सुन्दर कर्णालीको समृद्ध सपना

puspa-acharya‘सपना त्यो होइन जो निदाएको बेला देखिन्छ, सपना त्यो हो जसले निदाउन दिदैंन’ भन्ने भनाइ जस्तै भएको छ कर्णालीको सपना । कर्णालीले देखेको सपना साकार नभएरै कयौं कर्णाली बासीहरू अस्ताए । कर्णालीको सपना समृद्धि र सुरक्षित जिन्दगी हो । कर्णाली नेपालको यस्तो भू–भाग हो जहाँ हजारौं नदीनाला उपयोग विना नै बिरक्तिएर बग्दछन् । अमूल्य जडिबुटीहरू प्रशोधनको प्रतिक्षामा छन् । सुन्दर प्राकृतिक स्रोतहरू संरक्षणको खोजीमा छन् । कर्णालीको माटोले फलाउने भोकमरी र उकालोले दिने सास्ती घटेको छैन ।

कर्णालीमा बगेको पानी भन्दा बढी गैरसरकारी र सरकारी संस्थाको बजेट बगेको छ । सरकारी कर्मचारीहरू विकटता र राजनैतिक असमझदारीको चलचित्र देखाएर आर्थिक मनोरञ्जन लिन्छन् र सरुवा भएपछि कर्णालीको धज्जी उडाउँदै झुसिला डकार डर्काछन् । गैरसरकारी संस्थाहरू सफलताका कथा खोजेर दातृ संस्थालाई रिजाउँछन् र कर्णालीमा विकास भइसकेको हल्ला मात्रै फिजाउँछन् । कणालीबासी कर्मचारीहरूको सपना सुब्बा, शिक्षकको सपना प्रावि तह, राजनेताको सपना राज्यमन्त्री र युवा नेताहरूको सपना विभिन्न पार्टीका चल्ला सङ्गठनको केन्द्रित सदस्य मात्रै किन ? प्राकृतिक दृष्यको अनुपम भण्डार, भौगलिक जटिलताको केन्द्र, अभाव र अनिकालको उद्गम स्थल मात्रै हो या समृद्ध नेपालको स्रोत हो कर्णाली ?

नेपालको औसत आयु ६९ वर्ष पुग्दा पनि कर्णालीको औषत आयु ४६ वर्ष मात्रै छ । नेपालका ७३ वटा जिल्लामा मोटर बाटोको रेखाले छोइसक्दा पनि कर्णालीका २ जिल्ला कहिलेसम्म हवाइजहाजको बाटो हेरेर दिन काट्ने होलान ? कलिला विद्यार्थीको राम्रो स्कुल पढ्ने सपना, परिश्रमी किसानको आफ्नै उत्पादनले पेट पाल्ने सपना, दक्ष नेताको शक्तिशाली मन्त्री बन्ने सपना, अधवैंशे उमेरमै मृत्युको शिकार हुनु नपर्ने बिरामीको सपना, २१ औं शताब्दीमा पनि छुवाछुतको साङ्ग्लोबाट उन्मुक्त हुने दलितको सपना कहिले पूरा हुन्छ ? बगेका नदी हेरेर प्यास मेटाउनुपर्ने बाध्यता, अर्को जिल्लाका गाढी हेरेर गह्रौं भारी बोक्दै हिँड्नुपर्ने विवशताको अन्त्य नै कर्णालीको आधारभूत सपना हो ।

जन्मेको माटोले उब्जाएको यक्ष प्रश्नको उत्तर खोजेर कर्णालीबासी हैरान छन् । मुक्तिको मार्ग पहिल्याउन छानेका अगुवाहरू सहरको समृृद्धिमा विलिन हुँदै जन्मेको माटोमा फर्केर नआउनु पनि विडम्बना हो । कर्णालीको कान्लामा कमाएको सम्पति बोकेर बर्दिया र कैलालीका डुवान क्षेत्रमा बसाई सर्नुपर्ने अवस्थाको अन्त्य चहन्छन् कर्णालीबासीहरू । सुन्दरता भएर पनि कुरूपताको पगरी बेरिनु, सम्भावना भएर पनि अभावकै जातोमा पिल्सिरहनु कर्णालीको अर्को असन्तुष्टी हो ।

