तुमा चर्को मूल्य बढाएका हुन् । महँगीबारे व्यापारीलाई सोध्दा सामान सर्टेज भएको र उद्योगबाटै रेट बढेर आएको बताउने गरेका छन् । पाँच–सात दिनमै बजारमा महँगी निकै बढेको उपभोक्ताको गुनासो छ । वीरेन्द्रनगरभन्दा जिल्लाका अन्य ग्रामीण भेकका बजारका उपभोेक्ता झन् महँगीको मारमा परेका छन् । निषेधाज्ञाका कारण ज्याला मजदुरी गरेर गुजरा चलाउनेहरूले काम समेत पाएका छैनन् । रोजगारी गुमाएर घरमै बसेका बेला उनीहरूलाई बजारको महँगीले थप सताएको छ ।

सुर्खेतमा खाद्य सामग्रीका उद्योगहरू छैनन् । बाहिरबाटै आउने हो । त्यसकारण सामान महँगो भएर आएको व्यापारीहरूको दावी छ । उपभोक्ताहरू भने व्यापारीहरूले सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरेको र मनोमानी मूल्य समेत लिएको बताउँछन् । तर सम्बन्धित निकायहरू भने चुपचाप छन् । यस्तो बेला बजारको निगरानी र अनुगमन अपरिहार्य छ । संकटको समयमा मूल्य बढाएर उपभोक्ता ठग्ने प्रवृत्ति नियन्त्रण गर्न सरकारी तहबाट नियमित निगरानी गर्नुपर्ने हुन्छ । तर सुर्खेत बजारमा अहिले यस्तो हुन सकेको छैन । जसका कारण उपभोक्ता ठगिएका छन् । फितलो अनुगमन संयन्त्र देखेका व्यापारीहरूको चतु¥याइँका अगाडि उपभोक्ताको पनि कुनै जोड चल्दैन । पसलेले आफूखुसी तोकेको मूल्यमा उपभोक्ताहरू वस्तु खरिद गर्न बाध्य छन् । केही व्यापारीमा जसरी पनि नाफा मात्र कमाउने प्रवृत्ति हावी छ । बजार व्यवस्थित गर्न यस्ता व्यवसायीलाई सचेत मात्रै गराएर पुग्दैन । कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ । संकटको समयमा अतिरिक्त लाभ लिन मूल्य बढाउने र कालोबजारी गर्नेहरूलाई समयमै कारबाही गर्न सकिएन भने यो प्रवृत्ति थप मौलाउँदै जानेछ । उपभोक्ता ठगिने क्रम बढ्ने छ । त्यसैले निषेधाज्ञाको समयमा दैनिक उपभोग्य वस्तुहरूको पसलहरूको निगरानी र अनुगमन अपरिहार्य भएको छ ।

प्रकाशित मितिः   २६ बैशाख २०७८, आईतवार ०५:००