निषेधाज्ञामै चहलपह

वीरेन्द्रनगरका मुख्य चोक र बजार क्षेत्रमा हेर्दा लाग्छ, यस्तो पनि निषेधाज्ञा ! अनि, निषेधको अवज्ञा गर्दै निष्फिक्री हिँडिरहेका मानिसका लस्करले कोरोना महामारीलाई गिज्याँइरहेको भान हुन्छ ।

कोरोना भाइरस ‐कोभिड–१९) का संक्रमितको संख्या बढ्दै गएपछि संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले एक सातायता जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको प्रभाव भने न्यून छ । व्यक्ति, कार्यालय र संघ–संस्थाहरूले यसको पालना गरेका छैनन् । संक्रमित र मृतकको संख्या दिनहँु बढिरहे पनि संक्रमण नियन्त्रणकै लागि जारी निषेधाज्ञाको अवज्ञा भएको हो । निषेधाज्ञा पालना गराउने सम्बन्धित निकाय पनि चुकेको देखिन्छ । चोकचोकमा प्रहरी खटिए पनि निषेधाज्ञा पालना गराउन उनीहरू सक्रिय देखिदंैनन् । सडकमा मानिसहरू सामान्य अवस्थाकै जस्तो निस्किएका छन् । निषेधाज्ञामा पनि चहलपहल उस्तै छ ।

वीरेन्द्रनगरका मुख्य चोक र बजार क्षेत्रमा हेर्दा लाग्छ, यस्तो पनि निषेधाज्ञा ! अनि, निषेधको अवज्ञा गर्दै निष्फिक्री हिँडिरहेका मानिसका लस्करले कोरोना महामारीलाई गिज्याँइरहेको भान हुन्छ ।

निषेधाज्ञाभर अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन बन्देज छ । तर, साँझ र बिहानको समयमा विनाकामै मानिसहरू सडकमा निस्किरहेका भेटिन्छन् । खाद्यान्न लगायतका सामग्री खरिदका लागि प्रशासनले हरेक दिन बिहान तीन घण्टा अत्यावश्यक पसलहरू खोल्न दिएको छ । यही वाहनामा मानिसहरू विनाकाम बजारमा निस्कदा पनि भिडभाड हुने गरेको हो । सर्वसाधारणका लागि यो समय घरबाहिर निस्कने वाहना बनेको छ ।

 

यसअघि सुर्खेतमा यही वैशाख १४ गते राती १२ बजेदेखि २१ गते (मंगलवार राती १२ बजे) सम्म निषेधाज्ञा गरिएको थियो । मंगलवार पुनः वैशाख ३१ गते रातीसम्मका लागि निषेधाज्ञा थपिएको छ । कोरोना संक्रमण तीव्र बन्दै गएकाले संक्रमणको ‘चेन बे्रक’ गर्न गरिएको निषेधाज्ञा प्रभावकारी भने बन्न सकेको छैन । यतिबेला न हिँड्डूलमा निषेध छ न त आज्ञाको पालना नै भएको छ । सडकमा हिँड्ने केही व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गरेर पठाउने, कतिपयलाई कारबाही गर्ने गरे पनि सवारी साधनमा यात्रा गर्नेहरूलाई चेकजाँचमा कडाइ भएको पाइँदैन । जुनसुकै कार्यालय वा संघ–संस्थाको परिचय–पत्र बोके पनि प्रहरीले निगरानी नगरेरै छोडिदिने गरेको छ ।

निषेधाज्ञामा पनि सार्वजनिक यातायातका साधन यात्रु बोकेर अन्तर जिल्ला हुइँकिएकै छन् । निजी सवारी साधन पनि सडकमा बाक्लै देखिन्छन् । यो अवधिमा अधिकांश वित्तीय र गैरसरकारी संस्थाहरूले सेवा प्रवाह गर्दै आएका छन् । पूर्वाधार निर्माणका कामहरू पनि भइरहेकै छन् । निर्माणका कामलाई निरन्तरता दिँदा सडकमा मालवाहक सवारी साधन र कामदारहरूको चहलपहल निकै छ । वीरेन्द्रनगर बजार क्षेत्रका चिया र मदिरा पसलका आधा सटर खोलेर पुरानै अवस्थाको जस्तै व्यापार भइरहेको छ । सडकमा सवारी साधन उसैगरी गुडिरहेका छन् । यहाँका मुख्य चोक र बजार क्षेत्रमा हेर्दा लाग्छ, यस्तो पनि निषेधाज्ञा ! अनि, निषेधको अवज्ञा गर्दै निष्फिक्री हिँडिरहेका मानिसका लस्करले कोरोना महामारीलाई गिज्याँइरहेको भान हुन्छ ।


वीरेन्द्रनगरमा मात्र होइन महामारीसँग खेलाँची गरिरहेका दृश्य जिल्लाका अन्य क्षेत्रमा पनि देखिने गरेका छन् । सुर्खेतका पूर्वी र पश्चिमी क्षेत्रका साना बजारहरू खुला छन् भने मानिसहरू सामान्य अवस्था झै भेला र भेटघाट गरिरहेका छन् । प्रशासनले बजार सञ्चालनमा प्रतिबन्ध लगाए पनि ग्रामीण क्षेत्रका व्यापारीले त्यसको पालना गरेको पाइँदैन । त्यहाँ अत्यावश्यक बाहेकका पसल पनि निर्बाध रूपमा खुलेका छन् । मानिसहरू विना काममा हिँड्दा पनि प्रहरी चोकमा मूकदर्शक बनेर बस्ने गरेको स्थानीयको आरोप छ ।

सुरूमा एक साता निषेधाज्ञा जारी गरेको प्रशासनले २२ गते पुनः १० दिनका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दोस्रो चरणको निषेधाज्ञामा थप कडाइ गरिने बताएका थिए । तर, बजार क्षेत्रको अवस्था उनले भनेविपरीत छ । दोस्रो चरणको निषेधाज्ञामा उल्लंघन झनै बढ्दो छ । सर्वसाधारणहरू निषेधाज्ञा उल्लंघन गर्नमै उद्यत देखिन्छन् । जारी निषेधाज्ञा फितलो भएको जनगुनासो बढेसँगै प्रशासनले दोस्रो चरणमा थप कडाइ गरिने बताएको थियो ।

जिल्ला प्रशासन कार्यालयले विवाह, व्रतबन्ध र मृत्यु संस्कारमा १० जनाभन्दा बढी सहभागी हुन नपाउने, सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा पूर्णरूपमा रोक लगाउने भनेको छ । निषेधाज्ञाको अवज्ञा गरे एक महिनासम्म कैद वा एक सय रूपैयाँ जरिवाना र कार्यान्वयनमा बाधा पु¥याउनेलाई एक महिना कैद वा ६ सय जरिवाना हुने स्थानीय प्रशासनले जनाएको छ । अत्यावश्यक सेवा सञ्चालनमा समेत सीमित जनशक्तिको व्यवस्थापन गर्नुपर्ने, बजार, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी र मनोरञ्जन स्थलहरू पूर्णरूपमा बन्द गर्नुपर्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मितिः   २४ बैशाख २०७८, शुक्रबार १०:५६