कर्णालीमा मेडिकल अक्सिजनको अवस्था यस्तो छ
कर्णाली प्रदेशका अस्पतालहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीका लागि दिइने मेडिकल अक्सिजनको अभाव देखिएको छ । कोरोना भाइरस ‐कोभिड–१९) का संक्रमित बढेपछि अस्पतालमा अक्सिजनको माग पनि बढेको हो । कोभिड अस्पतालहरूमा अक्सिजनको माग साविकभन्दा दोब्बरले बढेको छ । अन्य अस्पतालभन्दा प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको संकट बढी नै झेल्नुपरेको छ । अन्यत्र जिल्लाबाट समेत रेफर भएर आउने हुँदा यहाँ बिरामीको चाप अधिक छ । प्रदेश अस्पतालमा अक्सिजनका सिलिण्डरभन्दा भर्ना भएका सिकिस्त बिरामीको संख्या बढी देखिन्छ ।
प्रदेशभरका सरकारी अस्पतालहरूमा साना ठूला गरी पाँच सय ६४ वटा अक्सिजनका सिलिण्डर छन् । आफ्नै प्लान्ट सञ्चालन गरेका केही अस्पतालमा पाइपलाईनबाट पनि बेडसम्म अक्सिजन सप्लाइ गरिएको छ ।
प्रदेश अस्पतालमा आइतवारदेखि दुई वटा अक्सिजनका प्लान्ट पनि सञ्चालनमा ल्याइएको छ । तत्कालका लागि संकट टरेपनि यहीँ दरमा संक्रमित थपिए त्यसले मात्र थेग्ने अवस्था छैन । कोरोनालगायत अन्य बिरामीका लागि दैनिक एक सय ३० वटा भन्दा बढी अक्सिजन सिलिण्डर आवश्यक पर्ने अस्पतालले जनाएको छ ।
अस्पतालका कोरोना फोकल पर्सन डा. के.एन. पौडेलले अक्सिजनका दुई वटा प्लान्ट सुरू भएपछि स्थिति केही सामान्य हुँदै गएको बताए । कोरोना संक्रमित मात्रै एक सयभन्दा बढी भर्ना भए अहिलेको क्षमताले धान्न नसक्ने उनी बताउँछन् । डा. पौडेलले भेन्टिलेटरमा राखिएका बिरामीलाई दुई÷तीन घण्टामा एउटा अक्सिजन सिलिन्डर फेर्नुपर्ने बताए ।
प्रदेशका १० जिल्लामा रहेका ठूलो क्षमताका सरकारी अस्पतालहरूमा साना ठूला गरी पाँच सय ६४ वटा अक्सिजनका सिलिण्डर छन् । आफ्नै प्लान्ट सञ्चालन गरेका केही अस्पतालमा भने पाइपलाइनबाट पनि बेडसम्म अक्सिजन सप्लाइ गर्ने गरिएको छ । कतिपय अस्पतालहरूमा अक्सिजन प्लान्ट भए पनि सञ्चालनमा ल्याइएका छैनन् । बिरामीको सबैभन्दा बढी चाप हुने सुर्खेतस्थित प्रदेश अस्पतालमा जम्मा ७० वटा अक्सिजनका सिलिण्डर रहेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए । ‘हामीसँग ७० वटा सिलिण्डर छन्,’ उनले भने, ‘तीनै सिलिण्डर नियमित भर्ने र प्रयोग गर्ने भइरहेको छ ।’
अस्पतालमा अहिले ७० जना कोभिडका संक्रमित भर्ना भएका छन् । तीमध्ये अधिकांशलाई जटिल समस्या छ । सबै बिरामीलाई अक्सिजन लगाएर उपचार गर्नु परिरहेको छ । अक्सिजन पाइपलाइनसहितको बेड संख्या बढाउँदै लगिएको अस्पतालले जनाएको छ । सुर्खेतकै गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा १४ वटा अक्सिजन सिलिण्डर रहेको अस्पताल प्रमुख डा. सोजन सापकोटाले बताए ।
