कोरोना लक्षित पूर्वाधार विकास

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार व्यवस्थापनमा जोड दिएको छ । कोरोनाको दोस्रो लहर सुरू भएपछि कर्णालीमा संक्रमितको संख्या र मृत्युदर पनि बढेको छ । स्वास्थ्य पूर्वाधार र जनशक्ति अभावमा संक्रमितहरूले उपचार नपाउने अवस्था आएपछि प्रदेश सरकारले विकास बजेट कटौती गरी कोभिड प्रतिकार्यमा खर्च गर्न थालेको हो । जनशक्ति व्यवस्थापनसँगै प्रदेश अस्पताल, कोरोना रणनैतिक अस्पतालहरू र जिल्ला अस्पतालहरूमा अक्सिजनसहितका आइसोलेसन बेड थप्ने तयारी गरिएको छ । संक्रमितको उपचारका लागि विशेष अस्पताल र आइसोलेसन कक्षको स्थापना तथा सञ्चालनमा सरकारले तीव्रता दिएको हो ।

सुर्खेतस्थित प्रदेश अस्पतालमा तत्काल अक्सिजनसहितका एक सय बेड आइसोलेसन बनाउन लागिएको छ  । केही दिनभित्र उक्त बेड संख्या बढाएर पाँच सय पु¥याउने लक्ष्य प्रदेश सरकारले लिइएको छ । त्यस्तै, दैलेख, कालीकोट, जाजरकोट, रुकुम–पश्चिममा अक्सिजनसहित एक÷एक सय बेड र अन्य जिल्लामा ५०÷५० बेड तयार गरिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्ता निर्णय गरेको हो ।

७५ प्रतिशत जनशक्ति कोभिड उपचारमा

कोरोना विशेष अस्पतालहरूमा सिकिस्त संक्रमितको संख्या बढ्न थालेपछि उपचार प्रभावकारी बनाउन जनशक्ति थप गरिने भएको छ । प्रदेशभर कार्यरत स्वास्थ्यकर्मीहरूमध्ये ७५ प्रतिशत जनशक्ति कोरोना संक्रमितको उपचारमा खटाइने भएको छ । विपद् व्यवस्थापन केन्द्रको बैठकले २५ प्रतिशत चिकित्सक तथा स्वास्थ्यकर्मी नियमित कार्यमा र बाँकी कोरोना संक्रमितको उपचारमा खटाइने निर्णय गरेको हो । जनशक्ति अभावका कारण पछिल्ला दिनहरूमा कोभिडका बिरामीलाई उपचारमा समस्या भएको थियो । कोभिड संक्रमितको उपचारमा सहजताका लागि चिकित्सकसहितका अधिकांश स्वास्थ्यकर्मीलाई उपचारमा खटाउने निर्णय गरिएको हो ।

जिल्ला अस्पताललाई एक/एक करोड

प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि प्रत्येक जिल्ला अस्पताललाई एक÷एक करोड बजेट तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । सोमवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन आपूर्तिलगायतको व्यवस्थापन गर्न प्रत्येक जिल्लामा एक करोड रूपैयाँ पठाउने भएको हो । आर्थिक मामिला तथा योजनामन्त्री एवम् सरकारका प्रवक्ता विमला केसीले कोरोना रोकथाम तथा उपचारमा देखिएका समस्या समाधान गर्न प्रत्येक जिल्ला अस्पतालमा तत्काल बजेट पठाइने निर्णय भएको बताइन् ।

उनकाअनुसार प्रत्येक जिल्लामा एक÷एक करोड, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुम–पश्चिममा एक÷एक करोड बजेट पठाइने छ । मेहलकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०/५० लाख रूपैयाँ पठाउने निर्णय भएको मन्त्री केसीले जानकारी दिइन् ।

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट ५० लाख रूपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । यसअघि प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि विकास बजेट कटौती गरेर एक अर्बको कोष ‘कोरोना कोष’ स्थापना गरेको थियो ।

बिरामीलाई खाना खर्च दिइने

प्रदेश सरकारले अस्पतालमा भर्ना भएका कोभिडका बिरामीलाई राहत स्वरूप खाना खर्च व्यहोर्ने भएको छ । बिरामीहरूका लागि स्वस्थ र पौष्टिक खानाको प्रबन्ध मिलाउन हुम्ला, मुगु र डोल्पाका लागि प्रतिदिन जनही ६ सय रूपैयाँ दिइने भएको छ । यस्तै, कालीकोट र जुम्लाका बिरामीका लागि प्रतिदिन पाँच सय रूपैयाँ र अन्य जिल्लाका बिरामीहरूले खाना वापतको प्रतिदिन चार सय रूपैयाँ पाउने छन् ।

मृतकका परिवारलाई एक लाखराहत

कोरोनाका कारण मृत्यु हुनेका परिवारलाई एक लाख राहत दिइने भएको छ । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण भएर मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत रकम दिने घोषणा गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता केसीले बताइन् । ‘कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक सबै तयारी गरेको छ,’ उनले भनिन्, ‘संक्रमणबाट बचाउने प्रयत्न गर्दागर्दै पनि प्रदेशभित्रका नागरिकहरूको कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई राहतस्वरूप एक लाख रकम प्रदान गर्ने निर्णय गरिएको हो ।’ त्यसका लागि विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तर गरिएको प्रवक्ता केसीले जनाइन् ।

अक्सिजन प्लान्ट सञ्चालनमा

कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । अस्पतालको नयाँ भवनमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पछिल्लो समय अक्सिजनको अभाव हुन थालेको छ । दुई वटामध्ये अस्पतालमा एउटा मात्रै अक्सिजन प्लान्ट सञ्चालनमा थियो । त्यसले मात्र अक्सिजनको माग धान्न नसके पछि नेपालगञ्जबाट अक्सिजन खरिद गरेर ल्याउने गरिएको थियो । अर्को अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएसँगै अब उपचारमा सहज हुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले नयाँ भवनमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको बताए । उनकाअनुसार उक्त प्लान्टबाट केही बिरामीलाई पाइपलाइनबाट अक्सिजन दिएर पनि दिनमा १० देखि १२ वटा सिलिण्डरसम्म भर्न सकिने छ । उनले प्लान्ट सञ्चालनमा आएसँगै अहिले सिकिस्त ६ जना बिरामीलाई पाइपलाइनबाट अक्सिजन दिइरहेको बताए ।

बिरामीको चाप बढ्न थालेपछि प्रदेश अस्पतालको उत्तरतर्फको पुरानो भवनलाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिएको छ । पुरानो भवनमा अक्सिजन प्लान्ट जडान भएकोले कोभिडका बिरामीको बढ्दो चापलाई उपचार गर्न सहज हुने अस्पतालले जनाएको छ । पुरानो भवनमा करिब एक सय जना संक्रमितलाई उपचार गर्न सकिने गरी व्यवस्थापन गरिएको छ । त्यहाँ रहेका १६ वटा आईसीयू बेडमा अक्सिजन प्लान्टबाट सिधै अक्सिजन आपूर्ति हुने अस्पतालको भनाइ छ । अन्य बेडमा सिलिन्डरबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मितिः   २१ बैशाख २०७८, मंगलवार ०५:००