प्रदेश ६ का पाँच जिल्लामा चर्कियो विवाद

mugu

स्थानीय तहको पुनर्संरचनाको प्रस्तावमा प्रदेश नम्बर ६ अन्तर्गतका पाँच जिल्लामा चर्को विवाद देखिएको छ । यो प्रदेशका १० जिल्लामध्ये पाँच जिल्लामा सहमति जुटेको भए पनि अन्य पाँच जिल्लामा असन्तुष्ट नागरिकहरू सडकमै ओर्लिएका छन् । प्राविधिक समितिले केन्द्रमा पठाएको खाकामा असन्तुष्टी जनाउँदै आन्दोलन सुरु भएपछि यो प्रदेशका पाँच जिल्लामा विवाद थप बढ्दै गएको हो । दैलेख, जुम्ला, मुगु, सुर्खेत र रुकुमको असन्तुष्टी सडकमै आएको छ ।

चार नगर र चार गाउँपालिका प्रस्ताव गरिएको सुर्खेतमा पर्याप्त छलफल विनै प्रस्ताव केन्द्रमा पठाइयो । त्यसको विरोधमा साटाखानीका बासिन्दा प्रदर्शन र धर्नामा उत्रिए । आफूहरूका चाहना विपरित रातारात अन्यत्रै गाभिएको भन्दै उनीहरूले साटाखानीलाई वीरेन्द्रनगरमा गाभ्नुपर्ने माग राख्दै आएका छन् । विवादकै कारण केन्द्रबाटसमेत उक्त प्रस्ताव फिर्ता आएको छ । यद्यपि दलहरू अब साटाखानीलाई पनि स्थानीयको माग अनुसार वीरेन्द्रनगरमा गाभ्न सहमत भएका छन् । तर यसको अन्तिम टुङ्गो भने लागेको छैन । जसको कारण साटाखानीबासीले अहिले पनि आशंका गरिरहेका छन् ।

यस्तै दैलेखमासमेत चर्को विवाद छ । दुल्लू नगरपालिकामा गाभिएका जिल्लाका गमौडी, मालिका, कालभैरव र गौरी गाविसका बासिन्दाले छुट्टै गाउँपालिका हुनुपर्ने भन्दै सदरमुकाममा दिनहुँ प्रदर्शन गरिरहेका छन् । आफूहरूको चाहना विपरित दलहरूले रातारात नगरपालिकामा गाभेको विरोधमा उनीहरूले सडकसमेत अवरुद्ध गरिरहेका छन् । चार नगर र सात गाउँपालिका सिफारिस भएको दैलेखमा छुट्टै गाउँपालिका नभएसम्म आन्दोलन फिर्ता नलिने आन्दोलनरत पक्षको अडान छ । आन्दोलनकारीले अहिले पनि सडक अवरोध जारी राखेका छन् । दैलेखमा यसको समाधानका लागि हालसम्म कुनै ठोस पहल भएको छैन । जिल्ला तहका नेताहरूले गरेको सहमतिको खाकालाई गाउँस्तरका नेता तथा कार्यकर्ताहरूले अस्वीकार गर्दै आएका छन् । दैलेखमा जनताको आक्रोश थप बढ्दो छ ।

अर्कोतर्फ यो प्रदेशको मुगुमा पनि असन्तुष्ट नागरिकले जिल्लाका सबै सरकारी कार्यालय नै बन्द गरेर विरोध जनाए । चार गाउँपालिका सिफारिस भएको मुगुमा रारा, धैनकोट र कालैका बासिन्दाले छुट्टै गाउँपालिका माग्दै आएका छन् । आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा दर्जनौं घाइते भए । यहाँको विवादले उग्ररूप लिएको छ । आफ्नो चाहना विपरित स्थानीयतहको खाका केन्द्रमा पठाइएको र दलहरूले केबल आफ्नो अनुकूलको पुनर्संरचना गरेको स्थानीय बासिन्दाको आरोप छ । भौगोलिक सुगमता र पहँुच भन्दा पनि हचुवाको भरमा खाका पठाइएको जनताको आक्रोश छ । जुम्ला र रुकुममा पनि विवाद उत्पन्न भएको छ । एक नगर र सात गाउँपालिका सिफारिस भएको जुम्लामा ताम्ती क्षेत्रका बासिन्दाले आन्दोलन चर्काएका छन् । तातोपानीमा गाभिएको बिरोधमा आन्दोलन गर्दै आएका ताम्तीका बासिन्दाले आफ्नो गाविसलाई तीला गाउँपालिकामा गाभ्नुपर्ने माग गरिरहेका छन् । पहुँच र सहजता भन्दा पनि दलहरूले पार्टीको स्वार्थमा खाका पठाएको स्थानीयको आरोप छ । यस्तै जुम्लामा इलाका नम्बर ९ लाई टुक्राउन नहुने र छुट्टै गाउँपालिका बनाउनुपर्ने माग चर्को रूपमा उठेको छ ।

रुकुममा पनि असन्तुष्टी देखिएको छ । स्थानीय तहमा छलफल नै नगरी दलहरूले आफूखुशी खाका पठाउन दबाब दिएपछि विवाद पैदा भएको हो । केन्द्रले जिल्लामा बढीमा आठ वटा स्थानीय तह प्रस्ताव गर्न भने पनि दलहरू आठ र १० तह बनाउने विषयमा बाझिएका छन् । अर्कोतर्फ गाउँपालिकाको केन्द्र तोक्ने र वडा विभाजनमा पनि सहमति हुन सकेको छैन । केन्द्र तोक्ने विषयमा रुकुममा पनि चर्को विवाद छ । पहिलो चरणमा केही विवाद देखिएको भए पनि दोस्रो चरणको खाका केन्द्रमा सिफारिस गर्दा यो प्रदेशका जाजरकोट, सल्यान, कालिकोट,
डोल्पा र हुम्लामा भने विवाद देखिएको छैन । यी पाँच जिल्लाबाट प्रस्ताव भएको खाकामा असन्तुष्टी बाहिर आएको छैन ।

यी जिल्लाका नागरिकहरू भने स्थानीय तहको पुनर्संरचनामा सन्तुष्ट रहेको यसले पनि पुष्टी गर्दछ । राजनीतिक दलहरूले आवश्यकता र माग बमोजिम नभइ आफ्नो पार्टीको अनुकूलताको आधारमा खाका पठाउँदा यो प्रदेशका पाँच जिल्लामा विवाद उत्पन्न भएको हो ।