प्राणवायु जुटाउनेहरु
अस्पतालहरूमा अहिले अक्सिजनको अनिकाल छ । मेडिकल अक्सिजनको अभाव र महŒव उनैलाई थाहा छ, जसका आफन्त कोभिड संक्रमित भएर सिकिस्त छन् । श्वास फेर्न गाह्रो भएको छ । अस्पतालमा अक्सिजन दिएर उपचार गराइरनुपरेको छ । र, हरेक दुई–तीन घण्टामा अर्को सिलिण्डरको जोहो गरिरहनुपर्छ । पैसा हुँदैमा बजारमा जहाँत्यही किन्न पाइहाल्ने वस्तु पनि परेन । बेडमा अक्सिजन नपाएर बिरामी छट्पटाइरहँदा आफन्तको मन रहिसक्दैन । उनीहरू आत्तिन्छन् । आफ्नालाई सास फेर्न अप्ठ्यारो हुँदा कुरुवाको पनि गला अवरुद्ध हुने नै भयो ।
यिनको होस हराउँछ । ओ हो ! अब अक्सिजनको जोहो कहाँबाट गर्नु ?
फेरि, दिन समय यस्तो आयो, मान्छेसँग मान्छे डराएर हिँडिरहेका छन् । भौतिक मात्र कहाँ हो र भावनात्मक दूरी पनि टाढा छ । मानवीयताको उस्तै खडेरी ।
कोरोना महामारीको कहर छ । अस्पतालमा जटिल समस्या भएका संक्रमित मात्र भर्ना लिइन्छ । भर्ना हुने सबैजसोलाई अक्सिजन लगाउनु परिरहेको छ । श्वासप्रश्वासका बिरामीको पहिलो आवश्यकता अक्सिजन हो । अक्सिजन मास्क लगाएपछि मात्रै उनीहरूलाई अन्य उपचार गर्न सम्भव हुन्छ । प्राणवायु अक्सिजनका सिलिण्डरको भने खोसाखोस छ । संक्रमितका आफन्त अस्पताल यताउता अक्सिजनको खोजीमा भौतारिरहेका भेटिन्छन् । यी दृश्यले सरकारको स्वास्थ्य प्रणाली कमजोर मात्र होइन प्रष्टै उदाङ्गो देखिन्छ ।
एक साताअघि सरकारले देशवासीलाई सूचित ग¥यो र भन्यो, ‘थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शैड्ढया उपलब्ध गराउन नसकिने भइसकेको छ ।’ कोरोनाको दोस्रो लहरका कारण दिन प्रतिदिन संक्रमितहरू बढ्दै छन् । अस्पतालहरूमा बेड भरिएका छन् । त्यसैबेला आम सर्वसाधारण नागरिकलाई ढाडस दिनुपर्ने सरकारले हात खडा गरिदियो । उसले यस्तो भन्यो, ‘आफंै जोगियौं, आफैं बचौं । सरकारको भर नपरौं ।’
सरकारको भाषा र आशय जे होस्, उसको सन्देश गलत थियो । यस्तो बेला हुनुपर्ने त कोही नहुनेको सरकार नै हो । विडम्बना, सरकार पन्छियो । जिम्मेवारी बोध हुन्थ्यो भने हरेक नागरिकको स्वास्थ्य उपचारको प्रबन्ध मिलाउनु सरकारको दायित्व हो र उपचार पाउनु नागरिकको अधिकार ।
सामान्य अवस्थामै सिटामोल नपाउने सरकारी व्यवस्थापन छ । महामारीमा उपचार राम्रो पाइने अवस्था पक्कै छैन । झाडापखाला नियन्त्रणमा हम्मेहम्मे पर्ने सरकारलाई कोभिडसँग जुध्न सजिलो हुने कुरै भएन । तै सरकारले हातै उठाइहाल्नु हुन्थेन । नागरिक हुन् सरकारप्रति भरोसा त गरिरहन्छन् । नगर्नुको विकल्प पनि त छैन । अहिले केन्द्रदेखि गाउँसम्म थरीथरीका सरकार छन् । भएर मात्र के गर्नु ? आपतमा कहिले काम आउँदैनन् । आड न भरोसाका ।