भौगलिक जटिलताको बीचमा बाँचेका जिन्दगीहरू आधुनिक विकासको आरामदायी आनन्द र नयाँ प्रविधि उपभोग गर्ने प्रतिक्षामा बसेका छन् । बलियो स्थानीय सरकारको गठन र दिगो वित्तीय विकेन्द्रीकरण गरी पूर्वाधार निर्माण गर्नु नै विकास पहिलो खुट्किलो हुनेछ । त्यसैगरी फरक आर्थिक सामाजिक संरचनाको समुचित समायोजन गर्ने र प्राकृतिक सम्पदाहरूको उचित व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ । यस प्रदेशमा नदी, ताल, मन्दिर, पर्यटकीय स्थलको कमी छैन तर यी सम्पदाहरूको संरक्षण र विकासको खाँचो देखिन्छ ।

कर्णालीको जल, जमिन र जंगलको सही उपयोग र संरक्षण विना यहाँको समग्र विकास हुन सक्दैन । कर्णाली नदीनाला, खोला र छहराको घेरामा रमाइरहेको जिल्ला हो । भिरालो जमिनमा बगेका खोलाको जलप्रवाह अत्यन्तै उच्च छ । नेपालकै लामो र जलविद्युत उत्पादनका दृष्टिले महत्वपूर्ण नदी कर्णाली र तिला यही क्षेत्रमा बगेका छन् ।

यातायत समग्र विकासको मेरुदण्ड हो । यातायातको विकास नभइ समाजको अन्य पक्षको विकासमा समेत प्रत्यक्ष प्रभाव पर्दछ । विकासको प्रमुख पूर्वाधार अन्तर्गत सडक सञ्जाल पर्दछ । कालीकोट जिल्लाको आर्थिक समृद्धिको लागि पर्यटन व्यवसायलाई समेत मुख्य आधार बनाउन सकिन्छ । किनकी यो जिल्ला समग्र कर्णाली क्षेत्रको मूल ढोका हो । यो बाटो भएर कर्णालीका सुन्दरता हेर्न आउने पर्यटकलाई यातायत, आवास र मनोरञ्जन दिएर आर्थिक उन्नति र रोजगारीको प्रवल सम्भावना छ । हरेक वर्ष करिब सात हजार पाँच सय विद्यार्थी एसएलसी उत्तीर्ण हुन्छन् तर व्यवसायिक शिक्षा नभएकोले विद्यालयहरू बेरोजगार जन्माउने कारखाना बनेका छन् । बेरोजगारलाई स्वरोजगार बनाउन सीपमूलक तालिम, लोकसेवा तयारी कक्षा र उद्योगको स्थापना आवश्यक छ । कर्णाली जल, जंगल र जडिबुटीका लागि प्रचूर सम्भावना रहेको क्षेत्र हो । पर्यावरणीय महत्वका हिसाबले पनि यो क्षेत्र प्रसिद्ध छ । उचाईको विविधतासँगै यस क्षेत्रमा जैविक विधिधता र सबै प्रकारका जडिबुटीहरू पाइन्छ । हालसम्म आयात बढी र निर्यात कम गर्दै आएको यस क्षेत्रको वनजन्य पैदावार, जडिबुटी निर्यात र प्रशोधनबाट महत्वपूर्ण आय भित्रयाउन सकिने सम्भावना रहेको छ । यहाँ बहुमूल्य जडिबुटीहरू प्रशस्तै पाइन्छन् । यी जडिबुटीको उचित उपयोग हुनसकेमा विकासमा फड्को मार्ने देखिन्छ ।

कर्णाली नेपालको सबैभन्दा धैरै क्षेत्रफल भएको अञ्चल, सबैभन्दा लामो नदी भएको प्रदेश मात्र होइन विश्वकै अग्लो ठाउँमा धान फल्ने जिउलो यही छ । नेपालकै ठूलो र राम्रो ताल रारा, गहिरो ताल फोक्सुन्डो पनि यही कर्णालीका उपहार हुन् । यति हुँदाहुँदै पनि कर्णाली समृद्धिको युगिन सपना देखिरहन्छ । विश्वमै नभएका पञ्चदेवल, ढुङ्गे धारा, मागल र झोडा संस्कृति पनि यही प्रदेशका सम्पति हुन् । यी तमाम प्राकृतिक र सांस्कृतिक सम्पदाको उचित प्रबद्र्धन र विकासको बाटोमा गन्तव्य भेटाउने सपना साकार होस् ।

प्रकाशित मितिः   १५ मंसिर २०७३, बुधबार २३:४३