जो यसपाली बेरोजगार भएनन्
उद्यम
गतवर्षको लकडाउनमा वीरेन्द्रनगर–१० की प्रेमकला सुनारको परिवार घरमै बस्नुपर्यो । कमाउन विदेश गएका श्रीमान् पनि कोरोनाका कारण फर्किए । विदेश जाँदा लागेको ऋण तिर्न नपाउँदै श्रीमान् घर फर्किएका थिए । त्यो बेला परिवारको खर्च धान्न प्रेमकलाको परिवारलाई हम्मेहम्मे भयो । कोरोना महामारीले सबै क्षेत्र बन्द थिए । ज्यालामजदुरीको काम पाउने अवस्था थिएन । घर खर्च कसरी चलाउने भन्ने चिन्ता उनीहरूमा थियो । आर्थिक अभावले पेल्दै लगेपछि प्रेमकला र उनका श्रीमान्ले कुखुरापालन गर्ने सोेच बनाए ।
सोच बनाएर मात्र भएन, त्यसका लागि पनि आखिर पैसा नै चाहिन्थ्यो । उनीहरू कोही सहयोगी दाताको पर्खाइमा थिए । नभन्दै उनीहरूले सहयोग पाए । वीरेन्द्रनगर नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र अन्तरनिर्भर समाजले प्रेमकलाको परिवार जस्तै कोरोनाका कारण अप्ठ्यारोमा परेका परिवारलाई आर्थिक उपार्जनका क्षेत्रमा सहयोग गरिरहेको थियो । कोरोनाका कारणले रोजगारी गुमाउन बाध्य भएका परिवारका लागि कोभिड–१९ रेस्पोन्स तथा सामाजिक आर्थिक पुनर्उत्थान परियोजनामार्फत प्रेमकलाको परिवारले सहयोग पायो । ‘श्रीमान् रोजगारीका लागि भारत जानु भएको थियो । कोरोनाका कारण काम बन्द भए पछि फर्किनुभयो । त्यसपछि घर खर्च समेत चलाउन गाह्रो भएको थियो । कमाइ गर्ने मेसो केही थिएन,’ उनले भनिन्, ‘उहाँहरू (वीरेन्द्रनगर नगरपालिका, यूएनडीपी र अन्तनिर्भर) ले सहयोग गरेपछि कुखुरा पालेका हौं ।’
प्रेमकलाको दैनिक अहिले कुखुराको हेरचाहमै बित्छ । कोरोनाका कारण फेरि निषेधाज्ञा भएको छ । उनको परिवारले भने यसपटक बेरोजगार बस्नु परेन । कुखुरा बेचेर घर खर्च समेत चलेको छ । ‘केही दिन कतै काम नपाइए पनि चिन्ता छैन । खोरमा कुखुरा छन् । बेचेर खर्च चलाउँछौं,’ उनले भनिन् । कुखुरापालनले निकै सहज भएको उनले बताइन् । कुखुराका अण्डा र चल्ला उत्पादन गरेर बिक्री गर्दै आएको प्रेमकला बताउँछिन् । उनले कुखुराको अण्डा बेचेर मासिक १० हजार कमाउने गरेकी छिन् । उनी भन्छिन्, ‘कुखुरापालन व्यवसायबाट सन्तुष्ट छु । यस्तो संंकटको बेलामा बिहान साँझको छाक टार्न सहज भएको छ ।’ यसलाई थप व्यावसायिक बनाउँदै लैजाने उनको योजना छ ।
वीरेन्द्रनगर–११ की मनिषा सापकोटा पनि प्रेमकला जस्तै अहिले कृषि कर्ममै रमाएकी छन् । उनले टमाटर र च्याउ खेती गरेकी छिन् । मनिषाले एक कठ्ठा जग्गा भाडामा तरकारी खेती गरेकी हुन् । तरकारी खेती गर्नुअघि एक निजी विद्यालयमा शिक्षण गर्थिन् । गतवर्ष लकडाउन भएपछि विद्यालय बन्द भएकाले घरमै बस्नुप¥यो । घर खर्च चलाउन समेत हम्मेहम्मे भयो । आर्थिक संकट भएपछि उनले तरकारी खेती गर्ने योजना बनाइन् । मनिषाले पनि कोभिड–१९ रेस्पोन्स तथा सामाजिक आर्थिक पुनर्उत्थान परियोजनामार्फत सहयोग पाइन् । उनलाई टमाटर खेती गर्न परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो । ‘कतैबाट कमाई गर्ने ठाउँ बन्द भएपछि गाह्रो भएको छ । अहिले बारीमा टन्न टमाटर र च्याउको खेती छ । हिजोआज सानोतिनो आर्थिक समस्या सजिलै टर्छ,’ उनले भनिन् ।
टमाटर खेतीबाट मात्रै एक सिजनमा १२ हजार कमाइन् । यही कमाइबाट घर खर्च चलाएर समूहमा बचत समेत गर्ने गरेको उनले सुनाइन् । तरकारी खेतीमा लगानी बढाएर व्यवस्थित बनाउँदै लैजाने उनको योजना छ ।
वीरेन्द्रनगर–१ की निर्मला मगराती पनि अहिले कृषि उद्यममा लागेकी छन् । उनले गत वर्षसम्म ज्यालामजदुरीको काम गर्थिन् । धेरै वर्ष दैनिक मजदुरी गरेर परिवारको खर्च जुटाउँदै आएकी उनले गतवर्ष निकै दुःख पाइन । ज्यालामजदुरीको काम नपाएपछि उनको परिवार निकै समस्यामा प¥यो । सोही परियोजनाले उनलाई पनि अर्थिक–उपार्जनमा जोड्यो । ‘मजदुरी गरेर परिवारको खर्च धान्दै आएका थियौं । कोरोनाका कारण त्यही पनि खोसियो,’ उनले भनिन्, ‘त्यसपछि च्याउ खेती सुरू गरेका हौं ।’ अहिले च्याउ बिक्री गरेर आएको आम्दानीले घरखर्च चलाउने र छोराछोरीको स्कुल फिस समेत तिर्ने गरिएको उनको भनाइ छ ।
निर्मलाले माघ महिनायता चार क्वीण्टल च्याउ बिक्री गरिसकेकी छन् । ‘एक लटमा मात्रै ६० हजार आम्दानी भयो,’ उनले भनिन् । खेती सुरू गरेपछि घरका अन्य सदस्यसमेत खाली बस्नु नपरेको उनी बताउँछिन् । अहिले सुर्खेतमा निषेधाज्ञा छ । अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइँदैन । निर्मलाले भनिन्,’ यसपाली घरमै हुँदा पनि बिहान बेलुकाको छाक टार्न समस्या छैन । च्याउँ बेचेर कमाएको पैसाले घर खर्च चलेकै छ ।’
प्रकाशित मितिः १८ बैशाख २०७८, शनिबार ०५:०१
साझा बिसौनी ।