कोभिड प्रतिकार्यमा प्रदेश प्रमुखको चासो

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोभिड–१९ रोकथाम तथा प्रतिकार्यका लागि प्रदेशभर भइरहेका प्रयासबारे जानकारी लिएका छन् । उनले बिहीवार कर्णालीका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी त्यसबारे चासो देखाएका हुन् । प्रमुख कलौनीले कोभिड रोकथाम तथा प्रतिकार्यका लागि भइरहेका गतिविधिबारे प्रजिअहरूसँग चासो व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

उनले संक्रमण फैलिन नदिन जारी निषेधाज्ञा र त्यसको पालनाको अवस्था, क्वारेन्टाइन, आइसोलेसन, कोभिड विशेष अस्पताल, चेकजाँच तथा उपचार व्यवस्थापनका सम्बन्धमा जिल्लागत रूपमा जानकारी लिएका हुन् । त्यसअवसरमा उनले प्रमुख जिल्ला अधिकारीहरूले कोभिड प्रतिकार्यमा देखाएको क्रियाशीलताको प्रशंसा गर्दै संक्रमणबाट आफू पनि जोगिन सचेत गराएका थिए ।

प्रकाशित मितिः   २४ बैशाख २०७८, शुक्रबार १०:४९