१७ वैशाख । सरकारले उपचार गर्न सकिदैन भनेर हात खडा गरेको दिन थियो त्यो । उसैदिन सुर्खेतमा भने केही युवाले हात उठाए । संकल्प गरे, कोरोना संक्रमणले थलिएका बिरामीलाई सहायता गर्ने । महामारीविरुद्ध स्वतःस्फूर्त उठेका हात थिए ती । सामाजिक सञ्जालमा ‘कोभिड हेल्प समूह सुर्खेत’ सुरू भयो । सामाजिक अभियन्ताहरू धर्मराज आचार्य, सुदीप पुरी, मिलन श्रेष्ठ र खगेन पुरीले संयुक्त रूपमा अभियानको थालनी गरे । आचार्य यसअघि यस्ता थुप्रै अभियानमा जोडिएका छन् । गत वर्षको लकडाउनमा बाँकेको नेपालगञ्जमा अस्पताल आउने बिरामी र कुरुवालाई २० रूपैयाँमा खाना खुवाउने अभियानकर्तामध्येका एक हुन् उनी । पुरी, श्रेष्ठ र खगेन पनि सामाजिक अभियानहरूमा आवद्ध भइरहन्छन् । यस्ता अभियानमा साथ दिन रुचि राख्ने उनीहरू चार जनाको समूह बन्यो । पुरी र श्रेष्ठ पेसाले पत्रकार हुन भने खगेन बैंकमा कार्यरत छन् ।
‘के गर्नु आपतमा सरकार आफ्नो हुँदैन,’ हामी साथीहरू मिलेर संक्रमितलाई केही सहायता गर्न सकिन्छ कि भनेर लागेका हौं,’ अभियानकर्ता मध्येका एक पुरीले भने, ‘अभियान झाँगिदै छ । सहयोग पनि राम्रै जुटिरहेको छ ।’ संक्रमणसँग जुध्न नागरिकस्तरबाट थालिएको एउटा गतिलो प्रयास हो यो । पुरीले भनेजस्तै विपद्मा सरकारभन्दा अभियानकर्ता सर्वसाधारणका लागि ‘भगवान’ बनेर उभिन्छन् । जसले जोखिम मोल्दै दिल खोलेर सहयोग गर्छन् ।
आफै कसरी जोगिने भन्ने बेला यस्तो अभियान चलाउनु पक्कै सहज थिएन । तर, सुर्खेतका यी युवाले कोभिडका सिकिस्त बिरामीलाई सास बाँड्ने आँट गरे । सुरूमा सामाजिक सञ्जाल फेसबुकमार्फत ‘कोभिड संक्रमितका लागि अक्सिजन सिलिण्डर खरिद गर्न मेरो एक हजार’ अभियान चलाइयो । अहिलेको भर्चूअल दुनियाँ त भइगयो, अभियान एकाएक देश–विदेशमा पुग्यो । थुप्रैले चासो देखाए, धमाधम आर्थिक सहयोग जुट्न थाल्यो ।
‘अहिलेसम्म अभियानलाई सयौं व्यक्तिहरूले एक हजारदेखि ५० हजारसम्म सहयोग गरिसक्नु भएको छ,’ पुरीले भने, ‘सिलिण्डर अभियानका लागि शुक्रवारसम्म तीन सय ५० जनाले आर्थिक सहयोग गर्नुभएको छ ।’ उनका अनुसार त्यहीँ हाराहारीमा सहयोग गर्ने प्रतिबद्धताहरू आएका छन् । झण्डै पाँच लाख रकम संकलन भइसकेको छ । त्यहीँ रकमबाट आपूर्तिकर्तासँग अक्सिजन खरिद गरी सरकारी तथा निजी अस्पतालमा उपचारत बिरामीलाई वितरण गर्ने गरिएको छ । जुटेको सहयोग र भएको खर्चबारे दैनिक फेसबुक पेजमार्फत पारदर्शी रूपमा जानकारी दिने गरिएको छ ।
‘अहिले खाली सिलिण्डर पाउन पनि मुस्किल छ । सिलिण्डर खोजेर समेत भर्न पठाइरहेका छौं,’ अभियाकर्ताहरू भन्छन्, ‘कोभिड संक्रमित भएर अस्पतालमा अक्सिजनको अभाव खेपिरहेका, होम–आइसोलेसनमा रहेका, दमका दीर्घ रोगी र सुत्केरी महिलाहरू जसलाई अक्सिजन दिएर उपचार गर्नुपरेको छ उनीहरूलाई समेत सहयोग गर्दै आएका छौं ।’
अभियान थालेको करिब एक साता पुगेको छ । यो अवधिमा बिरामीहरूलाई २८ वटा सिलिण्डर निःशुल्क रूपमा वितरण गरिएको पुरीले बताए । आफूहरूसँग पहुँच नहुने सर्वसाधारणले अक्सिजनका लागि बढी सम्पर्क गर्ने गरेको उनी सुनाउँछन् । सहयोगी दाताबाट संकलित रकमबाटै अभियानकर्ताहरूले केही दिन यतादेखि प्रदेश अस्पतालमा उपचाररत कोभिड संक्रमितलाई डाक्टरको सल्लाह बमोजिम पोषिलो खाजा समेत खुवाइरहेका छन् । सुरूमा ई–सेवामार्फत सहयोग रकम जुटाएको समूहले अहिले सनराइज बैंंकको सुर्खेत शाखामा खाता सञ्चालन गरेको छ । कोभिड संक्रमितको उपचारमा सहयोग गर्न चाहनेले सनराइज बैंकको ०६५०८७७४८१२०५००१ नम्बरको खातामा सक्दो रकम जम्मा गरिदिन अभियानकर्ताहरूको अनुरोध छ ।
