कोभिड उपचारमा लापरबाही

कोरोना संक्रमितका पनि दुई–तीन जना कुरुवा ! उनीहरू भन्छन्, मास्कको भरमा हेरचाह गरिरहेका छौं, बाँकी भगवान भरोसा

कोरोना संक्रमितका पनि दुई–तीन जना कुरुवा ! उनीहरू भन्छन्, मास्कको भरमा हेरचाह गरिरहेका छौं, बाँकी भगवान भरोसा

वीरेन्द्रनगर–१ की दुर्गा बयलकोटीले दिदीलाई कोरोना संक्रमण भएपछि उपचारका लागि प्रदेश अस्पतालमा ल्याएकी छन् । उनकी दिदी अस्पताल भर्ना भएको आठ दिन भयो । स्वास्थ्यमा राम्रोसँग सुधार भएको छैन । एक्लै छोड्ने अवस्था नभएपछि दिदीको छोरा र आफू हेरचाहमा बसिरहेको उनी बताउँछिन् । मास्क र सेनिटाइजरकै भरमा दुर्गाले कोभिड संक्रमित दिदीको हेरचाह गरेकी छन् । ‘जति नै जोखिम भए पनि यस्तो बेला एक्लै छोड्नु भएन । स्वास्थ्यकर्मीहरूले औषधि दिन्छन् । बेला–बेलामा हेर्छन् । अरु सबै हेरचाह हामी आफैले गरिरहेका छौं,’ उनले भनिन् ।

कोरोना संक्रमितका पनि दुई–तीन जना कुरुवा ! उनीहरू भन्छन्, मास्कको भरमा हेरचाह गरिरहेका छौं, बाँकी भगवान भरोसा

दुर्गाकी दिदीलाई श्वासप्रश्वासमा समस्या छ । अहिले अक्सिजन लगाएर उपचार भइरहेको उनले सुनाइन् । दुर्गा भन्छिन्, ‘आफू पनि संक्रमित हुने जोखिम छ । बिरामीलाई यसै छोड्नु भएन् । मनले मान्दैन । अब सबै भगवान भरोसा ।’

प्रदेश अस्पतालमा कोरोना संक्रमितकी कुरुवा दुर्गा मात्र एक्ली होइनन् । सबै बिरामीका कुरुवा छन् । संक्रमणको उच्च जोखिम मोलिरहेका उनीहरू सबै उत्तिकै जोखिममा छन् । केही कुरुवाहरूमा अस्पतालमा बसेकै कारण संक्रमण समेत देखिएको छ । अस्पतालमा जति नै सतर्कता अपनाए पनि संक्रमणबाट जोगिन मुस्किल छ ।

वीरेन्द्रनगर–७ का डीआर गौतमले श्रीमतीलाई कोरोना संक्रमणका कारण समस्या भएपछि शुक्रवार प्रदेश अस्पताल लगे । संक्रमण पुष्टि भएको धेरै दिनसम्म होम आइसोलेसनमै राखेका उनले श्रीमतीलाई एक्कासी स्वास फेर्न गाह्रो भएपछि अस्पताल लिएका हुन् । अहिले उनी अस्पतालमा श्रीमतीको आफैले हेरचाह गरिरहेका छन् । उनी भन्छन्, ‘स्वास्थ्यकर्मी बेला–बेलामा आउनुहुन्छ । बिरामीको अवस्था हेर्दा छोड्न सकिदैन । सेनिटाइजर र मास्कको भरमा हामी कुरुवाहरू बसिरहेका छौं ।’

अस्पतालमा संक्रमितका कुरुवा दुई–तीन जना समेत बस्ने गरेका छन् । उनीहरू त्यहाँ मात्र बस्दैनन् । नियमित घरमा आउँजाउ पनि गर्छन् । बराहताल गाउँपालिकाका–८ का दिनेश हमालले पनि श्रीमतीलाई कोरोना संंक्रमण भएर सिकिस्त भएपछि नौ दिन अघि प्रदेश अस्पतालमा ल्याएका छन् । एक्लै कुर्न समस्या भएपछि दुई जना कुरुवा बस्ने गरेको उनी बताउँछन् । ‘एक्लैले बिरामीको हेरचाह गर्न पनि गाह्रो छ । पालैपालो कुर्ने गरेका छौं,’ उनले भने ।

