२२ जिल्लामा संक्रमण उच्च गतिमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण थेग्ने नसक्ने गरी उच्च गतिमा फैलिएको बताएको छ । शुक्रवार विज्ञप्ति जारी गर्दै मन्त्रालयले २२ जिल्लामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिरहेको जनाएको हो । सुर्खेत, बाँके, दाङ, मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, कैलाली र कञ्चनपुरमा संक्रमणको दर डरलाग्दो देखिएको मन्त्रालयले बताएको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा उपचार गराउन सक्ने स्थिति नभएको मन्त्रालयको भनाइ छ । ‘सबै दाजुभाइ दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू पालना गरौँ, मास्क लगाऔं, भौतिक दूरी कायम गरौँ, बेलाबेलामा साबुनपानीले हात धोऔँ ।’ त्यस्तै, मन्त्रालयले कुनै पनि मार्गबाट देश–विदेश जाने आउने र आन्तरिक तथा बाह्य पर्यटनका लागि कहीँ कतै नजान अपिल गरेको छ ।

प्रकाशित मितिः   १८ बैशाख २०७८, शनिबार ०५:००