अधुरो आश्वासन सम्झेर झस्किए ‘प्रकाण्ड’

khadga

२०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनका बेला कालिकोटबाट संविभानसभा सदस्यको उम्मेदवार बनेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले दिएको आश्वासन कालिकोटवासीले अझै भुलेका छैनन् । तर चुनाव जितेर पनि मन्त्री बनेका विश्वकर्माले भने चुनावअघि बाँडेका आश्वासन पूरा त गरेनन् नै नौं वर्षसम्म गृहजिल्ला नै छिरेनन् । नौं वर्षपछि कालिकोट पुगेका उनलाई कालिकोटवासीले
सोधे, ‘सुनथराली विमानस्थल कहिले सुचारु हुन्छ ? र कहिले चढ्न पाइन्छ मान्मदेखि कोटबाडासम्म केबुलकार ?’

नेकपा माओवादीले मान्ममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न कालीकोट आएका उनले विगतका कुरा गरी आफूलाई नझस्काउन आग्रह समेत गरेका छन् । उनले आफूहरू अहिले पनि जनताको लागि लडिरहेको भन्दै त्यसमा साथ दिन आग्रह गरे ।

चुनावी प्रचारका क्रममा विश्वकर्माले आफू निर्वाचित भएमा ३० वर्ष पुरानो सुनथराली विमानस्थल पूर्णरूपमा सुचारु गर्ने र कालिकोट जिल्लाको मान्मदेखि कोटवाडासम्म केबुलकार पुर्याउने आश्वासन बाँडेका थिए । तर चुनाव जितेर गएपछि नागरिक उड्डयन तथा पर्यटनमन्त्री समेत बनिसकेका उनी नौं वर्षसम्म फर्किएर कालिकोट नै नआएको यहाँका स्थानीयवासीहरू बताउँछन् । नौ वर्षको अन्तरालमा मंगलवार पुनः उनी कालिकोट पुगे । तत्कालीन एकीकृत नेकपा माओवादीबाट सांसद भइ मन्त्री समेत बनिसकेका उनी यतिबेला भने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ताका रूपमा कालिकोट फर्किएका हुन् ।

आमसभामा बोल्दै उनले अहिलेको राज्यसत्ताको अवस्था परिवर्तन नभए एकीकृत जनआन्दोलन गर्ने ठोकुवा समेत गरे । देशमा पूँजीवादी, दलाली तथा भष्ट्राचारीहरूको बिगबिगी र विदेशीको इशरामा चलेकोले देश ठूलो सङ्कटमा जानै लागेको बेला सरकारमै अहिले हानाथाम परेको उनले बताएका थिए ।

साथै उनले देशमा रहेका प्राकृतिक स्रोत र साधनलाई देशका दलालीहरूले रित्याइ र देशलाई खोक्रो पारेको भन्दै अब सम्पूर्ण जनताले एकीकृत जनक्रान्तिको आवश्यक रहेको पनी वताए । उनले जनताले परिर्वतन चाहेको बेला सरकारको यही अवस्था रहिरहने हो भने १० वर्षे जनयुद्धको उद्गमस्थल रोल्पा, रुकुम, जाजारकोट र कालिकोटबाटै एकीकृत जनक्रान्तिको थालनी गर्र्ने चेतावी दिए ।

प्रकाशित मितिः   १५ मंसिर २०७३, बुधबार २३:०७