त्यस्तै, दैलेखमा दुई वटा ठूला सरकारी अस्पताल छन् । जिल्ला अस्पताल र दुल्लू अस्पताल धेरै बिरामीको उपचार गर्ने क्षमता भएका अस्पताल हुन् । यी अस्पतालले कोरोना संक्रमितको समेत उपचार गरिरहेका छन् । दुवै अस्पतालमा साना र ठूला गरी ७१ वटा अक्सिजन सिलिण्डर छन् । जिल्ला अस्पतालमा ३६ र दुल्लू अस्पतालमा ३५ वटा सिलिण्डर रहेका हुन् । दैलेखमा अक्सिजन प्लान्ट छैनन् । नेपालगञ्ज लगायतका ठाउँबाट खाली सिलिण्डर भरेर ल्याउने गरिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले तत्काल अक्सिजनको अभाव नरहे पनि बिरामीको चाप बढ्दै गएकोले समस्या हुन सक्ने बताए । उनका अनुसार जिल्ला अस्पतालमा भर्ना भएका २० जना कोरोना संक्रमितमध्ये १३ जनालाई अक्सिजन दिएर उपचार गरिरहनुपरेको छ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया पनि अघि बढाइएको उनले बताए । दुल्लू अस्पतालमा भने अहिले कोभिडका संक्रमित भर्ना भएका छैनन् ।
जिल्ला अस्पताल जाजरकोटमा ५० वटा अक्सिजनका सिलिण्डर छन् । अधिकांश सिलिण्डर खाली छन् । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका जनस्वास्थ्य अधिकृत टिकाराम जैसीका अनुसार तत्काल अभाव नभए पनि निकट भविष्यमा अक्सिजनको अभाव झेल्नुपर्ने देखिन्छ । अस्पतालमा आठ जना कोरोना संक्रमित भर्ना भएका छन् । तीमध्ये दुई जनालाई अक्सिजन लगाउनुपरेको छ । अस्पतालले अक्सिजन प्लान्ट निर्माणका लागि टेण्डर भइसकेको जनाएको छ ।
यस्तै, जिल्ला अस्पताल कालीकोटसँग जम्मा ४० वटा अक्सिजनका सिलिण्डर छन् । अस्पतालमा २७ जना कोरोना संक्रमित भर्ना भएका छन् । तीन जना सिकिस्त संक्रमितलाई अक्सिजन दिएर उपचार भइरहेको अस्पतालले जनाएको छ । त्यहाँ तत्काल अक्सिजनको अभाव छैन । तर, दैनिक संक्रमितको संख्या बढिरहेकाले अक्सिजनको माग समेत बढ्ने देखिएको छ ।
जिल्ला अस्पताल डोल्पामा १२ वटा सिलिण्डर र पाँच वटा कन्सन्रेटर (बत्ती र पानीद्वारा सञ्चालन हुने अक्सिजन) रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अम्मरसिंह शाहीले बताए । उनका अनुसार अस्पतालमा चार जना कोरोना भाइरसका संक्रमित भर्ना भए पनि उनीहरूको अवस्था सामान्य रहेको छ । यस्तै, हुम्ला अस्पतालमा तीन वटा अक्सिजन प्लाण्ट छन् । जसमध्ये दुई वटा सञ्चालनमा रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । उनकाअनुसार त्यहाँ अक्सिजन सिलिण्डर नभए पनि २३ बेडमा अक्सिजन पाइपलाइन जोडिएको छ । जिल्ला अस्पतालमा अहिले आठ जना कोरोना संक्रमित भर्ना भएका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सिंहले बताए ।
मुगु जिल्ला अस्पतालमा २१ वटा अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत रितिजा रावलले जानकारी दिइन् । अस्पतालमा रहेका सिलिण्डरमध्ये दुई वटा मात्रै भरी छन् । अन्य सबै खाली रहेको उनले जनाइन् । अहिले त्यहाँ तीन जना कोरोनाका संक्रमित अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । जटिल संक्रमित आए अक्सिजनको संकट हुने उनी बताउँछिन् ।