अधिकांश कोरोना संक्रमितको उपचार प्रदेश अस्पतालमा भइरहेको छ । बाहिरी जिल्लाबाट समेत यहाँ सिकिस्त बिरामी रिफर भएर आउँछन् । अस्पतालमा दैनिक संक्रमितहरूको मृत्यु भइरहन्छ । नजिकै रहेका बिरामीको मृत्यु भयो भने कुरुवाहरूको मन चिसो हुन्छ । कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षाका लागि पीपीई सेट लगाउँछन् । कुरुवाहरू भने मास्ककै भरमा बिरामीको हेरचाह गरिरहेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै कर्णालीमा संक्रमण र मृत्युदर उच्च छ । गम्भीर प्रकृतिका बिरामीहरूको संख्या दिनहुँ बढ्दो क्रममा छ । बिरामी थपिँदै जाँदा अस्पतालहरूमा जनशक्तिको समेत अभाव हुन थालेको छ । थोरै जनशक्तिले धेरै बिरामी हेर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । शनिवारसम्म प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या तीन हजार आठ सय १८ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म कर्णालीमा ८२ जना मृत्यु भइसकेको छ । शनिवार मात्र प्रदेशभर चार सय १४ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोना फोकल पर्सन डा. के.एन. पौडेलका अनुसार शनिवारसम्म प्रदेश अस्पतालमा ८२ जना संक्रमितको उपचार भइरहेको छ । उनले कुरुवा बसेकाहरू समेत संक्रमित भएको बताए । ‘बिरामीका केही कुरुवाहरू आफै पनि संक्रमित हुनु भएको छ,’ उनले भने, ‘उहाँलाई जोखिम छ ।’ उनले बिरामीका कुरुवाले स्वास्थ्यकर्मीले जस्तै सेवा गरिरहेकाले उपचारमा सहज भएको बताए । प्रदेश अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति न्यून भएको डा. पौडेल बताउँछन् । उनका अनुसार अहिले दुई वटा भवनमा गरेर कोरोना संक्रमित बिरामीको उपचारका लागि १५ देखि २० जना चिकित्ससहितका स्वास्थ्यकर्मीहरूलाई खटाइएको छ ।

अस्पतालले कोरोना संक्रमितका पनि कुरुवा बस्न दिनुले संक्रमणको जोखिम झनै बढ्ने स्वयम् चिकित्सकहरू बताउँछन् । ‘कोभिड संक्रमितको उपचारमा यस्तो लापरवाही गरिनु राम्रो होइन । बिरामीको उपचारका लागि अस्पतालले व्यवस्थापन गर्नुपथ्र्यो । अरु रोगका बिरामीको जस्तो कुरुवा बस्दा निकै जोखिम रहन्छ,’ एक चिकित्सकले भने । गत वर्षको महामारीमा कोरोना संक्रमतिको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालले आवासको व्यवस्था तथा होटल क्वारेन्टाइनमा राख्ने गरेको थियो । तर अहिले भने त्यस्तो सावधानी अपनाउन छोडिएको छ । संक्रमितको स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीहरू आफ्नो घरमै जाने गरेका छन् । जसका कारण संक्रमण फैलने जोखिम बढेको छ ।

कोरोनाका धेरैजसो संक्रमित अहिले घरमै छन् । होम आइसोलेसनमा बसेकाहरूको निगरानी गर्ने संयन्त्र छैन । उनीहरू आफ्नो अनुकूल निर्धक्क घुमफिर गरिरहेका छन् । त्यसले झन संक्रमण फैलिरहेको जनस्वास्थ्यका जानकारहरू बताउँछन् ।

प्रकाशित मितिः   २६ बैशाख २०७८, आईतवार ०५:००