अक्सिजन आपूर्ति सहज बनाऊँ

केही दिनयता अस्पतालहरूमा अक्सिजनको अभाव देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरूले अस्पतालका बेड भरिएका बेला अक्सिजनको अभाव भएको हो । जसका कारण उपचारमा समस्या देखिएको छ । पछिल्लो समय कोभिडका बहुसंख्यक बिरामीलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था छ । श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको पहिलो आवश्यकता भनेकै अक्सिजन हो । अक्सिजन मास्क लगाएपछि मात्रै बिरामीलाई सहज बनाएर उपचार गर्न सम्भव हुन्छ । प्राणवायु अक्सिजनका सिलिण्डरको अस्पतालहरूमा खोसाखोस छ । बिरामीका आफन्तहरू अक्सिजनको खोजीमा भौतारिरहेका भेटिन्छन् । बिरामी आफैले अक्सिजन खोज्नुपर्ने अवस्था आउनु पक्कै पनि राम्रो होइन । ती दृश्यहरूले सरकारको स्वास्थ्य क्षेत्रको व्यवस्थापन कति कमजोर छ भन्ने प्रष्ट देखिन्छ । कोरोना भाइरसका संक्रमित दैनिक बढ्दै जाँदा बिरामीका लागि आवश्यक अक्सिजन नपाएर ज्यान जाने हो कि भन्ने
भय छ । संक्रमण दर बढ्दै गएकाले अक्सिजनको अभाव झनै जटिल बन्ने देखिएको छ ।

सरकारले संक्रमितका लागि आवश्यक पर्ने अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता त जनाएको छ । तर, अस्पतालहरूका दृश्यले सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको देखाउँछन् । अक्सिजन नेपालमै उत्पादन भइरहेकाले वितरण सहज बनाउन सके आवश्यक अक्सिजन खोज्न बाहिर जानु पर्दैन । त्यसतर्फ सरकार गम्भीर बन्न जरुरी छ । कतिपय अस्पतालहरूले आफ्नै अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याएका छन् । यद्यपि नियमित विद्युत आपूर्ति नहुँदा ती प्लान्टहरू पनि नियमित सञ्चालनमा समस्या छ । कर्णाली प्रदेशमा दुई ठाउँमा अक्सिजन प्लान्ट छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा रहेका प्लान्टले मात्रै यहाँको माग थेग्ने अवस्था छैन । अक्सिजन दिनुपर्ने बिरामी बढ्दै गएकाले यसको आपूर्तिमा प्रदेश सरकारले थप व्यवस्थापन गर्न आवश्यक छ । तत्कालका लागि अक्सिजन खरिद र आगामी दिनका लागि कम्तीमा जिल्ला अस्पतालहरूमा आफ्नै प्लान्ट निर्माण गर्ने गरी योजना अघि बढाउन सरकारले पहल गर्नुपर्ने देखिन्छ । अस्पतालमै अक्सिजन उत्पादन भएपछि प्रत्येक बेडसम्म पाइप पु¥याएर बिरामीलाई सहजै सेवा प्रदान गर्न सकिन्छ । त्यसैले प्रत्येक अस्पतालले सिलिन्डर खरिदभन्दा प्लान्ट निर्माणमा लाग्नुपर्ने देखिएको छ ।

अहिले अक्सिजनभन्दा पनि अक्सिजन भर्ने सिलिन्डर प्रमुख आवश्यकता बनेको छ । अस्पतालमा संकट हुँदा बिरामीका आफन्तहरू अक्सिजनका सिलिण्डर खोज्न बाहिर जानुपर्ने बाध्यता छ । यस्तो बेला अक्सिजनमा समेत कालोबजारी भइरहेका समाचारहरू आउन थालेका छन् । यसतर्फ सरकारका निकाय गम्भीर बन्नुपर्छ । अस्पतालमा दैनिक अक्सिजन आउने गरेको छ तर उनीहरूले आपतकालका लागि आवश्यकताभन्दा बढी ल्याएर भण्डारण गर्न सकेका छैनन् । साना अस्पतालमा स्थिति झन् गम्भीर छ । ती अस्पतालमा अक्सिजनका खाली सिलिण्डर समेत छैनन् । अक्सिजन संकटका कारण कतिपय अस्पतालमा उपचाररत बिरामीका आफन्तले अक्सिजन उपलब्ध गराइदिन सार्वजनिक रूपमा सहयोगको याचना गरिरहेका छन् । कोरोनाको संक्रमण अझै तीव्र बन्ने देखिएको छ । दोस्रो लहरका संक्रमित अधिकांशमा जटिल समस्या देखिएका छन् । यस्तो अवस्थामा तीनै तहका सरकारले विकास बजेट कटौती गरेर भएपनि संक्रमितको उपचारमा खर्चिन आवश्यक छ ।

प्रकाशित मितिः   २१ बैशाख २०७८, मंगलवार ०५:००