संक्रमित आठ जनाको मृत्यु

कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण थप आठ जनाको ज्यान गएको छ । बिहीवार र शुक्रवार गरी आठ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–५ का ६० वर्षीय पुरुष, वीरेन्द्रनगर–८ का ६३ वर्षीय पुरुष, लेकवेशी–१ का ४५ वर्षीय पुरुष र सल्यानका ५२ वर्षीय पुरुष छन् ।

त्यस्तै, शुक्रवार वीरेन्द्रनगर–११ का ५१ वर्षीय पुरुष, वीरेन्द्रनगर–१२ का ४० वर्षीय पुरुष, मुसीकोट नगरपालिका–४ रुकुम–पश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका–६ दैलेखकी २७ वर्षीय गर्भवती महिलाको मृत्यु भएको हो । जसमध्ये पाँच जना प्रदेश अस्पताल सुर्खेतमा र अन्यको सम्बन्धित जिल्ला अस्पतालमा मृत्यु भएको हो । सबै मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको निर्देशनालयले जनाएको छ । योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ ।

त्यस्तै, नेपालमा कोरोना भाइरस संक्रमणबाट शुक्रवार ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा गरी ३३ जनाको मृत्यु भएको जनाएको हो । बिहीवार ३५ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार दुई सय ७९ पुगेको छ ।

ढाई सय संक्रमित थपिए

शुक्रवार कर्णालीमा दुई सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ सय १० जनामा गरिएको परीक्षणमा दुई सय ५१ जनालाई संक्रमण देखिएको हो । आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा एक सय आठ र रेपिड–एन्टिजेन विधिबाट एक सय ४३ जनामा कोरोना पुष्टि भएको छ । योसहित प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १३ सय ९३ पुगेको छ । देशभर शुक्रवार पाँच हजार ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या तीन लाख २३ हजार एक सय ८७ पुगेको छ ।

प्रकाशित मितिः   १८ बैशाख २०७८, शनिबार ०५:०२