जिल्ला अस्पताल सल्यानमा २२ वटा अक्सिजन सिलिण्डर छन् । त्यहाँ १३ जना संक्रमित उपचाररत छन् । जिल्लामा उपचार गरिरहेका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठले बताए । रुकुम–पश्चिमको जिल्ला अस्पताल र चौरजहारी सामुदायिक अस्पतालमा गरी ६४ वटा अक्सिजनका सिलिण्डर छन् । जिल्ला अस्पतालमा ३९ र चौरजहारी सामुदायिक अस्पतालमा २५ वटा सिलिण्डर रहेको कोरोना फोकल पर्सन ईश्वर रावतले बताए । उनकाअनुसार खाली भएका २५ वटा सिलिण्डर भर्न पठाइएको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा भने अक्सिजनको अभाव छैन । प्रतिष्ठानले अस्पतालका लागि आवश्यक पर्ने अक्सिजन आफै उत्पादन गरिरहेको छ । कतिपय बेडहरूमा प्लान्टको पाइपलाइन जोडिएका छन् । अस्पतालसँग दुई सय वटा अक्सिजन सिलिण्डर रहेको अस्पतालका निमित्त निर्देशक डा. राजिव शाहले बताए । उक्त अस्पताल स्वास्थ्य प्रविधि र जनशक्तिका हिसाबले प्रदेशमै सबैभन्दा बढी मजबुत छ । कर्णालीको राजधानी सुर्खेतलगायतका जिल्लाबाट समेत त्यहाँ उपचारका लागि बिरामीहरू जाने गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल, प्रदेश अस्पताल सुर्खेत र रुकुम–पश्चिमको चौरजहारी अस्पताललाई ‘कोभिड विशेष’ अस्पताल समेत तोकिएको छ । अधिकांश कोरोना संक्रमितहरूले यी अस्पतालहरूमै उपचार गर्ने गरेका छन् । प्रदेशभरका सरकारी अस्पतालमा हाल ६२ वटा आईसीयू बेड र ३४ वटा भेन्टिलेटर छन् ।
पछिल्लो समय सरकारीमा मात्र नभइ निजी अस्पतालहरूमा पनि अक्सिजनको संकट हुने गरेको छ । निजी अस्पतालहरूले अक्सिजन सहज रूपमा आपूर्ति नहुँदा सिकिस्त बिरामीको उपचारमा समेत समस्या हुने गरेको बताएका छन् । कर्णालीमा अर्को प्रदेशबाट अक्सिजन सिलिण्डर भरेर ल्याउनुपर्ने बाध्यता छ । एच.ओ. अक्सिजन इण्डष्ट्रिज प्रा.लि. नेपालगञ्जका सञ्चालक रामु खड्काले सुर्खेतमा मात्रै दैनिक ६० देखि ८० सिलिण्डर खपत हुने गरेको बताए । उनको प्लान्टमा दैनिक एक हजार सिलिण्डर अक्सिजन उत्पादन हुुन्छ । अहिलेसम्म आफूहरूले प्रदेश अस्पतालमा मात्रै अक्सिजन सप्लाई गर्दै आएको उनी बताउँछन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले प्रदेशभरका सबै सरकारी अस्पताल तथा निजी अस्पतालहरूमा गरी करिब एक हजारको हाराहारीमा अक्सिजन सिलिण्डर हुन सक्ने बताए । ‘एकिन विवरण नभए पनि साना ठूला गरी एक हजारको हाराहारीमा अक्सिजनका सिलिण्डर होलान्,’ उनले भने । प्रदेशका जिल्ला अस्पतालहरूमा अक्सिजन प्लाण्ट सञ्चालनको लागि प्रदेश सरकारले ५० लाख देखि ६० लाख बजेट पठाएको छ । जसमध्ये पाँचवटा अस्पतालमा अक्सिजन प्लाण्ट सञ्चालनको तयारीमा छन् भने जाजरकोट, सुर्खेतको मेहलकुना, दैलेख, आयुर्वेद अस्पताल सुर्खेत र मुगुमा अक्सिजन प्लाण्ट निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
प्रकाशित मितिः २३ बैशाख २०७८, बिहीबार ०५:००
साझा बिसौनी ।