वीरेन्द्रनगरमा आइसोलेसन अस्पताल सञ्चालनमा ल्याइँदै

वीरेन्द्रनगर नगरपालिकाले ५० बेड क्षमताको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाले तत्कालै अक्सिजनसहितको आइसोलेसन अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनको तयारी गरेको हो । कटकुवा स्वास्थ्यचौकीको नयाँ भवनलाई अक्सिजनसहितको आइसोलेसन अस्पताल बनाउन लागिएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र छ । प्रदेश अस्पतालमा समेत संक्रमितको उपचारका लागि बेड अभाव भएपछि नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन अस्पताल सञ्चालन गर्न लागेको छ ।

जटिल समस्या देखिएका संक्रमितको उपचारका लागि अस्पताल सञ्चालन गर्न लागिएको नगर उपप्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार तत्कालै २५ बेडबाट सेवा सुरु गरिने छ भने २५ बेड केही दिनभित्र थपिने छ । नगरपालिकाको निर्णयअनुसार अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको भन्दै उनले एक÷दुई दिनमै सेवा सुरू हुने जनाइन् ।

‘तत्काल २५ बेडबाट सेवा सुरु गर्दैछौं,’ उनले भनिन्, ‘बिरामीलाई बोक्न अक्सिजनसहितको एम्बुलेन्स पनि सञ्चालनमा आउनेछ ।’ अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि सहज हुनेगरी अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरिएको उपप्रमुख ढकालले बताइन् । आइसोलेसन अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्णाली प्रदेश अस्पतालसँग समन्वय गरिएको छ । हालका लागि दुई जना डाक्टर र एउटा एम्बुलेन्स व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः   २० बैशाख २०७८, सोमबार ०५:०३