अस्पतालहरूमा अन्य स्वास्थ्य सामग्रीको पनि उस्तै अभाव छ । अक्सिजननै सहयोग गर्ने सोच कसरी आयो ? भन्ने जिज्ञासामा पुरीले यसमा एउटा घटनाले आफूहरू बढी प्रभावित भएको बताए । अभियान थाल्नु केही दिनअघि यी अभियानकर्ताका दुई जना साथीहरू पनि कोभिड संक्रमण भएर प्रदेश अस्पतालमा भर्ना भएका थिए । उनीहरूको स्वास्थ्य अवस्था बुझ्न उनीहरू दैनिक भीडीओ कल गर्थे । यही क्रममा साथीहरूले अक्सिजन नपाएर कतिपय संक्रमित छट्पटाइरहेको सुनाउँथे । पुरीले भने, ‘त्यसपछि मैले अस्पतालमा पनि बुझे, हो रहेछ । ‘अक्सिजनको हाहाकार भएको थाहा पायौं । हामीले दोस्रो लहरमा संक्रमित भएका अधिकांशलाई अक्सिजन दिएर उपचार गर्नुपरिरहेको पनि देख्यौं । जसले गर्दा अक्सिजन नै जुटाउने गरी अभियान चलाएका हौं,’ उनले भने ।
अहिले यी अभियानकर्ता सबैका मोबाइल फोनमा तारन्तार कल आइरहन्छन् । तीमध्ये केही कल सहयोग गर्न चाहनेका हुन्छन् भने अधिकांश सहयोग माग्नेका । ‘सर म फलानो ठाउँबाट बोल्दै छु । मेरो आफन्त अस्पतालमा हुनुहुन्छ । अवस्था सिकिस्त छ । डाक्टरले अक्सिजन दिनुपर्छ भन्नुभएको छ । यहाँ अक्सिजन पाइएन । जसरी हुन्छ मिलाइदिनु प¥यो ।’ जब अक्सिजनको अभावले छट्पटिएका बिरामीका आफन्तले अत्तालिएर फोन गर्छन् अनि अभियानकर्ता त्यसको जोहोमा तत्कालै जुट्छन् । ‘पहुँच हुनेले कतै न कतैबाट पाइरहेकै छन्,’ पुरीले भने, ‘हामीसँग सहयोग माग्ने धेरैजसो सर्वसाधारण हुन्छन् ।’
उसो त यो समूहले प्रदेश अस्पतालमै कार्यरत एक जना डाक्टरको आमालाई समेत अक्सिजनको प्रबन्ध गरिदियो । आफ्नै आमाको उपचारका लागि अक्सिजन व्यवस्थापन गर्न नसकेका ती डाक्टरले यही समूहसँग गुहार मागे । ‘खासगरी सर्वसाधारणले नै सहयोग माग्ने गर्नुभएको छ । दिनमा एक जनालाई मात्र त्यस्तै ५०–६० कल फोन आइरहन्छन् । अभियान पनि पहुँच नहुनेहरूका लागि भनेरै लक्षित गरिएको हो । तर, डाक्टरदेखि वडा अध्यक्षसम्मले अक्सिजन मिलाइ दिन अनुरोध गर्ने गर्नुभएको छ । सम्भव भएसम्म सहयोग गरिरहेकै छौं,’ अर्का अभियानकर्ता श्रेष्ठ भन्छन् ।
पछिल्लो समय कोभिडका बहुसंख्यक बिरामीलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था छ । महामारीलाई धान्ने गरी सरकारी तयारी थिएन÷छैन । दोस्रो लहरको सुरूआती अवस्थामै पनि अस्तालहरूले अक्सिजन अभाव खेपिरहेका छन् । अक्सिजनको संकट आज पनि उस्तै छ । तत्कालै टरिहाल्ने अवस्था पनि देखिँदैन । बिरामी थपिँदै जाँदा अभाव झन् चुलिँदो छ । यही समूहले अक्सिजन जोहो गरेर दिन थालेपछि प्रदेश अस्पतालमा समेत उपचार व्यवस्थापनमा केही सहज भएको छ । ‘यस्ता महामारी एकल प्रयासले जित्न सकिदैन । राम्रो कामको सुरूवात गर्नुस् साथ दिनेहरूको लस्कर लाग्दो रहेछ,’ आचार्यले भने, ‘संकटका बेला सरकारले मात्रै सबै व्यवस्थापन गर्न सक्दैन, यो हाम्रो पनि दायित्व हो ।’
अहिले सुर्खेती यिनै युवाहरूको अभियानले सामाजिक सञ्जालमा स्याबासी मात्रै पाएको छैन दर्जनौंले प्राणवायु पाएका छन् । जो मृत्युको मुखबाट फर्किए अब उनीहरूले यिनलाई हरेक सासमा सम्झनेछन् ।
प्रकाशित मितिः २६ बैशाख २०७८, आईतवार ०४:५९
साझा बिसौनी ।