निषेधाज्ञाको पालना गरौं

कोरोना भाइरस (कोभिड–१९) को महामारी छ । समुदायस्तरमा दिन प्रतिदिन संक्रमण बढ्दो छ । यसबाट जोगिन सरकारले लागू गरेका आदेशहरूको पालनासमेत भइरहेको छैन । स्वास्थ्य सुरक्षाका मापदण्डको बेवास्ता गर्दै मानिसहरू सडकमा हिँडिरहेका छन् । हाम्रा यस्तै गतिविधिले महामारी नियन्त्रणको साटो फैलाउन मद्दत गर्छन् । कोरोना नियन्त्रणमा नआएसम्म सबैलाई उत्तिकै जोखिम छ । पहिलोभन्दा दोस्रो लहरको संक्रमण झन् जोखिमपूर्ण देखिएको छ । कोरोनाले रूप फेरेसँगै सबै उमेर समूहका मानिसहरू संक्रमित भएका छन् । यस्तो भयावह अवस्थामा नागरिकहरू सजग भएको पाइँदैन । यो समय स्वास्थ्य मापदण्ड अपनाएर आफूसँगै अरुलाई पनि जोगाउने हो । तर, त्यसखालका व्यवहार र गतिविधि भइरहेका छैनन् । यतिखेर कुनै एक व्यक्तिले गरेको भूल वा लापारवाहीले लाखौं मानिसलाई क्षति पुग्न सक्छ । सरुवा रोग वा महामारी भएकाले हरेक व्यक्तिले अनुशासित जीवनशैली अपनाउनै पर्छ ।

वैशाख लागेयता कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । खासगरी सुर्खेतको वीरेन्द्रनगर उच्च जोखिममा छ । यो प्रदेश राजधानी पनि हो । राजधानीमा देखिएको संक्रमण दरले सिङ्गो प्रदेशलाई झस्काएको छ । वीरेन्द्रनगरमा सक्रिय संक्रमित ६ सय बढी पुगेका छन् । यो तथ्याङ्कले पनि भयावहस्थितिको आकलन गर्न सकिन्छ । सीमित व्यक्तिहरूमा गरिएको परीक्षणमा यति धेरै संक्रमित भेटिनुले संक्रमण भुसको आगो झैं भित्रभित्रै सल्किएको आकलन गरिएको छ । कोरोना परीक्षण नै नगराएर घरमै थला परेका सिकिस्त बिरामीको संख्या पनि धेरै छ । संक्रमण पुष्टि भएकामध्ये अधिकांश गम्भीर लक्षणसहितका बिरामी छन् । कर्णालीमा कोरोनाका कारण ठूलो मानवीय क्षतिसमेत भइसकेको अवस्था छ । संक्रमितमध्ये हालसम्म ३९ जनाले ज्यान गुमाएका छन् । संक्रमण दिनदिनै बढ्दै गएकाले वीरेन्द्रनगरलगायतका सहरी तथा बजारक्षेत्रमा महामारीले भयावह रूप लिने चिकित्सकहरूले औंल्याएका छन् । अहिले थोरै संक्रमित भेटिँदा नै उनीहरूको औषधि उपचारमा समस्या आएको छ । अस्पतालमा स्वास्थ्य सामग्री र पूर्वाधारको अभाव छ । संक्रमित यही दरमा थपिँदै गए अस्पतालहरूले थेग्न सक्ने अवस्था छैन ।

एक साताका लागि मंगलवार मध्यरातिदेखि सुर्खेत जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । संक्रमणको ‘चेन ब्रेक’ गर्न गरिएको निषेधाज्ञाको पूर्ण पालना भने भएको छैन । यतिखेर प्रत्येक व्यक्तिले आफ्नो तर्फबाट इमान्दारीका साथ निषेधाज्ञाको पालना गर्नुपर्ने थियो । किन कि निषेधाज्ञा कोरोना फैलन नदिन प्रयोग गरिएको एउटा विकल्प हो । यसको पूर्ण पालना गरे जोखिम अवश्यै कम हुनेछ । यस्तो स्वास्थ्य संकटको बेला नागरिक स्वतःस्फूर्त रूपमा नियन्त्रित हुनु आवश्यक छ । ज्यान जोखिम हुने बुझेपछि पनि लापरबाही गर्नु मुर्खता हो । उच्च सतर्कता र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न सके मात्र कोरोना रोकथाम सम्भव छ । अन्यथा हामी सबै पछुताउँनु बाहेक केही रहने छैन । यो बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कौं । कोरोनाविरुद्धको लडाइ जित्न निषेधाज्ञाको पूर्ण पालना गरौं । पहिले आफू सुरक्षित रहेर सँगसँगै अरूलाई पनि जोगाऔं ।