निषेधाज्ञामै महँगियो भान्सा

आपूर्ति सहज भइरहँदा पनि व्यापारीहरूले खाद्यवस्तुमा मनोमानी मूल्य बढाएका हुन्।

आपूर्ति सहज भइरहँदा पनि व्यापारीहरूले खाद्यवस्तुमा मनोमानी मूल्य बढाएका हुन्।

वीरेन्द्रनगर–९ की राजकुमारी शाहीले निषेधाज्ञा सुरू हुनुको अघिल्लो दिन प्रतिलिटर दुई सय ५० रूपैयाँ हालेको सूर्यमुखी तेललाई शुक्रवार दुई सय ८० रूपैयाँ तिरेर किनिन् । बजारमा एक हप्तामै खाने तेलको मूल्य ३० रूपैयाँ बढेको हो । वीरेन्द्रनगर–१५ रतुकी सीता चपाईंले निषेधाज्ञा पहिले आधा लिटर तेल एक सय २० रूपैयाँमा किन्ने गरेकी थिइन् । अहिले स्थानीय बजारमा आधा लिटर खाने तेलको पोकालाई एक सय ६० सम्म तिर्नुपरेको उनी बताउँछिन् । ‘तेल नभइ भान्सा चल्दैन । उनी भन्छिन्, ‘जे अत्यावश्यक छ व्यापारीले त्यसमै मनोमानी मूल्य बढाएका छन् ।’

कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले यही वैशाख १४ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवधिमा खाद्य सामग्री सहज आपूर्ति भइरहे पनि व्यापारीले भने आफूखुसी मूल्य निर्धारण गरेर बेच्ने गरेका हुन् । चामल, दाल, तेलजस्ता भान्सामा नभइ नहुने खाद्य वस्तुमा मनपरी मूल्य असुल्ने गरिएको हो । एक साताको अवधिमा वीरेन्द्रनगर बजारमा चामल प्रतिबोरामा एक सयदेखि दुई सयसम्म मूल्य बढाइएको छ । व्यापारीहरूले आपूर्ति सहज नभएको बहाना बनाउँदै खाद्यवस्तुमा चर्को मूल्य बढाएका हुन् । महंगीबारे व्यापारीलाई सोध्दा सामान सर्टेज भएको र उद्योगबाटै रेट बढेर आएको बताउने गरेका छन् । पाँच–सात दिनमै बजारमा मंहगी निकै बढेको उपभोक्ताको गुनासो छ । वीरेन्द्रनगरभन्दा जिल्लाका अन्य ग्रामीण भेकका बजारका उपभोेक्ता झन् महँगीको मारमा परेका छन् । निषेधाज्ञाका कारण ज्यालामजदुरी गरेर गुजरा चलाउनेहरूले काम समेत पाएका छैनन् । रोजगारी गुमाएर घरमै बसेका बेला उनीहरूलाई बजारको महँगीले थप सताएको छ ।

आपूर्ति सहज भए पनि महँगी बढेको स्वयम् व्यापारीहरू बताउँछन् । वीरेन्द्रनगर–३ का रहेको वली सप्लायर्सका सञ्चालक टीका वलीले निषेधाज्ञाको समयमा खाद्य सामग्रीको मूल्य केही बढेको बताए । पहिले एक हजार ६ सय हालेर खरिद गर्ने गरिएको चामललाई अहिले आफूहरूले नै एक हजार सात सय रूपैयाँ तिर्नु परेको वलीले सुनाए । ‘चिनी समेत प्रतिकिलो १० रूपैयाँ बढेर आएको छ । सामान नपाउने समस्याभन्दा पनि मूल्य बढेर आएको हो,’ उनले भने । उत्पादन हुने ठाउँबाटै मूल्य बढाइएकाले आफूहरू बढेकै रेटमा सामान बेच्न बाध्य भएको उनको भनाइ छ  ।

