चार सय ९७ संक्रमित थपिए

कर्णाली प्रदेशमा थप चार सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बुधवार एक हजार ४७ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएका हुन् । सुर्खेतका दुई सय ९२, दैलेखका र रुकुम–पश्चिमका ५४÷५४, सल्यानका २२, जाजरकोटका १९, कालीकोेटका १५, मुगुका १८, हुम्लाका १०, जुम्लाका ६, डोल्पाका एक र कर्णालीमा रहेका तर अन्य प्रदेशका ६ जनामा संक्रमण पुष्टि भएको हो । कर्णालीमा बुधवारसम्म सक्रिय संक्रमितको संख्या दुई हजार सात सय ८५ रहेको छ ।

सुर्खेतमा एक हजार पाँच सय ५१ जना सक्रिय संक्रमित छन् । यस्तै, सल्यानमा तीन सय आठ, दैलेखमा दुई सय ६८, जाजरकोटमा दुई सय आठ, रुकुम–पश्चिममा दुई सय एक, कालीकोटमा एक सय ६५, डोल्पामा ३३, मुगुमा २५, हुम्लामा १६ र जुम्लामा १० जना सक्रिय संक्रमित छन् । बुधवार थप १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

यसैबीच, देशभर बुधवार ५८ जनाको मृत्यु भएको छ भने आठ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार सात सय ५६ जनाको पीसीआर परीक्षणमा आठ हजार ६ सय पाँच र ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जना गरी आठ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ५९ हजार ६ सय १० रहेको छ । बुधवारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार तीन सय ५२ पुगेको छ । हालसम्म देशभर दुई लाख ८९ हजार सात सय ८३ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट हालसम्म तीन हजार चार सय ७५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २३ बैशाख २०७८, बिहीबार ०५:०४