निषेधाज्ञामा निर्माणका काम

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सुर्खेतमा हाल निषेधाज्ञा जारी गरिएको छ । संक्रमणको जोखिम बढेपछि निषेधाज्ञा लगाइएको हो । अत्यावश्यक बाहेकका काममा घर बाहिर निस्कन रोक लगाइएको छ । तर, विकास निर्माणका काम भने धमाधम भइरहेका छन् । सरकारले निषेधाज्ञामा पनि पूर्वाधार निर्माणका कामलाई अघि बढाएको हो ।

जनस्वास्थ्यका मापदण्ड अपनाएर विकास निर्माणका कार्यहरूलाई निरन्तरता दिइएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित विभिन्न ठाउँमा सडक र भवन निर्माणजस्ता पूर्वाधारका कार्यहरू भइरहेका हुन् । मानिसहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएपछि सडक सुनसान छन् । तर, निषेधाज्ञाकै समयमा व्यक्तिगत तथा सार्वजनिकस्तरबाट निर्माणका काम धमाधम भइरहेका छन् ।

सरकारले गतवर्षको लकडाउनमा विकास निर्माणका काम रोकिँदा पूँजीगत खर्च बढाउन सकेको थिएन । निषेधाज्ञा र लकडाउनका कारण काम ठप्प हुँदा निर्माणाधीन आयोजना अलपत्र परेका थिए । यस पटक भने निर्माणका कामलाई नरोकेर अघि बढाइएको हो । वीरेन्द्रनगरको फोरलेन सडकमा पुल निर्माणको काम धमाधम चलिरहेको छ भने सडक कालोपत्रे, र अन्य पूर्वाधार निर्माणका गतिविधि स्वास्थ्य सावधानी अपनाएर भइरहेका हुन् ।

प्रदेश पूर्वाधार विकास निर्देशनालयका अनुसार प्रदेश राजधानीमा सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । निर्देशनालयका इन्जिनियर सूर्य शाहीले सबै ठाउँमा प्रदेश अन्तर्गतका कामहरू भइरहेको जनाए । ‘पूर्वाधार निर्माणका काम रोकिएका छैनन् । स्वास्थ्य मापदण्ड पालना गरेर धमाधम काम भएको छ,’ उनले भने । उनकाअनुसार वीरेन्द्रनगरको हटियालाइनदेखि बसपार्क, रत्नराजमार्गको दक्षिणतर्फ हटलाइन जोड्ने सडकमा काम भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले समेत पूर्वाधार निर्माणका कामलाई यो अवधिमा पनि निरन्तरता दिएको छ । उपप्रमुख मोहनमाया ढकालले सार्वजनिक निर्माणका कामहरू नरोकिएको बताइन् । मजदुरहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै निर्माण कार्य भएको उनको भनाइ छ । ‘प्रशासनले पनि सार्वजनिक निर्माणका कामहरू गर्ने भनेको छ । सोही अनुसार सावधानी अपनाएर हामीले कामलाई निरन्तर अघि बढेका छौं ।’ जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक निर्माणका कामहरू गर्न पाइने निर्णय गरेको थियो । निर्माणका काममा संलग्न व्यक्तिहरूले भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य लगाउनुुपर्ने भनिएको छ । सुर्खेतमा कोरोना संक्रमण दर उच्च देखिएपछि वैशाख १४ गते मध्यरातिदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लाभरनै विकास निर्माणका कामहरू सञ्चालन भइरहेको जनाए । गत वर्षको सिकाइले पनि यस वर्ष सुरक्षा सतर्कता अपनाएर निर्माणका कामलाई नरोक्ने निर्णय गरिएको उनले बताए । उनले निर्माण सम्बन्धी यातायातका साधन निर्बाध रूपमा सञ्चालन गर्न सबैतिर सर्कुलर भएको जानकारी दिए । गत वर्षको लकडाउनमा धेरै मजदुरहरूले रोजीरोटी गुमाएका थिए । यसपटक भने उनीहरूले दैनिक ज्यालादारी काम पाएका छन् ।

प्रकाशित मितिः   १७ बैशाख २०७८, शुक्रबार ०५:०५