भरिए अस्पतालका बेड

कोरोना संक्रमितमध्ये ८२ प्रतिशत घरमै, जनशक्ति अभावमा स्वास्थ्य उपकरण प्रयोगविहीन

वीरेन्द्रनगरको कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) का ३५ जना संक्रमित उपचाररत छन् । अस्पतालमा भर्ना भएका सबै संक्रमितलाई जटिल समस्या देखिएको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालले २५ वटा बेड छुट्याएको थियो । बेड क्षमताभन्दा बढी संक्रमित भर्ना हुँदा पनि व्यवस्थापन गरेर उपचार गरिरहेको अस्पतालका कोरोना फोकल पर्सन डा. के.एन. पौडेल बताउँछन् ।

कर्णालीमा कोरोना संक्रमण दर तीव्र छ । पछिल्ला केही दिनयता यहाँ दैनिक सयौंको संख्यामा संक्रमित थपिँदै गएका छन् । अस्पतालमा भर्ना हुनेहरूको संख्या समेत बढेको छ । अस्पताल भर्ना हुन आउनेहरू अधिकांश सिकिस्त छन् । उनीहरूलाई अक्सिजन दिएर उपचार गर्नुपरेको छ । ‘हामीसँग भएका बेड भरिएका छन् । तत्काल कोही भर्ना हुनुपरे बेड छैनन्,’ डा. पौडेल भन्छन्, ‘बेड थप्न अस्पतालले तयारी गरिरहेको छ ।’ आइतवारसम्म कोरोना संक्रमितको उपचारका लागि एक सयसम्म बेड पु¥याउने तयारी थालिएको उनले बताए ।

अहिले अस्पतालमा उपचाररत सबैलाई अक्सिजन दिनुपरेको छ । प्रदेश अस्पतालमा दैनिक ६० देखि ७० वटासम्म अक्सिजनका सिलिन्डर आवश्यक पर्ने गरेका छन् । यहाँ अक्सिजन प्लाण्ट भए पनि हाल सञ्चालनमा छैनन् । एक साताभित्र मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ । संक्रमित दैनिक बढ्ने क्रम रहेकाले अक्सिजनको अभाव हुने डा. पौडेलले बताए । उनकाअनुसार सिकिस्त संक्रमितहरू थपिने क्रम बढेपछि उपचारको प्रबन्ध मिलाउन समेत समस्या भएको छ । प्रदेश अस्पतालले १० वटै जिल्लाका बिरामीको चाप खेप्नुपर्छ । अन्य जिल्लामा जटिल समस्या देखिएका संक्रमितहरूलाई प्रदेश अस्पतालमा रिफर गर्ने गरिएको छ । जटिल प्रकृतिका संक्रमितका लागि अत्यावश्यक अक्सिजन, आईसीयू र भेन्टिलेटर जस्ता सेवाहरू कर्णालीमा पर्याप्त छैनन् ।
रुकुम–पश्चिमस्थित चौरजहारी सामुदायिक अस्पताललाई कोरोना अस्पताल पनि कोरोना विशेष अस्पताल तोकिएको छ । अस्पतालमा आउने जटिलखालका बिरामीको भने त्यहाँ उपचार हुँदैन । प्रदेश अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ । उपचारका लागि आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा समस्या हुने गरेको जिल्ला अस्पताल रुकुम–पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलले बताए । हाल रुकुम–पश्चिममा एक सय पाँच जना कोरोनाका संक्रमित छन् । तीमध्ये पाँच जनालाई प्रदेश अस्पतालमा रिफर गरिएको छ । नौ जना अस्पतालको आइसोलेसनमा रहेको र बाँकी होम आइसोलेसनमा बसेको रावलले बताए । रावलले जिल्ला अस्पतालमा जम्मा चार वटा अक्सिजन सिलिण्डर र चौरजहारी अस्पतालमा पाँच वटा सिलिण्डर रहेको बताए । जिल्लामा ३० वटा आइसोलेसन बेड छन् । आईसीयू र भेन्टिलेटर भने नभएको फोकल पर्सन रावत बताउँछन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमितको उपचारका लागि २४ वटा बेड छन् । अस्पतालमा अहिले सात जना संक्रमित भर्ना भएका छन् । प्रतिष्ठानका निर्देशक राजिव शाह भन्छन्,’ तत्काल अक्सिजनको अभाव त छैन तर यही अवस्था रहे निकट भविष्यमा हुनसक्छ ।’ उनले विद्युत अनियमित हुँदा अक्सिजन प्लान्ट सञ्चालन गर्न समस्या भएको बताए । शाहका अनुसार प्रतिष्ठानमा दुई सय वटा अक्सिजनका सिलिण्डर छन् । अझै दुई÷तीन महिनालाई पुग्नेगरी अक्सिजन स्टक राख्ने तयारी गरिएको उनले बताए ।

