वीरेन्द्रनगरमा ६ सय बढी संक्रमित

वीरेन्द्रनगरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण व्यापक बनेको छ । पछिल्ला दिनहरूमा यहाँ कोरोना संक्रमण तीव्ररूपमा फैलिएको हो । कर्णाली प्रदेशभर बुधवार साँझसम्म नौ सय ८१ सक्रिय संक्रमित रहेकोमा वीरेन्द्रनगरमा मात्रै ६ सय बढी संक्रमित छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बुधवारसम्म वीरेन्द्रनगरका पाँच सय ८९ संक्रमित होम आइसोलेसनमा छन् भने प्रदेश अस्पतालमा २७ जना उपचाररत छन् । तीमध्ये अधिकांश संक्रमित लक्षणसहित हुन् । संक्रमण बढ्दै गएकाले वीरेन्द्रनगरमा भयावह अवस्था आउन सक्ने चिकित्सकहरूले औंल्याएका छन् ।

बुधवार कर्णालीमा थप तीन सय ११ जनामा कोरोना पुष्टि भएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार पाँच सय ९८ जनाको परीक्षण गर्दा तीन सय ११ जनामा संक्रमण देखिएको हो । दुई सय आठ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४३ र तीन सय ९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक सय ६८ जनामा भेटिएको छ ।

तीन जनाको मृत्यु कर्णाली प्रदेशमा कोरोना संक्रमण देखिएका थप तीन जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा तीन जनाको ज्यान गएको हो । निर्देशनालयकाअनुसार सुर्खेतका दुई र दैलेखका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । सुर्खेतका ५० र ६४ वर्षीय पुरुष तथा दैलेखका ७५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

प्रकाशित मितिः   १६ बैशाख २०७८, बिहीबार ०५:०६