तीन हजार बढी सक्रिय संक्रमित

कर्णालीमा कोरोनाका कारण हालसम्म ८० जनाको मृत्यु

कर्णाली प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार नाघेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शुक्रवार पाँच सय ९९ संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा कोरानाका ‘एक्टिभ केस’ तीन हजार दुई सय ४७ पुगेका छन् । शुक्रवार नौ सय ३५ जनाको परीक्षण गर्दा पाँच सय ९९ जनामा संक्रमण पुष्टि भएको हो । सुर्खेतमा चार सय ४२, दैलेखका ९४, जाजरकोटका ८७, रुकुम–पश्चिमका ७९, सल्यानका ६७, कालिकोटका ३१, डोल्पाका चार जुम्लाका दुई र कर्णालीमा रहेका अन्य प्रदेशका सात जनामा कोरोना संक्रमण देखिएको हो ।

सक्रिय संक्रमित सबैभन्दा बढी सुर्खेतमा छन् । यहाँ एक हजार सात सय ९६ जना सक्रिय संक्रमित छन् । पछिल्लो तथ्याङ्कअनुसार दैलेखमा तीन सय ७०, सल्यानमा दुई सय ९९, रुकुमपश्चिममा दुई सय ४२, जाजरकोटमा दुई सय ८७, कालीकोटमा एक सय ६५, डोल्पामा ३५, मुगुमा २९, हुम्लामा १६ र जुम्लाका आठ जना संक्रमित रहेको निर्देशनालयले जनाएको छ । यस्तै, शुक्रवार ५० जना संक्रमणमुक्त भएका छन् भने सात जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८० जना पुगेको छ ।

यसैबीच, देशभर शुक्रवार नौ हजार एक सय ९६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई हजार नौ सय पाँच जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६ सय २९ पुगेको छ । कोरोना संक्रमणका कारण शुक्रवारसम्म थप ५० जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या तीन हजार पाँच सय ७९ पुगेको छ ।

प्रकाशित मितिः   २५ बैशाख २०७८, शनिबार ०५:००