वीरेन्द्रनगर–१५ निगालपानीमा रहेको कुवेर खाद्य तथा किराना पसलका सञ्चालक डम्बर खत्रीले पछिल्लो एक सात खाद्य वस्तुमा अचाक्ली मूल्य वृद्धि भएको बताए । उनका अनुसार गाउँमा व्यापार गर्नेलाई निषेधाज्ञाका कारण आपूर्तिमा समेत समस्या भएको छ । व्यापारी र उपभोक्ताले बजारमा खाद्य सामग्रीहरूको मूल्य आकासिएको बताए पनि सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेल भने बाहिरबाटै सामान महँगो भएर आएको बताउँछन् । ‘सुर्खेतमा खाद्य सामग्रीका उद्योगहरू छैनन् । बाहिरबाटै सामान महँगो भएर आएको छ,’ उनले भने । व्यापारीहरूले सामान लुकाएर कृत्रिम अभाव नगरेको र मनोमानी मूल्य समेत नलिएको उनले ठोकुवा गरे । उनी भन्छन्, ‘कम्पनीबाटै महँगो भएर आएको सामानलाई व्यापारीले महँगोमै बेच्नु बाध्यता हो ।’ कँडेलले बजारमा विभिन्न निकायले नियमित जसो अनुगमन गरिरहेकाले कालो बजारी र कृत्रिम अभाव जस्ता समस्या नरहेको दाबी गरे ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले महँगी बढेको भन्ने खासै गुनासो प्रशासनमा नआएको बताए । ‘सामानको कृत्रिम अभाव र महँगी भए गुनासो गर्न पाइन्छ ।, उनले भने, ‘तर यस्तोखालको गुनासो अहिले आएको छैन,’ उनले भने । प्रशासन कार्यालयले दैनिक सुर्खेत भित्रिने सामानहरूको बिलको एक प्रति सुब्बाकुना चेक पोस्टमा बुझाउनुपर्ने गरी निर्देश गरेको छ । सोही अनुरूप निगरानी समेत गरिएको सहायक प्रजिअ महतले बताए । उनका अनुसार एक–दुई दिनको फरकमा प्रशासनले बजार अनुगमन समेत गरिरहेको छ । बजारमा महँगी, कालोबजारी र वस्तुको कृत्रिम अभाव गर्ने जस्ता बेथिति देखिए प्रशासन कार्यालयमा खबर गर्न समेत उनले उपभोक्ताहरूमा अनुरोध गरेका छन् ।

तरकारी सस्तो

निषेधाज्ञाको अवधिमा अरु खाद्य वस्तुमा मूल्य बढे पनि फलफूल तथा तरकारीको मूल्य भने घढेको छ । पहिलेको भन्दा फलफूल र तरकारी सस्तोमा पाइन थालेको हो । बाहिरबाट आउने फलफूल तथा तरकारीजन्य वस्तुहरूको समेत मूल्य घटेको व्यापारीहरूले बताएका छन् । देवकोटा तरकारी तथा फलफूल मण्डीका सञ्चालक लक्ष्मण देवकोटाले तरकारीको मूल्य पहिलेको तुलनामा घटेको बताए । आलु र प्याजको मूल्य यथावत रहे पनि हरियो तरकारी काँक्रा, टमाटर लगायतको बजार मूल्य कम भएको हो । छिटो सड्ने भएकाले तरकारीको मूल्य झनै घटेको व्यापारीहरूको भनाइ छ । काँक्रा र टमाटरको मूल्य निकै घटेको छ,’ देवकोटाले भने, ‘पहिले ३५ रूपैयाँ किलो पर्ने काँक्रा अहिले २० रूपैयाँमा बिक्री भइरहेको छ ।’ तरकारी तथा फलफूल धेरै दिन राख्दा सड्ने भएकोले पनि मूल्य बढ्नुको साटो घटेको बताए । तरकारी पहिलेको तुलनामा निषेधाज्ञामा बिक्री समेत कम हुने गरेको देवकोटा बताउँछन् ।

प्रकाशित मितिः   २५ बैशाख २०७८, शनिबार ०५:०६