सक्रिय संक्रमित ११ सय नाघे

कर्णाली प्रदेशमा बिहीवार दुई सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच सय ३४ जनामा गरिएको परीक्षणमा सो संख्यालाई संक्रमण देखिएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दुई सय ४८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा एक सय १६ जनामा संक्रमण देखिएको छ । त्यस्तै, दुई सय ८६ जनामा रेपीट–एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ८५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११ सय ७३ पुगेको छ ।

बिहीवार थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–९ कालीकोटका ७३ वर्षीय पुरुषको ज्यान गएको हो । योसहित कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । वैशाख महिना लागेयता मात्रै प्रदेशमा कोराना कारण आठ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, बिहीवार देशभर चार हजार आठ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख १७ हजार पाँच सय ३० पुगेको छ । बिहीवार आठ सय ८८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ८० हजार एक सय ६७ पुगेको छ । बिहीवार थप ३५ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म तीन हजार दुई सय ४६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १७ बैशाख २०७८, शुक्रबार ०५:०२