मूर्तिचोर खोज्न धामीको शरणमा
प्रशिद्ध चन्दननाथ मन्दिर भित्रका २८ वटा मूर्ती चोर पत्ता लगाउन जुम्लावासी धामीको शरणमा पुगेका छन् । यहाँका देवी देउता भाकल गर्ने र पुजा गर्ने कार्यलाई तिव्रता दिइएको छ । बुधबार जुम्लीबासीले विश्वास र आस्थाका रुपमा मानेका वाविरा मन्दिराक धामी(झाँक्री) ल्याएर चन्दननाथ मन्दिरमा मेला लगाउनुका साथै भाकल गरेका हुन् । तातोपानी गाविसमा पर्ने उक्त वाविराको मन्दिरदेखि ती घण्टा पैदल यात्रा गरी बाजागाजा सहित सदरमुकाम खलंगासम्म झाँकी चोर पत्ता लगाउन चन्दननाथ मन्दिरमा पुगेका थिए ।
बुधबार बिहान ११ बजे पुगेका धामीहरुले चन्दननाथ र भैरवनाथको मन्दिरमा पुजाआजा गरी घटनासम्बन्धी गेडा हेराउने (चामलको अक्षता राखेर जानकारी लिने) काम गरेका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको उपस्थितिमा झाँकी मेला गरिनुका साथै हेराउने काम भएको थियो । ‘यहाँका स्थानीयको मान्यता र आस्थालाई हामीले सम्मान गर्नुपर्छ,’ प्रजिअ पण्डितले भने, ‘स्थानीयको आग्रहमा झाँकी मेलामा उपस्थित भएको हुँ, आध्यात्मीक क्षेत्रबाट स्थानीयले स्वतःस्फुर्त रुपमा चालेको अभियानलाई हामीले नकार्न सक्दैनौं । त्यसैले स्थानीयको मनशान्तिका लागि पनि आध्यात्मीक अनुसन्धानलाई रोग लगाइएको छैन ।’
मुर्ति चोरी भएपछि छटपटाएका जुम्लीबासीले धामीझाँक्री हेराउने तथा मन्दिरमा पुजा गर्ने कार्यलाई तिव्रता दिएका छन् । चन्दनाथ गुठी समितिका अध्यक्ष गौरीनन्द आचार्यका अनुसार प्रत्येक दिन विहानैभरी विभिन्न धामीहरुलाई ल्याएर धुमेलो (हेराउने कार्य) गरिँदै आएको छ । सदरमुकामका महिलाहरुले चोर पक्राउका लागि भन्दै रातभर मन्दिरमा आगो बालेर खडराती (जाग्राम) बस्ने गरेका छन् । मन्दिर चोरी भएपछि यहाँका पसलहरु दैनिक जसो बन्द हुने गरेका छन् । स्थानीय नागरिकहरु मन्दिरका पुजारीलाई प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित भएका छन् भने, चोरीको घटनाबारे ठोस प्रमाण बाहीर नआएसम्म बजार नखुलाउने चेतावनी दिएका छन् ।
चन्दननाथको मूर्ती चोरी भएपछि लगातार चारदिनदेखि जुम्ली जनता सडकमा ओर्लिका छन् । मुर्ति चोर पत्ता नलगाएसम्म प्रशासनलाई दबाव दिने र स्थानीय नागरिक स्तरबाट पनि अनुसन्धान कार्यलाई तिव्रता दिने भन्दै गत आइतबारदेखि सडकमा ओर्लिएका जुम्लीबासी बुधबारपनि पनि आफ्नो व्यवसाय बन्द गरी सडकमा ओर्लिएका हुन् ।
केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले पनि अनुसन्धान कार्य जारी राखेको छ ।
प्रकाशित मितिः १६ मंसिर २०७३, बिहीबार १२:२९
साझा बिसौनी ।