जुम्लाबाट नेपालगञ्ज पुग्यो चिकित्सकको टोली

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लाबाट चिकित्सकको टोली गएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसहितको टोली सहयोगका लागि नेपालगञ्ज गएको हो । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज गएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधपछि प्रतिष्ठानका ६ चिकित्सक र स्वास्थ्यकर्मीको टिम भेरी अस्पतालमा खटाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधपछि प्रतिष्ठानका ६ चिकित्सक र स्वास्थ्यकर्मीको टिम भेरी अस्पतालमा खटाइएको हो । ‘सघन उपचारका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले गराउनु भएको थियो’, प्रतिष्ठानका निमित्त निर्देशक डा. राजिव शाहले भने, ‘त्यहीअनुसार सघन उपचार विभागकै इन्चार्ज गिरीको नेतृत्वमा टोली पठाउने निर्णय भएको हो ।’ प्रमुख गिरीसहित डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सहरू सुस्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा आइतवार भेरी अस्पतालमा गएका हुन् । डा. गिरीका अनुसार उनीहरूले त्यहाँ १० देखि १४ दिनसम्म बिरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्नेछन् ।

भेरी अस्पतालमा कोरोना उपचार गर्न सकस भएको खबर बाहिर आउने गरेका छन् । अहिलेसम्म सो अस्पतालका ७३ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः   २० बैशाख २०७८, सोमबार ०५:०१