दिउँसो सुनसान, बिहान भिड
जिल्लामा निषेधाज्ञा जारी गरिएपछि बिहान तीन घण्टाका लागि खाद्य तथा अत्यावश्यक सामग्रीका पसल खुल्न दिइएको छ । त्यस्ता पसका व्यापारी र उपभोक्ताले भने अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भनिएको छ । तर, दिनभर सुनसान रहने बजारमा बिहान भने निकै भिड लाग्छ । बिक्रेता र ग्राहक दुवै पक्षले स्वास्थ्य सुरक्षामा सतर्कता अपनाएको देखिदैन ।
बिहानको समयमा बजार खुल्ने भएपछि किनमेल गर्ने बाहेकका मानिसहरूको आवागमन पनि बाक्लो हुने गरेको छ । बिहीवार बिहान ८ बजे मंगलगढीचोकमा युवाहरूको भिड थियो । उनीहरूलाई त्यहाँ खटिएका सुरक्षाकर्मीले रोकिराखेका थिए । ती युवाहरूले मास्क लगाएका थिएनन् भने भौतिक दूरीको समेत ख्याल गरेको पाइँदैनथ्यो । बिहान पसल खुल्ने भएपछि कामविना पनि मानिसहरू बजार निस्कन थालेका हुन् ।
स्थानीय प्रशासनले कोरोना संक्रमणको जोखिम बढेसँगै एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । बिहान ६ बजेदेखि नौ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल र दूग्धजन्य पसल सञ्चालन गर्न पाइन्छ । यही समयमा नागरिकहरूको लापरवाही भने बढ्दो छ । बिहानको समयमा बजारमा देखिने भिडभाडका दृश्यले संक्रमण फैलिने जोखिम भएको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बिहानको समयमा खाद्यान्न तथा तरकारी पसलहरू खुल्ने भएकोले भिड भएको बताए । ‘सडकमा हिँड्नेहरूलाई रोक्दा पनि भिड देखिएको होला,’ उनले भने, ‘अबदेखि किनमेललाई व्यवस्थित गरिने छ ।’ आफूहरू निषेधाज्ञाको नियमित अनुगमन गरिहेको उनले बताए ।
प्रकाशित मितिः १७ बैशाख २०७८, शुक्रबार ०५:००
साझा बिसौनी ।