तीन मन्त्रीको फेरि सपथ
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले पुनः सपथ लिएका छन् । पार्टीले कारबाही गरेपछि दल र सांसद पद गुमेका उनीहरूलाई फेरि मन्त्रीमा नियुक्त गरिएको हो । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार एक समारोहकाबीच सपथ गराएका हुन् । भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पुनः पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्री बनेका यी तीनै जना नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनीहरूले दलीय ह्वीप विपरीत फ्लोर क्रस गरेर मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । माओवादी केन्द्रको सरकार जोगाइ दिएपछि उनीहरूलाई मुुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेका थिए ।
वैशाख ३ गते एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका हुन् । दलको ह्वीप विपरीत माओवादी केन्द्रको सरकारको पक्षमा उभिएको भन्दै एमालेले चारै जनालाई सांसद र पार्टीको सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । प्रदेशसभा सचिवालयमा उनीहरूले दल त्याग गरेको पत्र दर्ता भएपछि वैशाख १३ गते सांसदबाट पदमुक्त भएका थिए । प्रदेशसभा सदस्य नै नरहेपछि मन्त्री पद स्वतः गुुमेको थियो । मुख्यमन्त्री शाहीले पुनः तीनै जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । संविधानमा भएको व्यवस्थाअनुरूप दल त्याग गरे पनि उनीहरू अब ६ महिनाका लागि स्वतन्त्र हैसियतमा मन्त्री बन्न पाउने छन् ।
प्रकाशित मितिः १६ बैशाख २०७८, बिहीबार ०५:०४
साझा बिसौनी ।