स्वास्थ्य जनशक्ति करारमा लिइँदै
कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा आवश्यक स्वास्थ्य जनशक्ति करार सेवामार्फत भर्ना गर्ने भएको छ । रिक्त दरबन्दीमा आवश्यकताअनुसार तत्काल जनशक्ति पदपूर्ति गर्न लागिएको हो । त्यसका लागि प्रदेश मन्त्रिपरिषद्को बैठकले आवश्यकताअनुसार तत्काल जनशक्ति पदपूर्ति गर्न सम्बन्धित जिल्ला अस्पतालहरूलाई अधिकार दिएको छ । पछिल्लो समय अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूको अभाव छ ।
सरकारकी प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले मन्त्रिपरिषद्को बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीको रिक्त दरबन्दी भएका ठाउँमा सम्बन्धी जिल्ला अस्पतालहरूले आफै पदपूर्ति गर्न मिल्ने गरी अधिकार दिइएको बताइन् ।
मन्त्रिपरिषद् बैठकले पाँचौ तहका स्वास्थ्यकर्मीहरूको छनोटका लागि अन्तरवार्ता बाहेकको योग्यता क्रम (शैक्षिक योग्यता, कार्यअनुभव, स्थानीय तह र समावेशी ) का आधारमा गरिएको सूचीबाट विज्ञापन गरिएको संख्या भन्दा नबढ्ने गरी करारमा कर्मचारी नियुक्ती गर्न स्वास्थ्य सेवा निर्देशनालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
‘निर्देशनालयलाई स्वीकृत दिइएको छ । अब दरबन्दी रिक्त भएको ठाउँमा सम्बन्धित अस्पतालले नै स्वास्थ्यकर्मी नियुक्त गर्नेछन्,’ मन्त्री केसीले भनिन् । कर्णालीमा अहिले कुल दरबन्दीको एक तिहाई मात्रै स्वास्थ्यकर्मी कार्यरत छन् ।
प्रकाशित मितिः २५ बैशाख २०७८, शनिबार ०५:०१
साझा बिसौनी ।