अक्सिजनको व्यवस्थापन गर
कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै कर्णाली प्रदेशका विभिन्न अस्पतालहरूमा बिरामीको चाप बढेको छ । अक्सिजनसहित उपचार गर्नुपर्ने संक्रमित बढेका छन् । थपिने क्रम जारी नै छ । तर कर्णाली प्रदेशका अस्पतालहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीका लागि दिइने मेडिकल अक्सिजनको अभाव देखिएको छ । गम्भीर लक्षणसहितका संक्रमित बढेपछि अस्पतालमा अक्सिजनको माग पनि बढेको हो । कोभिड अस्पतालहरूमा अक्सिजनको माग साविकभन्दा दोब्बरले बढेको छ । तर विडम्बना के छ भने अस्पतालमा अक्सिजनका सिलिण्डरभन्दा भर्ना भएका सिकिस्त बिरामीको संख्या बढी देखिन्छ । यसले उपचारमा समस्या भइरहेको छ । समयमै अक्सिजन नपाएर ज्यान गुमाएका घटना समेत सार्वजनिक भइरहेका छन् ।
कर्णाली प्रदेशभरका सरकारी अस्पतालहरूमा साना ठूला गरी पाँच सय ६४ वटा अक्सिजनका सिलिण्डर छन् । आफ्नै प्लान्ट सञ्चालन गरेका केही अस्पतालमा पाइपलाइनबाट पनि बेडसम्म अक्सिजन सप्लाइ गरिएको छ । प्रदेश अस्पतालमा दुई वटा अक्सिजनका प्लान्ट पनि सञ्चालनमा ल्याइएको छ । यसले केही सहज बनाएको छ । तर यो पर्याप्त भने होइन । तत्कालका लागि संकट टरेपनि यहीँ दरमा संक्रमित थपिए त्यसले मात्र थेग्ने अवस्था छैन । कोरोनालगायत अन्य बिरामीका लागि दैनिक एक सय ३० वटा भन्दा बढी अक्सिजन सिलिण्डर आवश्यक पर्ने अस्पतालले जनाएको छ । अन्य अस्पतालभन्दा प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको संकट बढी नै झेल्नुपरेको छ । अन्यत्र जिल्लाबाट समेत रेफर भएर आउने हुँदा यहाँ बिरामीको चाप अधिक छ । अक्सिजन प्लान्ट सञ्चालनमा समेत निकै ढिलाइ भयो । जसका कारण चरम संकट समेत व्यहोर्नुप¥यो । समयमै प्लान्ट सञ्चालनमा ल्याउन अस्पताल र सम्बन्धित सरोकारवालाबाट बेवास्ता भएको देखिन्छ । अक्सिजनका दुई वटा प्लान्ट सुरू भएपछि स्थिति केही सामान्य हुँदै गएको छ । तथापि कोरोना संक्रमित मात्रै एक सयभन्दा बढी भर्ना भए अहिलेको क्षमताले धान्न नसक्ने अवस्था छ । चिकित्सकहरूका अनुसार भेन्टिलेटरमा राखिएका बिरामीलाई दुई÷तीन घण्टामा एउटा अक्सिजन सिलिण्डर फेर्नुपर्ने हुन्छ । जसले गर्दा अभाव कायमै छ ।
प्रदेशका १० जिल्लामा रहेका ठूलो क्षमताका सरकारी अस्पतालहरूमा साना ठूला गरी पाँच सय ६४ वटा अक्सिजनका सिलिण्डर छन् । आफ्नै प्लान्ट सञ्चालन गरेका केही अस्पतालमा भने पाइपलाइनबाट पनि बेडसम्म अक्सिजन सप्लाइ गर्ने गरिएको छ । कतिपय अस्पतालहरूमा अक्सिजन प्लान्ट भए पनि सञ्चालनमा ल्याइएका छैनन् । जिल्ला अस्पतालहरूमा अक्सिजन प्लाण्ट सञ्चालनको लागि प्रदेश सरकारले ५० लाख देखि ६० लाख बजेट पठाएको छ । जसमध्ये पाँचवटा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनको तयारीमा छन् भने जाजरकोट, सुर्खेतको मेहलकुना, दैलेख, आयुर्वेद अस्पताल सुर्खेत र मुगुमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढाइएको छ । बजेट समेत विनियोजन भइसकेपछि पनि योजना कार्यान्वयन नहुनु विगतदेखिकै समस्या हो । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको पूर्वाधार विकासमा यति हेल्चक्य्राइँ अक्षम्य हुन्छ । यसलाई आगामी दिनमा सुधार गर्ने र थप अक्सिजन प्लान्ट सञ्चालन गरी अभाव सिर्जना नहुने वातावरण बनाउन सम्बन्धित पक्षले ध्यान दिनु अपरिहार्य छ ।
प्रकाशित मितिः २४ बैशाख २०७८, शुक्रबार १०:४८
साझा बिसौनी ।