कर्णाली प्रदेशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शुक्रवार साँझसम्म एक हजार तीन सय ९३ पुगेको छ । जसमध्ये ११ सय ४९ संक्रमित होम–आइसोलेसनमै रहेका छन् । दुई सय ४४ संक्रमित मात्र प्रदेशका विभिन्न अस्पतालमा भर्ना भएका छन् । सिकिस्त बिरामी मात्र अस्पताल भर्ना हुने गरेका हुन् । घरमै रहेका संक्रमितले चिकित्सकीय परामर्श समेत पाएका छैनन् । न त कुनै निकायले अनुगमन तथा निगरानी नै गर्ने गरेको छ । जसका कारण संक्रमण झनै फैलने खतरा छ । धेरैजसो संक्रमित घरमै रहँदा परिवारमा समेत संक्रमणको जोखिम बढेको हो । होम–आइसोलेसनमा रहेको संक्रमितमध्ये सात सय ४७ जना सुर्खेतका हुन् । जसमध्ये सात सय सय ३७ जना वीरेन्द्रनगर नगरपालिकाका छन् । यतिका धेरै संक्रमितहरूविना निगरानी घरमै बसिरहेका हुन् ।

यद्यपि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले होम आइसोलेसनमा बसेकालाई टेलिमेडिसिन सेवा दिइरहेको दाबी गरे । उनले होम–आइसोलेसनमा बसेकाहरूलाई स्वास्थ्य सल्लाह दिनका लागि ९८५८०७०२४६ र ९८५८०७०२४८ तथा ९८०२५५८८२५ नम्बर चौबिसै घण्टा खुला रहेको बताए ।

‘अप्ठ्यारो परे तुरुन्त अस्पतालमा आउन र स्वास्थ्य सम्बन्धी सल्लाह लिन सक्नुहुन्छ,’ उनले भने । संक्रमितहरू समुदायस्तरमा सुरक्षित बसे नबसेको अनुगमन गर्ने निकाय भने अहिले सक्रिय छैन । कन्ट्रयाक्ट टे«सिङ्गमा परेकाहरूको निगरानीका लागि सामाजिक विकास मन्त्रालयमा एउटा सीआईसीटी टिम छ । अहिले उक्त टिम सक्रिय नभएको खड्काले बताए । सम्बन्धित स्थानीय तहमा स्वास्थ्य संयोजकको अध्यक्षतामा बनेको टिमले नै होम आइसोलेसनमा बसेकाहरूको निगरानी गरिरहेको खड्का बताउँछन् ।

प्र्रदेशका अधिकांश अस्पतालमा भएका आईसीयू र भेन्टिलेटर सेवा पनि प्रयोगविहीन अवस्थामा छन् । उपकरण चलाउने जनशक्तिको अभावका कारण यी सेवा प्रयोगमा ल्याउन नसकिएको हो । सुर्खेत, जुम्ला र हुम्ला बाहेकका जिल्ला अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू सेवा सञ्चालनमा आउन सकेका छैनन् । सिकिस्त बिरामीका लागि आईसीयू र भेन्टिलेटर सेवा अत्यावश्यक मानिन्छन् । कर्णालीमा भने जनशक्तिको अभावमा यी सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका हुन् ।

जाजरकोटमा भौतिक संरचना र जनशक्ति अभावका कारण आईसीयू र भेन्टिलेटर थन्क्याइएका छन् भने रुकुम–पश्चिममा पनि स्वास्थ्य जनशक्तिको उस्तै अभाव छ । दैलेख, कालीकोट, मुगुमा र डोल्पामा जनशक्ति अभावमा आईसीयू र भेन्टिलेटर प्रयोगविहीन रहेको सम्बन्धित अस्पतालहरूले जनाएका छन् ।

प्रकाशित मितिः   १८ बैशाख २०७८, शनिबार ०५:०५