स्वाब दिने ठाउँमै जोखिम

वीरेन्द्रनगर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा छ । यहाँ दैनिकजसो ठूलो संख्यामा संक्रमित थपिने गरेका छन् । वीरेन्द्रनगरमा बुधवारसम्म एक हजार चार सय ७८ जना सक्रिय संक्रमित छन् । कोरोना परीक्षणका लागि वीरेन्द्रनगरमा अहिले हप्ताको तीन दिन स्वाब संकलन हुन्छ । नगरपालिकाले सोमवार, बुधवार र शुक्रवार स्वाब संकलन गर्दै आएको छ । बिहान ६ देखि ८ बजेसम्म स्वाब संकलन भइरहेको नगरपालिकाले जनाएको छ ।

लक्षण देखिएका कोरोनाका आंशकितलाई मात्र स्वाब दिन अनुरोध गरिए पनि परीक्षण गर्नेको भिड थेगिनसक्नु छ । ‘स्वाब दिनेको अत्यधिक भिडले झन् संक्रमण फैलिने जोखिम बढेको छ,’ वीरेन्द्रनगरका कोरोना फोकल पर्सन भुपेन्द्रदेव गिरी भन्छन् । नगरपालिकाले हरेक दिन चारदेखि पाँच सय जनाको स्वाब संकलन गरिरहेको उनले बताए । ‘एकै पटक धेरै जना स्वाब दिन आउँदा निकै भिडभाड हुन्छ । अत्यधिक भिड भएका कारण व्यवस्थापनमै समस्या भएको छ,’ उनले भने । यसअघि जनस्वास्थ्य सेवा कार्यालयले पनि स्वाब संकलन गर्दै आएको थियो । त्यहाँ कार्यरत सबै कर्मचारीलाई संक्रमण देखिएपछि केही दिनका लागि स्वाब संकलन कार्य बन्द गरिएको छ । जसका कारण पनि नगरपालिकामा परीक्षण गराउनेको चाप बढेको हो ।

गिरीका अनुसार पछिल्ला दिनहरूमा स्वाब दिएका झण्डै ६० प्रतिशतमा कोरोना पुष्टि हुने गरेको छ । धेरैजसो लक्षण देखिएपछि परीक्षण गर्न आएकाले पनि यसो भएको हुन सक्ने उनी बताउँछन् । परीक्षणमा नेगेटिभ रिपोर्ट आएका ४० प्रतिशत पनि त्यही भिडमा हुने भएकाले उनीहरूमा पनि संक्रमण सर्ने जोखिम रहेको उनले बताए । संक्रमण बढ्दो क्रममा देखिए पनि परीक्षणलाई व्यवस्थित बनाइएको छैन । लक्षण देखिएका कोरोनाका आशंकितहरूले समेत सहज र सुरक्षित रूपमा परीक्षण गर्न पाइरहेका छैनन् । परीक्षणका लागि गएकाहरूले स्वाब दिन चार÷पाँच दिन धाउँदा पनि पालो नआउने गरेको गुनासो गरेका छन् ।

प्रकाशित मितिः   २३ बैशाख २०७८, बिहीबार ०५:०३