‘चाडपर्व कहिले आउँला जस्तो लाग्थ्यो’

तिर्थ सुनार व्यवसायी हुन् । उनी सुर्खेतको वीरेन्द्रनगरमा सुनचाँदी व्यवसाय गर्छन् । सुनार वि.सं. २०४९ साल वैशाख ८ गते दुल्लू नगरपालिका–११, साविक (कालभैरब गाउँ विकास समिति) मा बुवा सरू सुनार र आमा मैनकला सुनारको सन्तानका रूपमा जन्मिएका हुुन् । उनीसँग गाउँदेखि सहरसम्मका बाल्यकालका अनुभव छन् । उनै व्यवसायी सुनारले हाम्रा सहकर्मी मुना हमाल सँग बाल्यकालका सम्झना यसरी साटेः


तिर्थ सुनार सुनचाँदी व्यवसायी

बाल्यकालको धेरै समय गाउँमै बित्यो । कक्षा पाँचसम्म मैले गाउँकै विद्यालयमा पढेँ । बुवाले डुङ्गेश्वरमा सुनचाँदी पसल गर्नुहुुन्थ्यो । त्यसैले मैले कक्षा ६ देखि डुङ्गेश्वरमा बुवासँगै बसेर पढेँ । गाउँबाट मावि पढ्न झण्डै ढाई घण्टा हिँड्नु पथ्र्यो । बिहान सात बजे खाना खाएर विद्यालय हिँडिन्थ्यो । कक्षा आठ पछि पढ्न सुर्खेत झरे । जन माविमा नौँ कक्षामा भर्ना भएँ । नौँ कक्षा यतै पढेपछि फेरि १० कक्षा पढ्न विजयी मावि दुल्लूमा गएँ । मैले त्यहीँबाट एसएलसी गरेको हुँ । पढाइमा राम्रै विद्यार्थी थिएँ । एसएलसी पछि स्वास्थ्य विषय लिएर पढ्ने र सेवा गर्ने सोँच थियो । सीएमए पढ्नका लागि प्रवेश परीक्षा पनि दिएको थिएँ । तर, नाम निस्केन । त्यसपछि मैले विजय माविमै प्लस टूमा एड साइन्स विषय लिएर पढेँ । विजय माविमा एड साइन्सको त्यो पहिलो ब्याच थियो ।

बाल्यकालमा निकै चञ्चले स्वभावको थिएँ । तर कामप्रति भने इमान्दार थिएँ । कुनै पनि काम सुरू गरे पछि सक्नुपर्छ भन्ने लाग्थ्यो । काममा ढिलासुस्ती गरेको मनै नपर्ने स्वभाव थियो । कुनै काम गर्न थालेपछि सकेर मात्रै आराम गर्थे । बाल्यकालमा मलाई शान्त वातावरणमा बस्न मन पथ्र्यो । समाजमा भइरहेका विसंगती र विकृतिविरुद्ध चासो राख्थे । अहिले पनि त्यही स्वभाव छ । एउटा व्यक्ति मात्रै परिवर्तन भएर हुँदैन । समाज परिवर्तन हुनुपर्छ भन्ने लाग्छ । जति सकिन्छ समाजप्रति उत्तरदायी बन्ने र सेवा गर्ने सोच सानैदेखि थियो । समाजमा चेतना फैलाउनुपर्छ भन्ने लाग्थ्यो ।

हामी मध्यम वर्गीय परिवार हौं । खाना लाउनको दुःख थिएन । बुवाको व्यवसाय भएकाले पनि परिवारमा खर्च जुटाउन समस्या थिएन । सानोमा घरको काम गर्नुपथ्र्यो । दिउँसो स्कुल जाने, बिहान साँझ काम गर्ने गरिन्थ्यो । मैले आमालाई घरको काममा सघाउँथे । गाईवस्तुको गोठाला गइन्थ्यो । हाम्रो गाउँमा घाँसको दुःख थियो । घाँस लिन धेरै टाढा जङ्गलमा पुग्नुपथ्र्यो । दिदीबहिनी नभएकाले आमालाई अझ सघाउनुपथ्र्यो । बिहान साँझको समयमा घाँसदाउरा काट्न जङ्गल जान्थ्यौं ।
बाल्यकालमा खाली खुट्टै हिँडिन्थ्यो । मध्यम वर्गीय परिवार भए पनि कपडा लगाउन र मिठो खान चाडपर्व नै कुर्नुपर्ने हुन्थ्यो । केटाकेटी उमेरमा दशैँतिहार कहिले आउँला जस्तो हुन्थ्यो । हामी चाडपर्वमा निकै रमाउँथ्यौ । रमाइलो भनेको बच्चा उमेरमै हुँदो रहेछ । अहिले ती दिन सम्झदा पनि आनन्द लागेर आउँछ । हाम्रो गाउँमा सुन्तला धेरै फल्थ्यो । चुप्रा बजारमा बिक्री गर्न आउँथे । चुप्राबाट गाउँ जान तीन घण्टा ढाडो उकालो हिँड्नुपथ्र्यो । सुन्तला बेचेको पैसाले घरका लागि नुन तेल र साबुन किनेर लिन्थे । मेरै उमेरका अरू साथीहरू पनि सुन्तला लसुन लगायतका गाउँमा उत्पादन हुने सामग्री लिएर बेच्न आउँथे । घर फर्किदा साथीहरूसँग रमाइलो हुन्थ्यो । विद्यालय जाँदा आउँदा पनि बाटोमा खेलिन्थ्यो । पढ्न सुर्खेत आएपछि मलाई खेलकुदमा रूचि भयो । केही समय कराँते खेलेँ ।

बुवा बिरामी भइरहनुहुन्थ्यो । केही वर्ष पहिले उहाँको निधन भयो । घर व्यवहार मैले सम्हाल्नु पर्ने भयो । त्यसपछि मैले जागिर पनि गर्न थालेँ । केही समय शिक्षण पेसा गरेँ । विवाह भएपछि आर्थिक भार र जिम्मेवारी पनि थपिँदै गयो । त्यसपछि म व्यवसायमा लागेँ । बाबु–बाजेले गर्दै आएको सुनचाँदी व्यवसाय गर्न मन लाग्यो । यो व्यवसायमा आफूलाई जानकारी पनि थियो । बुवा र दाइहरूले गरेको देखेर सिकेको थिएँ । त्यसपछि मैले गाउँमा गएर गरगहना बनाउने काम गर्न थालेको हुँ । विस्तारै व्यवसायमा अनुभव हुँदै गयो । सबैसँग राम्रो सम्बन्ध राख्न, बोल्न र कन्भिन्स गर्न सिकियो । केही समयसम्म अछामको कमल बजारमा गएर पसल गरें । त्यसपछि म सुर्खेतमै व्यवसाय गर्नेगरी आएँ ।

यहाँको सबै वातावरण बुझ्दै गएँ । व्यापार बढ्दै गयो । वीरेन्द्रनगरमा व्यवसाय गर्न थालेको अहिले आठ वर्षभन्दा बढी भइसक्यो । मैले यरीचोकमा न्यू दैलेखी पञ्चकोशी कालभैरव आभूषण कलाकेन्द्रको नाममा व्यवसाय गरिरहेको छु । मेरो पसलमा सात जनाले रोजगारी पाएका छन् । व्यवसाय राम्रैसँग अघि बढेको छ । बाल्यकालदेखिका संघर्षले नै मलाई यहाँसम्म ल्याएको जस्तो लाग्छ ।

प्रकाशित मितिः   १८ बैशाख २०७८, शनिबार ०५:००